जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन

जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन


लुक्ला – ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ । सर्वोच्च शिखर सगरमाथाको ‘बेस क्याम्प’ कालापत्थरमा आयोजित पत्रकार सम्मेलन गरेर एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टले एभरेष्ट टुरिजम अवार्ड आयोजना गर्ने भएको हो ।

कम्पनीका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौंमा हुने जानकारी दिए । मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउनुहुने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उनले बताए । उनका अनुसार कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार अवार्ड वितरण गर्न सम्बन्धित विषयविज्ञ सम्मिलित एक मूल्याङ्कन एवं छनोट समिति गठन भइसकेको छ ।

उनले पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा परिरहेकाले यसले पर्यटन क्षेत्रमा पनि असर गरिरहेकाले बताउँदै यस विषयमा विश्व समूदायको ध्यानाकर्षण गराउन कालापत्थरमा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

‘पाँच हजार छ सय ५३ मिटरको उचाइमा आयोजित यो सम्भवतः पहिलो पत्रकार सम्मेलन हो, यहाँबाट हामीले विश्वलाई जलवायु परिवर्तनको अवस्थाबारे बुझाउने अपेक्षा गरेका छौँ’, उनले भने ।

कम्पनीका प्रबन्ध निर्र्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)ले जलवायु परिवर्तनले सबैभन्दा बढी हिमाली क्षेत्र प्रभावित भएको उल्लेख गर्दै हिमाल बचाउनका लागि ढिला गर्न नहुनेमा जोड दिए ।

यस्तै, पत्रकार सम्मेलनमा उपस्थित आरोही मिङ्मा तेञ्जी शेर्पाले आफू १७ वर्षदेखि हिमालमा काम गरिरहेको बताउँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा असर देखिन थालेको उल्लेख गरिन् ।

‘मैले सन् २००७ मा काम सुरु गर्दा र अहिलेको अवस्थामा धेरै फरक देख्न सकिन्छ । जलवायु परिवर्तनका कारण मौसम अस्थिर भएको छ । केही समयअघि खुम्बु क्षेत्रको थामेमा ठूलो विपद् आयो, पहिले हिउँमा आरोहण गर्ने गरेकामा अहिले ढुङ्गा र माटोमाथि आरोहण गर्नुपरेको छ । तसर्थ हिमाल जोगाउन र जलवायु परिवर्तनका असर न्यूनीकरणमा हातोमालो गर्न विश्व समुदायको ध्यानाकर्षण हुन जरुरी छ,’ उनले भनिन् ।

वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा दोर्जी शेर्पा र पर्यटन व्यवसायी एवं आरोही मिङ्मा शेर्पासँगको सहकार्यमा एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टले अवार्ड आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कम्पनीले हालसम्म स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । हालसम्म कम्पनीले जापान, मालदिभ्स, दुबईमा कार्यक्रम गरिसकेको छ ।