काठमाडौं – देशबाट हुने आयात र निर्यात दुवै घटेको छ भने व्यापार घाटा साढे ३ खर्ब रुपैयाँ माथि रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमास (साउन–असोज) सम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।
प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ३ महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटी ३ खर्ब ९० अर्ब ७५ करोड रूपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.७ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन, तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.९ प्रतिशत, १.५ प्रतिशत र ७.९ प्रतिशतले कमी आएको छ।
यसैगरी चालु आर्थिक वर्षको ३ महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटी ३८ अर्ब ३८ करोड रूपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.३ प्रतिशत, २४.८ प्रतिशत र ६.६ प्रतिशतले कमी आएको छ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटामा ४.० प्रतिशतले कमी आई ३ खर्ब ५२ अर्ब ३७ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २. १ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९. ८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० प्रतिशत रहेको थियो।
वस्तुगत आधारमा सोयाविन तेल, चिया, पार्टिकल बोर्ड, जुत्ता तथा चप्पल, पिना, लगायतका वस्तुको निर्यात बढेको छ भने जिंक शिट, पाम तेल, अलैंची, जुस, तयारी पोशाक, लगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४४ अर्ब १३ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४५ अर्ब ५८ करोड रूपैयाँ बराबरको भएको थियो ।
प्रतिक्रिया