एनसेल विवाद – २

आजियाटाले छाड्यो नेपाल, प्रमुख कार्यकारीमा आजियाटाकै कर्मचारी !

आजियाटाले छाड्यो नेपाल, प्रमुख कार्यकारीमा आजियाटाकै कर्मचारी !


काठमाडौं – निजी क्षेत्रद्वारा सञ्चालित दूरसञ्चार कम्पनी एनसेलको ८० प्रतिशत शेयर सुटुक्क बिक्रीपछि नेपालको राजनीतिक क्षेत्रदेखि कर क्षेत्र र सम्पूर्ण दूरसञ्चार क्षेत्रमा तरङ्ग पैदा भयो । मलेसियाको आजियाटाले आफ्नो नाममा रहेको ८० प्रतिशत शेयर स्वामित्व भएको रेनोल्ड्स होल्ङ्सि बेचेपछि नेपालको राजनीतिकदेखि कर क्षेत्र गर्माएको थियो ।

खासगरी, बेलायतमा न्यून मूल्यमा दर्ता भएको स्प्रेक्ट्रलाईटले रेनोल्ड्स होल्डिङ्सलाई ५ करोड अमेरिकी डलर (६ अर्ब रुपैयाँ हाराहारी) मा किन्यो । यससँगै कम्पनीको सम्पूर्ण शयर स्वामित्व नेपाली मुलुकको व्यवसायीसँग रहेको दाबी छ । नेपाली मूलका सिंगापुरका व्यवसायी शतिशलाल आचार्यले रेनोल्ड्स होल्डिङ किनेपछि आजियाटा भने नेपालबाट बाहिरिएको छ ।

आजियाटाले १ अर्ब ३८ करोड डलरमा २०१६ मा किनेको शेयर ५ करोड डलरमा बेचेको विषय अझै सेलाएको छैन । यो विषयमा बैंकिङ्ग समाचारले अन्य शृङ्खलामा लेख्ने छ । यद्यपि, आजियाटा बाहिरिए पनि कम्पनीका तत्कालीन कर्मचारी भने एनसेलमा नै छन् । एनसेलको स्वामित्व रहेको रेनोल्ड्स होल्डिङको शतप्रतिशत शेयर किनेपछि आजियाटा बाहिरियो ।

तर, कम्पनीको सञ्चालक समिति (बोर्ड)मा र प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशकको भूमिकामा आजियाटाकै कर्मचारी छन् । कम्पनीका सीईओकारुपमा जब्बोर कायुमोव २०८० वैशाखदेखि कार्यरत छन् । उनी तत्कालीन समयमा आजियाटाको प्रतिनिधकारुपमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए ।

कम्पनीले आफ्नो वेबसाइटमा सोही समयमा दिएको जानकारीअनुसार पनि उनी आजियाटाका प्रतिनिधि थिए । तर, आजियाटा बाहिरिएपछि पनि उनी कम्पनीको सोही भूमिकामा छन् । एनसेलले रेनोल्ड्स होल्डिङको शतप्रतिशत शेयर स्वामित्व किनेपनि आजियाटाका पूर्व कर्मचारी नै किनेकोमा भने शङ्का छ ।

विश्वभरका दूरसञ्चार कम्पनीको नेतृत्व सम्हालिसकेका जब्बारे एनसेल सम्हाल्नकै लागि रेनोल्ड्स होल्डिङ्सको कर्मचारी बनेर बसेपछि भने सरोकारवालाहरूले शङ्का उब्जाएका छन् । जब्बोर एनसेको प्रमुख कार्यकारीमा नियुक्त हुनुअघि टेलिया, भेओन, डिजिसेल ट्रिनिडाड एण्ड टोबागो र डिजिसेल जमैकामा आबद्ध थिए । ती सबै कम्पनी छाडेर जब्बोर आजियाटामा आबद्ध बनेको एनसेलले निकालेको तत्कालीन प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि एनसेल आजियाटा लिमिटेडमा नियुक्त भएको उल्लेख गरिएको थियो । जबकि, त्यसयता जब्बोरले रेनोल्ड्स होल्डिङमा ‘करियर’ सुरु गरेको कागजात सार्वजनिक भइसकेको छैन । एनसेल सार्वजनिक कम्पनी भएकाले यसबारे जानकारी गराउनुपर्ने हुन्छ । तर, यी सबै विषयबारे कम्पनी चुपचाप बसिरहेको छ ।

स्पेक्ट्रलाईटले रेनोल्ड्स होल्डिङको शतप्रतिशत शेयर किनेपछि प्रमुख कार्यकारी अधिकृत जब्बोरको विषयमा खुलाउने पथ्र्यो । तर, यसबारे कम्पनीले अहिलेसम्म जानकारी गराएको छैन । आफ्नो वेबसाइटमा सुरुमा आजियाटाको प्रतिनिधि भनेपनिअहिले एनसेलले जब्बोरलाई रेनोल्ड्स होल्डिङको प्रतिनिधिकारुपमा चिनाएको छ । तर, यसबारे आधिकारिक विवरण भने राखेको छैन ।

सञ्चालकमा को–को छन् ?

एनसेलको सञ्चालक समिति (बोर्ड)मा ६ जना छन् । यीमध्ये शतिशलाल आचार्य अध्यक्षकारुपमा छन् । यस्तै जब्बोर समेत सञ्चालक समिति भएको बताइएको छ । यसैगरी शचिनलाल आचार्य, को हुई शान आन्ना, नेओ हुई यू र मौरीन येओ हुई जुन समेत सञ्चालक सदस्यकारुपमा छन् । तर, सञ्चालक समितिमा भएका व्यक्तिका बारेमा थप जानकारी भने गराइएको छैन ।