‘डिजिटाइजेसनमा नेपालको नियमनकारी निकाय भारतको जस्तो खुल्ला हुनुपर्छ’ 

‘डिजिटाइजेसनमा नेपालको नियमनकारी निकाय भारतको जस्तो खुल्ला हुनुपर्छ’ 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिवराज उपाध्याय, डिजिटल बैंकिङ्ग प्रमुख, एनएमबी बैंक 

पछिल्लो १०–१५ बर्ष यता बैंकहरुले डिजिटल बैंकिङ्गमा उल्लेखिय कार्य गरेका छन । अझ कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि यसको प्रयोग ह्वात्तै बढेको छ । त्यसैले पनि बैंकहरुले डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छन । अनलाइन बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैंकिङ्ग, पीएसओ मेसिन, क्युआर कोड लगायतका थुप्रै डिजिटल सेवाहरु यतीबेला सहर बजारमा छ्याप्छ्याप्ती भेटिन्छन । डिजिटल बैंकिङ्गमा एकातिर फाइदा छन भने अर्कातिर थुप्रै समस्याहरु पनि छन । डिजिटल बैंकिङ्गमा रहेका तमाम समस्याहरु, चुनौतीहरु र सम्भावनाहरुका विषयमा एनएमबी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख शिवराज उपाध्यायसँग बैंकिङ्ग समाचारका लागि मनोज रेग्मीले गरेको कुराकानीः 

यतीबेला एनएमबी बैंकले कस्ता–कस्ता डिजिटल प्रोडक्टहरु बजारमा ल्याएको छ ? 

कोभिडअघि हामी डिजिटल बैंकिङ्गको प्रोत्सानमा लागेकै थियौं । मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा घरबाटै अनलाईन खाता खोल्ने जस्ता कामहरु भएका थिए । कोभिडपछिको लकडाउनले गर्दा यस्ता डिजिटल प्रोडक्टहरुमा मानिसहरुको उल्लेखीय सहभागित हुन थाल्यो । अझ भनौं यसको प्रयोग ह्वात्तै बढ्यो । अरु बैंकहरुले जस्तै हामीले पनि ग्राहकहरुलाई अझै बढि सेवा दिने पर्यत्न गर्यौ । त्यस वखत  हामीले सोसल मिडिया जस्तै, भाईवर र म्यासेन्जरबाट पनि खाता खोल्न सकिने व्यवस्था गरेका थियौं । यसमा अघिल्लो दिन सम्पुर्ण जानकारी लिने र भोलीपल्ट नै खाता खोली ग्राहकलाई उपलब्ध गराउने गथ्र्याै ।

राष्ट्र बैंकको निर्देशन आएपछि हामीले एनएमबी सापटी भन्ने अर्को प्रोडक्ट बजारमा ल्यायौं । यसबाट ग्राहकहरुले २ लाखसम्म अनलाईनमार्फत कर्जा लिन सक्ने व्यवस्था हामीले गर्यौ । सन् २०२० पछि हामीले अरु नयाँ प्रोडक्ट पनि ल्यायौं । २०२० कै अगस्टमा ओम्नी च्यानल पनि लञ्च पनि गर्यौं । त्यसबेलामा हामीले मोवाइल बैंकिङ्ग र ओम्नी च्यानल चलाईरहेका थियौं । त्यसपछि हामीले पुरानो मोवाइल बैंकिङ्ग छोडेर नयाँ ओम्नी च्यानलमा गयौं । कोभिड कम हुँदै गएपछि हामीले अझै नयाँ–नयाँ प्रोडक्टहरु बजारमा ल्यायौं । भि केवाईसी, भिआरएन, अनलाईन केवाइसी देखि अनेक प्रोडक्टहरु हामीले ल्यायौं । अझै नयाँ प्रविधिहरु ल्याउन हामीले कसरत गरिरहेका छौँ । साथै, विदेशी बैंकहरुले के गरिरहेका कामहरुका बारेमा जानकारी राख्दै अझै पनि नयाँ–नयाँ तरिकाले अगाडी बढीरहेकै छौं । 

भर्खरै ‘भि केवाईसी’ बजारमा ल्याउनुभएको छ ? यो प्रोडक्ट कस्तो हो । यसले कसरी काम गर्छ ? 

