काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् । अध्यक्ष ढकालले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बुधबार महांसघमा आयोजित ‘लगानीमैत्री वातावरण प्रवद्र्धनको लागि अन्तरनिकाय समन्वय’ विषयको अन्तरक्रिया कार्यक्रममा भन्नु भएको हो ।
सो अवसरमा बोल्दै अध्यक्ष ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्डनै त्यो देशले परिचालन गर्ने राजस्वको आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सबल अर्थव्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताए ।
उनले कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र संकलन मात्र हैन करदाताको मनोवल समेत बढाउनुपर्ने बताए । यस्तै, व्यवसायीक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सृजना गर्नेतर्फ ध्यान दिईएमा राजस्व संकलन स्वभाविक रुपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने बताए ।
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अन्तरनिकाय समन्वयको सारनै औद्योगिक वातावरण प्रवद्र्धनको लागि भएको बताए । उनले विभागबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ उन्नत र परिष्कृत बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रतिक्रिया