दसैंमा पनि चलायमान बनेन अर्थतन्त्र, आयात र निर्यात दुवै घट्यो

दसैंमा पनि चलायमान बनेन अर्थतन्त्र, आयात र निर्यात दुवै घट्यो


काठमाडौं – २०७९ देखि निरन्तर घट्न थालेको नेपालको वैदेशिक व्यापारले अझै लय नसमातेको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको तथ्यांकअनुसार यो वर्षको दसैंमा पनि आर्थिक गतिविधि नसुधारिएको हो ।

चालू वर्षको असोज महिनासम्मको अवधिमा आयात ४.१७ प्रतिशत र निर्यात ६.११ प्रतिशतले घटेको छ । यस अवधिमा नेपालले ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको आयात गरेको छ । जबकी, गत वर्षको यही अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको आयात गरेको थियो ।

यस्तै, यस अवधिमा नेपालको निर्यात ३८ अर्ब ३७ करोड रुपैयाँमा खुम्चिएको छ । जबकी गत वर्षको तीन महिनाको अवधिमा ४० अर्ब ८७ करोड रुपैयाँको निर्यात भएको थियो । यो तथ्यांकले नेपालको अर्थतन्त्र अझै लयमा नआएको पुष्टी गर्छ । किनकी, नेपालको अर्थतन्त्र आयातमा निर्भर छ ।

२०७८/७९ मा १९ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको आयात भएको थियो । यो अहिलेसम्मकै उच्च आयात हो । त्यसयता घट्न थालेको वैदेशिक व्यापार निरन्तर खुम्चँदो अवस्थामा छ । दसैं र तिहारमा अर्थतन्त्र सुधार हुने अपेक्षा सरकारको थियो । तर, यसपटकको दसैंमा समेत बजारको माग र खपत नबढ्दा आयात समेत खुम्चिएको हो ।