खाता खोल्दा ग्राहकहरुको औंठा छाप नै हुनुपर्छ भन्ने राष्ट्र बैंकले नतोकेको हुनाले हामीले यो छुटलाई प्रयोग गरेको हो । यस विषयमा हामीले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकसँग पनि छलफल गर्यौं । भि केवाइसी कसरी गर्न सकिन्छ भनेर हामीले अध्ययन पनि गर्यों ।  ग्राहकले भि केवाइसीमा सम्मिलित हुन चाहन्छुृ भनेको खण्डमा उहाँहरुले बैंकको अनलाईन पोर्टलबाट एउटा फर्म भर्नुहुन्छ । त्यसपछि उहाँको भिडियोको लागि समय तोकिन्छ । अथवा भिडियो कल आएको खण्डमा बैंकको कर्मचारीले पहिलो चरणमा ग्राहकलाई परिचय खुल्ने पत्रहरु जस्तै, नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र जस्ता कागजातहरु ग्राहकसँग माग्छौँ ।

\"\"
त्यसपछि हामीले अनलाईनबाटै फोटो लिन्छौं । अनि ग्राहकको फोटो लाई सिस्टलले म्याच गर्छ । त्यसपछि लोकेसन हेर्छाैं । ऊ कुन ठाउँमा बसेर हामीसँग जोडिरहेको छ भन्ने बारेमा पनि जानकारी लिन्छौं । जस्तै, कोहि व्यक्तिले म कोरीयामा छु भन्ने तर नेपालमा नै बसेर सो कार्य गरिरहेको छ कि, भन्ने बारेमा हामीलाई जानकारी उपलब्ध हुन्छ । त्यसपछि हामीले साधा कागजमा हस्ताक्षर गरेर क्यामराको अघि देखाउन लगाउँछौं । त्यसपछि उसको हस्ताक्षर पनि हामीले फोटो लिएर राख्छौं । तर भि केवाइसीमार्फत खाता खोलेको ग्राहकले सम्पुर्ण बैंकिङ्ग कारोबार गर्छु भन्ने छैन । राष्ट्र बैंकले नै यस सम्बन्धी सिमा तोकेको छ । यसरी नै भि केवाईसी प्रोडक्टको प्रयोग गरी खाता खोल्न सकिन्छ । 

विकट गाउँको एउटा व्यापारीले नजिकैको एनएमबी बैंकको शाखाबाट डिजिटल बैंकिङ्ग सेवा कसरी लिन सक्दछ ? बताइदिनुस न ?  

यस बिषयमा मेरो धारणा अलिक फरक छ । आज जति पनि वित्तिय प्रोडक्टहरु छन, अधिकांश अंग्रेजी भाषामा छन । त्यस्ता डिजिटल प्रोडक्टलाई जबसम्म स्थनिय भाषामा बनाईदैन आम मानिसलाई बुझाउन सकिँदैन । सुरुमा त व्यापारिक खाता खोलिसकेपछि क्यूआरकोड लिनुपर्छ भन्ने ज्ञान आम ग्राहकहरुमा आउनुपर्छ ।  त्यो अझै आईसकेको छैन । ग्रामीण भेगका मानिसलाई बुझ्न सक्ने भाषामा प्रोडक्टहरु पनि अझै बनिसकेका छैनन । केही हदसम्म यो गर्न सकिएला तर सम्पुर्ण काम नेपाली भाषामा नै गर्न नसकिने अवस्था पनि छ । त्यसैले भाषामा पनि बैंकहरुले उच्च सुधार गर्नुपर्ने देखिन्छ । ग्राहकको ज्ञानलाई हेरेर डिजिटल प्रोडक्ट ल्याउँनु आवश्यक पर्छ जस्तो लाग्छ मलाई ।

यतीबेला डिजिटल बैंकिङ्गमा बैंकहरुले अथाह रकम खर्चेका छन । यसको ‘इन्फ्रास्टक्चर’ देखि प्रोत्सानमा बैंकहरुको लगानी तिब्र छ । भविष्यमा फेरी अहिले गरेको लगानी उठाउनकै लागि बैंकहरुले डिजिटल भुक्तानीमा चर्को शुल्क लिने पो हुन कि भन्ने आम प्रयोगकर्ताको गुनासो छ ? यसमा तपाई के भन्नुहुन्छ ? 

