काठमाडौं – आजदेखि नेपालबाट बंगलादेशतर्फ ४० मेगावाट बिजुली निर्यात सुरु भएको छ । भारतीय सरकारी निकायबाट स्वीकृत आएपछि नेपालबाट भारतीय भूमि हुँदै बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु भएको हो ।
भारतीय भूमिको प्रयोग गर्दै बंगलादेशतर्फ नेपालको बिजुली निर्यातका लागी त्रिपक्षीय सम्झौता भएको थियो । असोज १७ मा नेपाल, भारत र बंगलादेशबीच नेपालको बिजुली बंगलादेश पुर्याउने लक्ष्यसहित त्रिपक्षीय सम्झौता भएको थियो ।
तर, सम्झौतापछि पनि भारतीय पक्षबाट स्वीकृत आइसकेको थिएन । स्वीकृत आएपछि नेपालले आजबाटै बंगलादेशतर्फ बिजुली निर्यात सुरु गर्ने भएको हो । नेपालले यस अघिदेखि नै भारतमा साढे ६०० मेगावाटभन्दा बढी बिजुली निर्यात गर्दै आइरहेको थियो ।
पछिल्लो समय नेपाल खुद बिजुली निर्यातकर्ताकारुपमा उदाएको छ । वर्षायाममा उत्पादन हुने बिजुली भारतीय बजारमा जान थालेपछि सुख्खायाममा आयात हुने बिजुलीको तुलनामा धेरै निर्यात हुन थालेको हो । यसबाट नेपालले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन समेत गर्न थालेको छ ।
जलविद्युतमा निजी क्षेत्रको प्रवेशसँगै नेपालले बिजुली उत्पादनमा ठूलो फड्को मारेको छ । यतिबेला राष्ट्रिय प्रसारणलाईनमा कूल जडित क्षमता ३३ सय मेगावाट पुगेको छ । यसमध्ये २३ सयभन्दा बढी मेगावाट निजी क्षेत्रद्वारा प्रबद्र्धिन आयोजनाबाट उत्पादन भइरहेको छ ।
तर आज साढे १२ बजेदेखि हुने बिजुली निर्यात आज राती १२ बजेसम्म मात्रै हुनेछ । यसपटक एक दिनका लागि मात्रै बिजुली निर्यात गरेपनि आगामी वर्षदेखि जुन १५ देखि नोभेम्बर १५ सम्म निर्यात गर्न सकिनेछ ।
प्रतिक्रिया