उखुको समर्थन मूल्य छिटो तोक्न कृषि मन्त्रीलाई सांसद चौधरीको आग्रह

उखुको समर्थन मूल्य छिटो तोक्न कृषि मन्त्रीलाई सांसद चौधरीको आग्रह


काठमाडौं – सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारलाई आग्रह गरेका छन् । बुधबार कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलाई भेटेर सांसद चौधरीले उखुको समर्थन मूल्य तोक्न बिलम्ब भएकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले सरकारले उखुको मूल्य नतोक्दा किसानमा मारमा परेको बताए । उनले भने, उखु काट्ने सिजन भइसकेको छ । तर अहिलेसम्म सरकारले समर्थन मूल्य तोकेको छैन । यसले गर्दा किसानहरु मर्कामा परिरहेका छन् ।

लुम्बिनी प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार सन्तुसहित कांग्रेस केन्द्रीय सदस्य एवं सांसद चौधरी कृषिमन्त्री अधिकारी भेट्न सिंहदरवार पुगेका थिए । सांसद चौधरीले यसअघि कृषिमन्त्री अधिकारी र अर्थमन्त्री विष्णु पौडेललाई भेटेर उखुको समर्थन मूल्य कम्तिमा ३० प्रतिशतले बृद्धि गर्न आग्रह गरेका थिए ।

साथै सांसद चौधरीले समयमै मलको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । समयमै मल खरिद गर्न समस्या हुन नदिन जीटुजीमार्फत् खरिद गर्न सरकारलाई सुझाव दिए । नवलपरासी जिल्ला केरा तथा उखुको पकेट क्षेत्र मानिन्छ ।