चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन


काठमाडौंं – संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडा दर उपलब्ध गराउन निर्देशन दिएका छन् । हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीहरूलाई उच्च मूल्यको भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन दिएका हुन् ।

‘हामीले नागरिकहरूकै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिएका थियौँ । तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैर जिम्मेवारीपन देखाइएको छ’, मन्त्री पाण्डेले भने ,‘नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ । यस विषयले म निकै दुखी भएको छु ।’

यसअघि हवाई सेवा कम्पनीहरूले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति गरिएको भए पनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटन मन्त्री पाण्डेले आक्रोश व्यक्त गरे । हवाई भाडा बृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउँदै उनले राज्य र नागरिकप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरे ।

मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सेसमेत अचाक्ली हवाई भाडा लिएकोप्रति सचेत गराए । नागरिकहरूले हवाई भाडा बृद्धिबारे गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको बताउँदै २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए । पर्यटन मन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडा बुद्धिबारे पुनर्विचार नगरे सरकारले कडा कदम चाल्ने स्पष्ट पारे ।

मन्त्रालयका सचिव डा। गणेश पाण्डेयले सम्झौता अनुसार एयरलाइन्सले किन अटेर गरेको भन्दै प्रश्न गरे । उनले भने ,‘आफूले गरेको निर्णय आफै लागू गर्नेकी नियमन गर्न कठोर बन्नुपर्ने हो । सम्झौता किन लागू नगरेको । तपाईँहरूले यदि निर्णय कार्यान्वयनमा अटेर गर्नुभयो भने सेवा दिन आउने नयाँ हवाई कम्पनीका लागि सूचना आव्हान गर्न सकिन्छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रण सम्बन्धी पाँच बुँदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृत्रिम अभाव देखाउँदै कालो बजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गरे।

छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्य तथ्य जानकारी दिन आनाकानी गरेका थिए । एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै आलोचना भएको थियो । छलफलमा नेपालमा सेवा दिँदै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो ।