काठमाडौं – कोरोना महामारीयता आर्थिक मन्दी बढ्दै जाँदा नेपालमा आर्थिक अपराधको जालो वर्षेनी बढ्दै जान थालेको छ । नेपाल प्रहरीबाट प्राप्त तथ्यांकअनुसार प्रत्येक वर्ष आर्थिक अपराधको जालो बढ्दै जान थालेको पाइएको छ । पछिल्लो ३ आर्थिक वर्षको तथ्यांकअनुसार नेपालमा आर्थिक अपराध १४५ प्रतिशतभन्दा बढीले बढेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा सबैखाले गरी ५ हजार ४०१ वटा आर्थिक अपराधका घटना प्रहरी समक्ष पुगेका थिए । जुन, आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा डेढ सय प्रतिशले बढेर १३ हजार २६४ पुगेको छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १३ हजार २६२ वटा आर्थिक अपराधका घटना प्रहरी समक्ष दर्ता भएका छन् ।
यस अवधिमा आर्थिक अपराधका घटना ७ हजार ८६२ ले बढेको छ । यस्तै, आर्थिक वर्ष २०७९/८० मा नेपाल प्रहरी समक्ष १२ हजार ७५ वटा आर्थिक अपराधका घटना दर्ता भएका थिए । यी तथ्यांकले नेपालमा आर्थिक अपराधका घटना बढ्दै गइरहेको देखाउँछ ।
सबैभन्दा बढी ‘चेक बाउन्स’
कोरोना महामारीपछि नेपाली बजारमा आर्थिक मन्दी जारी छ । सत्तापक्षले आर्थिक मन्दी स्वकार नगरेपनि बजार चलायमानको स्थिती केलाउँदा नेपाली अर्थतन्त्र मन्दीमा गुज्रिरहेको छ । यस्तो अवस्थामा आर्थिक अपराधका घटना बढ्दो अवस्थामा छ । यसमा पनि ‘चेक बाउन्स’का घटना सबैभन्दा धेरै भएका छन् ।
गत आर्थिक वर्ष २०८०/८१ सम्म १३ हजार १८६ वटा ‘चेक बाउन्स’ घटना प्रहरीमा दर्ता भएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १ हजार १५६ बढी हो । अघिल्लो आर्थिक वर्ष १२ हजार ३० वटा चेक बाउन्सका घटना भएका थिए । यस्तै आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ३७० वटा ‘चेक बाउन्स’का घटना प्रहरी समक्ष दर्ता भएका थिए ।
९ प्रकारका आर्थिक अपराध, के-के छन् ?
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा विभिन्न ९ प्रकारका आर्थिक अपराध घट्ने गर्छन् । जसमध्ये चेक बाउन्स, हुण्डी, नेपाल राष्ट्र बैंक ऐन विरुद्धको कसुर छन् । यस्तै, अनधिकृतरुपमा चेक, चेक बुक वा बैंकिङ्ग विवरण प्राप्त गर्न वा दिन नहुने, अनधिकृतरुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने, विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने जस्ता आर्थिक अपराध समेत घट्छन् ।
यसैगरी, बैंकिङ्ग स्रोत, साधन र सम्पत्तिको दुरुपयोग गर्ने, बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई झुक्याएर कारोबार गर्ने र गैर कानूनरुपमा बैंकिङ्ग कारोबार गर्नेगरी कूल ९ प्रकारका आर्थिक अपराध घट्ने प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।
महिलाभन्दा पुरुष बढी, विदेशीको समेत संलग्नता
आर्थिक अपराधको उजुरीपछि पक्राउ पर्नेहरुको संख्या महिलाकोभन्दा दोब्बर/तेब्बरले पुरुषको बढी छ । प्रहरीबाट प्राप्त तथ्यांकअनुसार २०८०/८१ मा पक्राउ परेकामध्ये पुरुषको संख्या २ हजार ८७४ जना छन् । यस्तै महिलाको संख्या ५०२ र विदेशीको संख्या ५३ छ । आर्थिक अपराधको कसुरमा पक्राउ पर्ने विदेशीहरु सबैभन्दा धेरै चेक बाउन्समा नै छन् ।
यस्तै आर्थिक वर्ष २०७९/८० मा १ हजार ९२६ जना पुरुष आर्थिक अपराधको कसुरमा पक्राउ पर्दा ४७५ जना महिला र १२ जना विदेशी थिए । आर्थिक वर्ष २०७८/७९ मा १ हजार २३१ जना पुरुष, १९८ जना महिला र ९२ जना विदेशी आर्थिक अपराधको कसुरमा पक्राउ परेका थिए । यो तथ्यांकले आर्थिक अपराधको कसुरमा पक्राउ पर्नेको संख्या प्रत्येक वर्ष बढ्दो अवस्थामा रहेको देखाउँछ ।
आर्थिक मन्दीले बढ्यो अपराधको तथ्यांक
पूर्व बैंकर तथा वित्तीय साक्षरता नेपालका भुवन दाहाल कोरोना महामारीका कारण सुरु भएको आर्थिक सुस्तताले नै आर्थिक अपराध बढेको मान्छन् । उनका अनुसार सबैभन्दा बढी चेक बाउन्सका घटना प्रहरी समक्ष पुगेकाले चेतनाको अभाव भन्न मिल्दैन । ‘पैसा नभएको खाताबाट चेक काट्दा कारबाहीमा परिन्छ भन्ने सबैलाई जानकारी छ,’ दाहाल भन्छन्, ‘आर्थिक सुस्ततका कारणले मानिसहरुसँग पैसा छैन । यहीकारण, कारोबार बिग्रिँदै छ ।’
यस्तै, २०७८ सालयता निरन्तररुपमा कालोसूचीमा पर्नेहरुको संख्या बढ्दो अवस्थामा छ । यो आर्थिक सुस्ततासँगै बैंकको ऋण तिर्न नसकेपछिको परिणाम हो । नेपाल बैकर्स संघका पूर्व अध्यक्ष समेत रहेका दाहालका अनुसार कोरोना महामारीयता आर्थिक कारोबारमा सुस्तता छाउँदा उधारो कारोबार बढेको र बजार लयमा नफर्कदा चेक बाउन्स लगायतका घटना बढेको बताए ।
कर्जा सूचना केन्द्रका विजय कुवर ७८ साल यता कालोसूचीमा पर्नेको संख्या बढ्न थालेको र यसमा चेक बाउन्सका कारण पर्नेहरुको संख्या उल्लेख्य रहेको बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा भन्छन्, ‘अहिले दैनिक एकदेखि दुई सयसम्म कालोसूचीमा राख्न निवेदन आउँछन् । यसमध्ये ७० प्रतिशत चेक बाउन्सको घटना हुन्छन् ।’ चेक बाउन्सबाहेकका अन्य घटनामा भने वित्तीय चेतनाको अभाव देखिन्छ । यद्यपी, यसमा पनि हुण्डी लगायतका आर्थिक अपराध पर्ने भएकाले वित्तीय चेतनासँगै अपराधिक मानसिक्ताले समेत काम गरेको हुन सक्ने नेपाल प्रहरीको आँकलन छ ।
प्रतिक्रिया