नेपालको बैंकिङ्ग क्षेत्रमा बैंकले चाहेर पनि बढि शुल्क लिन पाउने अवस्था भने छैन । राष्ट्र बैंकको डिजिटल बैंकिङ्ग नियमलाई नै हेर्ने हो भने त्यसमा अनेक शुल्कहरु निर्धारण गरिएको छ । बैंकहरुले नियम मिचेर चर्को शुल्क लिँदा बैंक नै कारवाहीमा पर्छ । यस्तो कारवाहीमा परेको हामीले देखेका पनि छौं । यद्यपी, बैंक तथा वित्तिय संस्थाहरु नाफामा केन्द्रीत मात्रै हुन्छन भन्ने पनि होइन । कुनै सेवाहरु बैंकहरुले ग्राहकको हितका लागि पनि लिएर आएका हुन्छन । बैंकहरुले औपचारिक रुपमा कमाई कति हुन्छ भन्ने भन्दा पनि अनौपचारिक तरिकाले कमाई कति हुन्छ भन्ने सोच्नुपर्छ । जस्तै, मैले दिएको सुविधाहरुबाट ग्राहकहरु म सँग कसरी जोडिन्छन् भन्ने कुरा बैंकले सोच्नुपर्दछ ।
 
भन्नाले एउटा सुविधा यताबाट दिने अनि अर्काे सुविधाबाट पैसा उठाउने बैंकको रणनिति हो ?  

यसलाई त्यसरी पनि नभनौं । बैंकिङ्गमा दुई किसिमको आम्दानी हुन्छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकहरुले नाफा गरिरहेका हुन्छन। अप्रत्यक्ष भन्नाले बैंकलाई कुनै सुविधा दिदाँ बैंकलाई कसरी फाईदा हुन्छ । जस्तै, आज कुनै ग्राहकको बचत खाता छ भने, बचत खातामा दिएको सुविधाको कारणले उसले मसँग कर्जा लिन सक्छ वा म सँग अरु कारोबारहरु गर्न सक्छ । त्यसकारणले बैंकबाट प्रत्यक्षबाट आउने फाईदा भन्दा अप्रत्यक्ष रुपमा भएको कारोबारबाट फाईदा हुन पनि सक्छ । 

नेपाल र भारतको डिजिटल बैंकिङ्गमा के फरक देख्नुहुन्छ ? 

भारतीय रिजर्भ बैंकले सन् २००४ तिर मोवाइल बैंकिङ्ग ल्याएको थियो । त्यो सेवा ल्याउनलाई जुन सर्कलमा उसलाई घुम्नु परेको थियो, त्यो कार्य नेपाली बैंकहरुलाई गर्नै परेन । नेपालमा बनावट प्रोडक्टहरु नै बजारमा ल्याए । नेपालको सन्दर्भमा डिजिटल बैंकिङ्ग भनेको मोवाइल बैंकिङ्ग हो भन्ने मानिसहरुको जमात धेरै छ । तर डिजिटल बैंकिङ्ग भनेको त्यो मात्रै होइन । त्यो डिजिटल बैंकिङ्गको सानो हिस्सा मात्रै हो । भारतको डिजिटल प्रणाली र नेपालको डिजिटल प्रणालीमा धेरै फरक छ । भारतमा जसरी आधारकार्ड बन्यो, त्यसले केवाइसीमा धेरै सहजता दिलाएको छ । तर, नेपालको नागरिकताको फोटो हेरेर यही नै मान्छे हो भनेर पत्ता लगाउन मुस्किल हुन्छ ।

यस कारणले गर्दा पनि ग्राहकको पहिचानमा हामीलाई अलिक समस्या छन । अझ स्पष्ट रुपमा भन्दा भारतको नियमनकारी निकाय भारतीय रिजर्भ बैंक जसरी डिजिटाइजेसनमा खुल्ला रुपले लागिरहेको छ, नेपालमा पनि त्यसरी नै नेपाल राष्ट्र बैंक लाग्नुपर्दछ । पूर्वाधार निमार्णदेखि नेपालको डिजिटल इकोसिस्टममा राष्ट्र बैंकले थुप्रै नितिगत सुधारहरु ल्याउनुपर्दछ । त्यसैले नेपालको नियमनकारी निकाय पनि भारतको रिजर्भ बैंक जस्तो खुल्ला हुनुपर्छ जस्तो मलाई लाग्छ । 

नेपालमा डिजिटल बैंकिङ्गका समस्याहरु के–के हुन् ? 

