नेपालको ‘कन्ट्री रेटिङ’: औसतभन्दा माथि, पाकिस्तान र श्रीलंकाभन्दा उत्कृष्ट

नेपालको ‘कन्ट्री रेटिङ’: औसतभन्दा माथि, पाकिस्तान र श्रीलंकाभन्दा उत्कृष्ट


काठमाडौं – नेपालले पहिलो पटक ‘कन्ट्री रेटिङ’ सम्पन्न गरेको छ । फिच रेटिङमार्फत नेपालले पहिलो कन्ट्री रेटिङ सम्पन्न गरेको हो । यससँगै फिच रेटिङ्सबाट ‘बीबी माइनस’ (BB-) पाएको नेपाल दक्षिण एसियामा ‘कन्ट्री रेटिङ’ गर्ने छैटौं मुलुक बनेको छ । अब दक्षिण एसियामा भुटान र अफगानिस्तानले मात्रै कन्ट्री रेटिङ गर्न बाँकी छ।

दक्षिण एसियाली मुलुकसँग तुलना गर्दा नेपालले पाकिस्तान र श्रीलंकाकोभन्दा राम्रो रेटिङ पाएको छ । दक्षिण एसियामा नेपालभन्दा अघि भारत, बंगलादेश, मालदिभ्सको रेटिङ छ । यसबाहेक, अफगानिस्तानले समेत कन्ट्री रेटिङ सकेको छैन । नेपालले आफ्नो पहिलो कन्ट्री रेटिङमा ‘बीबी माइनस’ पाएको छ ।

पूर्व बैंकर अनलराज भट्टराई यसलाई सामान्य मान्नुपर्ने बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनी भन्छन्, ‘नेपालले पहिलो रेटिङ गराएको छ । अहिलेका लागि यो नै उत्कृष्ट हो ।’ तर, फिच रेटिङ्सबाट गरिएको यो नै अन्तिम नहुने उनको भनाइ छ ।

यसबाहेक, अन्य संस्थाबाट समेत रेटिङ गराइराख्नुपर्ने भट्टराई बताउँछन् । अन्तर्राष्ट्रिय प्रचलन हेर्दा पनि तीन वटा संस्थाबाट कन्ट्री रेटिङ गर्ने प्रचलन देखिन्छ । यसअघि नै कन्ट्री रेटिङ गरिसकेका अन्य दक्षिण एसियाली मुलुकले समेत ३ वटा संस्थाबाट रेटिङ गराएका छन् ।

भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र मालदिभ्सले एसएण्डपी, मोड्डीस र फिचमार्फत रेटिङ गराएका छन् । नेपालको पहिलो रेटिङ भएकाले फिचबाट मात्रै सम्पन्न भएको छ । यीमध्ये श्रीलंकाको रेटिङ नेपालकोभन्दा तल छ । यो मुलुकले एसएण्डपीमार्फत सेलेक्टिभ डिफल्ट (एसडी, मोड्डीसबाट सीएए३ र फिचबाट रेस्ट्रिक्टेड डिफल्ट (आरडी) पाएको छ ।

यी तीन वटै संस्थाबाट श्रीलंकाले पाएको रेटिङभन्दा नेपालको बीबी माइनस राम्रो हो । यस्तै, पाकिस्तानले एसएण्डपीबाट सीसीसी प्लस, मोड्डीसबाट सीएए३ र फिचबाट सीसीसी पाएको छ । यी तीन वटै रेटिङ समेत नेपालकोभन्दा न्यून हो । यस आधारमा नेपालले पाएको ‘कन्ट्री रेटिङ’ श्रीलंका र पाकिस्तानकोभन्दा राम्रो हो । यी दुई मुलुक आर्थिकरुपमा गहिरो संकटमा रहेका मुलुक हुन् ।

जसमध्ये श्रीलंकाले पछिल्लो समय फड्को मारिरहेको छ । तर, पाकिस्तान भने अझै गहिरो संकटमा जाने सम्भावना छ । कन्ट्री रेटिङले कुनै पनि मुलुकको अर्थतन्त्रको अवस्थाको अवस्था झल्काउँछ । यस आधारमा यो उत्कृष्ट भएको बताउँदै भट्टराई थप्छन्, ‘रेटिङमा राजनीतिक अस्थिरता र विदेशी ऋणलाई आधार बनाइएको छ ।’

राजनीतिक अस्थिरतालाई आधार मानेर फिच रेटिङ्सले नेपालको वास्तविक अवस्था दर्साएको अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी बताउँछन् । बैंकिङ्ग समाचारसँग कुराकानी गर्दै उनी भन्छन्, ‘यसले विदेशी लगानीकर्ताहरूको दुबिधा हटाउँछ । लगानी गर्ने नगर्ने भन्ने निर्णय सहजै लिन सक्छन् ।’

पहिलो रेटिङमा नै बेबी माइनस पाउनु उत्कृष्ट भएको उनको भनाइ छ । आगामी रेटिङमा नेपालले आफ्नो अवस्था सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्न सक्ने सम्भावना रहन्छ । यस्तै,दक्षिण एसियाका दुई मुलुकभन्दा अघि आउनु सकारात्मक भएपनि प्रतिस्पर्धाको नजर दक्षिण एसियामा मात्रै घुमाउन नहुने उनको भनाइ छ ।

यद्यपि, दक्षिण एसियाली मुलुकमध्ये पाकिस्तानको जिडिपी ३७५ बिलियन अमेरिकी डलर छ भने श्रीलंकाको ९० बिलियन अमेरिकी डलर छ । यी दुई मुलुकको जिडिपी नेपालकोभन्दा धेरै फराकिलो र ठुलो छ । तर, आर्थिक सूचकका आधारमा गरिने रेटिङमा भने नेपाल बलियो देखिएको हो ।

यी मुलुक छन् नेपालभन्दा तल

नेपालभन्दा नराम्रो रेटिङ पाउने मुलुकहरूको सूची ५ छ । पाकिस्तान र श्रीलंकासहित जाम्बिया, इथियोपिया र एल साल्भाडोर नेपालभन्दा तल छन् । पाकिस्तानको रेटिङ सीसीसी छ भने श्रीलंकाको एसडी छ । यस्तै जाम्बिया, इथियोपिया र एल साल्भाडोरको सीसीसी प्लस छ । यस्तै, अफगानिस्तान (रेटिङ नगरिएको), भेनेजुयला र लेबनान डिफल्ट नजिक छन् ।

कन्ट्री रेटिङ देशको ऋण तिर्न सक्ने क्षमतालाई आधार मानेर गरिन्छ । यसले देशको अर्थतन्त्रको मानक, जिडिपीको अवस्था, आर्थिक सुधारका सूचक, आर्थिक सुधारका बाधक लगायत विषयलाई खुलाउँछ । नेपालको कन्ट्री रेटिङमा राजनीतिक अस्थिरतालाई प्राथमिकतामा राखिएको छ ।