काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को ४ महिनामा वैदेशिक व्यापारमा नेपालले ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ । साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालले यो रकम बराबरको व्यापारघाटा ब्यहोरेको हो ।
गत आर्थिक वर्षको यही अवधिमा नेपालले ४ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँ व्यापार घाटा ब्यहोरेको थियो । यो चालू वर्षको तुलनामा ०.२६ प्रतिशतले बढी थियो । यस्तै यो अवधिमा विदेशबाट नेपालले ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।
यो गत आर्थिक वर्षको ४ महिनाको तुलनामा ०.१७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ४ महिनाको अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको थियो । यसैगरी, यस अवधिमा नेपालबाट ५२ अर्ब ६७ करोड रुपैयाँको निर्यात भएको छ ।
चालू वर्षको ४ महिनाको अवधिमा नेपालको निर्यात भने ४.१६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ४ महिनाको अवधिमा ५० अर्ब ५६ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । चालू वर्षमा २ अर्ब हाराहारीले निर्यात बढेको छ ।
प्रतिक्रिया