पहिलो कुरा नितिमा ब्यापक फेरबदलको आवश्यक छ । अर्काे समस्या पूर्वाधार हो । नेपालका थुप्रै भूभागमा इन्टरनेट नै चल्दैन । यसले डिजिटल प्रणालिको विकासमा ठुलो बाधा पुर्याइरहेको छ । अहिले राष्ट्रिय परिचयपत्र बनाइरहेका छौँ । तर त्यो कार्डलाई कसरी प्रयोग गर्ने ? कहाँ–कहाँ प्रयोग गर्ने ? कसरी प्रयोग गर्ने भन्ने बारेमा धेरैलाई थाहा नै छैन । डिजिटल बैंकिङ्गको प्रयोगमा पनि धेरै समस्याहरु छन । यसको लागि वित्तिय ज्ञानको आवश्यकता पर्दछ । ग्राहकले डिजिटल प्रोडक्टहरुको प्रयोग कसरी गर्छन ? यो अत्यन्तै गम्भीर विषय हो । यसको लागि जनमानसमा डिजिटल बैंकिङ्ग सम्बन्धी शिक्षा जरुरी हुन्छ । साथै डिजिटल बैंकिङ्गमा सुरक्षाका चुनौतीहरु पनि छन । फ्रड भएका घटनाहरुलाई कसरी कम गर्ने, ह्याकरबाट बच्न कस्तो सफ्ट्वेर प्रयोग गर्ने भन्ने विषयमा पनि थुप्रै होमवर्क गर्नुपर्ने मैले देख्छु । 

राष्ट्र बैंकले कस्तो वित्तिय नीति ल्याएको खण्डमा बैंकहरुलाई काम गर्न सजिलो हुन्छ हो ? 

अहिले सम्मको राष्ट्र बैंकका निर्देशनहरु हेर्दा डिजिटल भुक्तानीसँग मात्रै सम्बन्धित रहेको देखिन्छ । तर त्यसबाहेक पनि नेपाल राष्ट्र बैंकले अन्य मुलुकहरुमा जस्तै बैंकलाई भुक्तानी बाहेकका अन्य थुप्रै सेवाहरु डिजिटलमार्फत दिन सकिन्छ भन्ने अध्यान तथा अनुसन्धान गर्न जरुरी छ । यसको लागि हामीले सुझावहरु पनि दिइरहेका छौँ ।  

अन्त्यमा, आम ग्राहकहरुलाई डिजिटल बैंकिङ्गको प्रयोगमा कस्तो सुझाव दिन चाहनुहुन्छ ?

ग्राहकहरुमा डिजिटल बैंकिङ्ग सुरक्षाको हिसाबले अलिक राम्रो छैन कि ? मैले पठाउँन लागेको ठाउँमा पैसा पुग्दैन कि ? भन्ने चिन्ता अझै पनि छ । शहरी क्षेत्रमा त्यस्तो नभएपनि ग्रामिण भेगमा भने यस्तो समस्या धेरै छ । तर वातममा डिजिटल बैंकिङ्ग सुरक्षित छ, सजिलो पनि छ । त्यसैले तपाईहरुले ढुक्कले प्रयोग गर्न सक्नुहुन्छ । हामीले जति सकिन्छ सुरक्षाको उपायहरु अप्नाएका छौँ । भोलिका दिनहरुमा बैंकहरुले शाखा बन्द गरेको खण्डमा पनि अनलाइनबाटै काम गर्न सकिन्छ भन्ने सन्देश आम ग्राहकहरुले दिन चाहन्छु ।       

पुरा भिडियो