काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उजुरी परेको छ । गभर्नर अधिकारीले कूटनीतिक मर्यादा उल्लङ्घन गरेको आरोपमा प्रधानमन्त्री कार्यालयसहित विभिन्न ११ वटा निकायमा उजुरी परेको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विनोदराज आचार्यले विभिन्न निकायमा कूटनीतिक मर्यादा परिपालना नगरेको भन्दै उजुरी दिएका हुन् । गभर्नर अधिकारीले भारतीय केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया’ (आरबीआई) का गभर्नरमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई उपहार पठाएको आरोप उजुरीमा लगाइएको छ ।
खासगरी, भारतीय केन्द्रीय बैंक आरबीआईका गभर्नर शसिकान्त दास असोज ८ गते काठमाडौंमा भएको नेपालका पहिला गभर्नर हिमालय सम्सेर जबराको स्मृतिमा आयोजित एक कार्यक्रमका लागि नेपाल आएका थिए । त्यसक्रममा गभर्नर अधिकारीले भारतीय गभर्नर दासलाई उपहार दिएका थिए ।
यस्तै, सोही क्रममा गभर्नर अधिकारीले आरबीआईका गभर्नर दासलाई दिएकैजस्तो निलो रंगको सन्दुकमा आफ्नो भिजिटिङ कार्डसमेत राखेर मोदीलाई उपहार पठाएका थिए । तर, ती उपहार खोटा र बिग्रेका पाइएपछि गभर्नरको सचिवालयकी एक सदस्यलाई काजमा मुम्बई पठाएर ती उपहार सटही गरिएको उजुरीमा बताइएको छ ।
यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको बेइज्जत भएको उजुरीमा आचार्यले लेखेका छन् । यसैगरी, यो गतिविधि कूटनीतिक आचारसंहिता २०७७ को विपरीत समेत भएको बताइएको छ । आचार्यले यो पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, नेकपा एमाले केन्द्रीय कार्यालय र शेरबहादुर देउवाको सचिवालय लगायतलाई बोधार्थ गरेका छन् ।
यसैगरी, अन्य विभिन्न राजनीतिक दलको कार्यालय र नेतालाई समेत बोधार्थ गरिएको छ । बैंकिङ्ग समाचारसँगको कुराकानीमा आचार्यले यो घटनाले सम्पूर्ण नेपालीको बेइज्जत भएको बताए । उनले भने, ‘गभर्नरजस्तो उच्च ओहोदाको व्यक्तिबाट भएको यस प्रकारको घटनाका कारणले अन्तर्राष्ट्रिय जगतमा हाम्रो बेइज्जत भयो । यहीकारण, सबैलाई जानकारी दिलाउनका लागि उजुरी दिएको हुँ ।’
यद्यपि, रास्ट्र बैंक स्रोतले भने गभर्नरसङ्ग राखेको माग पूरा नगरेपछी विभिन्न बिषयमा उजुरी गर्दै हिडेको जनाएको छ । बैंकिङ्ग समाचारसङ्ग रास्ट्र बैंकले स्रोतले आचार्यले एउटा बिभागको नेतृत्व गर्न चाहेको र नपाएपछी उजुरबाजुरमा लागेको बतायो ।
प्रतिक्रिया