देशको कूल राजश्वमा चौधरी ग्रुपको २ प्रतिशत योगदान, एकै वर्षमा तिर्‍यो साढे १८ अर्ब

देशको कूल राजश्वमा चौधरी ग्रुपको २ प्रतिशत योगदान, एकै वर्षमा तिर्‍यो साढे १८ अर्ब


काठमाडौं – चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कूल राजश्वमा करिब दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको कम्पनीले जानकारी दिएकाे छ ।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यवसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभुमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको पौडेलले बताए । आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक बर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक बर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को तुलनामा चौधरी ग्रुपिले पछिल्लो आर्थिक वर्षमा राजश्वमा पुर्याएको योगदान २ अर्ब ३८ करोडले बढी छ । आर्थिक वर्ष २०७९/०८० मा ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो । ‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुल वातावरणकाबीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउन सकेकोमा हामीलाई खुसी लागेको छ । यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ’, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महशुस गरेका छौं ।’

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड, २०७९/८० मा १६ अर्ब १४ करोड, २०८०/८१ मा १८ अर्ब ५२ करोड रूपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरेकाे छ ।