‘नेपाललाई नयाँ स्टक एक्सचेन्ज चाहिँदैन’

‘नेपाललाई नयाँ स्टक एक्सचेन्ज चाहिँदैन’

भूकम्प र कोरोनापछिको परिसूचक केलाउँदा शेयर बजारले प्राकृतिक विपत्ति रुचाएको देखिन्छ – मुराहरी पराजुली


यतिबेला बजारमा नयाँ स्टक एक्सचेन्जको व्यापक चर्चा छ । यस्तै, शेयर बजारमैत्री सरकारको नेतृत्वमा पनि बजार घटेको चर्चा चलिरहेको छ । यसबाहेक, नेपालको शेयर बजारले प्राकृतिक विपत्ति रुचाउने खालको टीकाटिप्पणी समेत सुन्न थालिएको छ। भूकम्प र कोरोना कालमा बढेको शेयर बजार असोज ११ र १२ गते आएको भीषण वर्षापछिको बाढी र पहिरोपछि पनि शेयर बजार बढेमा शेयर बजारले प्राकृतिक विपत्ति रुचाउँछ भन्न सकिन्छ । यही र यिनै विषयसँग सम्बन्धित रहेर नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरी पराजुलीसँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अंशः–

पछिल्ला केही गतिविधि हेर्दा नेपालको शेयर बजारले प्राकृतिक विपत्ति रुचाउने जस्तो देखिन्छ । भूकम्पपछि बढेको शेयर बजार कोरोनाकलामा पनि बढ्यो । बाढी पहिरोपछि चाहिँ के हाेला ?

विगतका एक दुई वटा तथ्यले यही भन्छ । भूकम्पपछि बजार बढेको थियो भने कोरोना कालमा पनि बढेको थियो । र, यो वर्ष विध्वंसकारी बाढी र पहिरो आएपछि पनि बजारमा सकारात्मक प्रभाव देखिएको थियो । तर, यही आधारमा प्राकृतिक विपत्ति मन पराउँछ भन्न मिल्दैन । यद्यपि, संयोगचाहिँ मिलेको छ ।

दसैं अघिको एक साता र दसैंपछिको एक साता बजारमा सकारात्मक प्रभाव देखियो । यसमा प्राकृतिक विपत्ति मात्रै नभएर अर्थतन्त्रका सकारात्मक सूचकको भूमिका पनि महत्त्वपूर्ण हुनसक्छ । स्थिर सरकार बनेपछि राजनीतिक स्थायित्व र आर्थिक सूचक बढ्छन् भन्ने कारणले पनि बजारमा सकारात्मक प्रभाव देखिन सक्छ ।

स्थायी सरकार बनेको प्रभाव त यसअघि ३ हजार अंकको बिन्दुमा पुगेपछि देखियो नै । तर, त्यसपछि घटेर २४ सय अंकको बिन्दुमा आइपुग्यो र दसैंको अघि र पछि बढ्यो । जबकि, यही असोज ११ र १२ गते बाढी र पहिरोले ठुलो क्षति पुर्‍यायो ।

२ हजार अंकबाट बढेर ३ हजार अंकको बिन्दुमा पुगेपछि नाफा कमाउने मौकाकाे लगानीकर्ताले सदुपयोग गरेका कारणले बजार घटेको हुन सक्छ । उच्च अंकले बढेपछि लगानीकर्तामा डर पनि उठेको हुन सक्छ । बजारमा लगानीकर्ताको मानसिकताले समेत ठुलो प्रभाव पार्छ ।

दसैंलगत्तै खुलेको बजार निरन्तर बढेर २७ सय अंकभन्दा माथि पुग्यो । फेरी यो बजार कहिलेदेखि ओरालो यात्रामा लाग्ने त्यसको भर छैन । यद्यपि, ११ सय अंकको बिन्दुमा रहेको बजार भूकम्पपछि १८८१ को बिन्दुमा पुग्यो । यस्तै, कोरोनाअघि १६ सय अंकमा रहेको बजार ३२ सयको बिन्दुमा पुग्यो । यी दुई उदाहरण केलाउनु न ।

भूकम्प आउँदा सुरुमा बागमती क्षेत्रमा ठुलो क्षति भएको आँकलन गरियो । बागमती क्षेत्र आसपासका बैंक तथा वित्तीय संस्था ध्वस्त भएको र बीमा कम्पनीहरूले ठुलो क्षति बेहोर्नुपर्ने आँकलन गरियो । तर, वास्तविक तथ्यांक सोचेभन्दा धेरै न्यून भयो । यसबाट शेयर लगानीकर्तामा सकारात्मक प्रभाव परेर बजार बढेको हुन सक्छ । यसबाहेक कोरोना कालमा सबै लगानीका क्षेत्र बन्द भए । जसकारण, लगानीका सबै क्षेत्र खुम्चिए र शेयर बजारमा सबै क्षेत्रको रकम थुप्रियो । अथवा तपाईँले भनेजस्तै विपत्तिलाई नेपालको शेयर बजारले रुचाएको पनि हुन सक्छ ।

नेपालको शेयर बजारलाई अनिश्चितताको भुमरी पनि भनिन्छ । बजार एकाएक १ हजार अंकले बढ्छ र फेरी ६०० अंकले घट्छ । यसआधारमा बजारको भविष्यवाणी गर्न मिल्दैन । यद्यपि, तपाईँको विचारमा अब बजारको बाटो कता हुन्छ ?

शेयर बजारबारे सबैले अनुमान र विश्लेषण गर्ने हो । लगानीकर्ताले बजारको भविष्यबारे बारे जानकारी पाए शेयर बजार चल्दैन। भावी दिनमा बजार यति अंकमा पुग्छ भन्ने जानकारी लगानीकर्ताले वा कसैले अनुमान गरेमा शेयर बजारको भविष्य नै रहँदैन । शेयर बजार भनेको नै अनिश्चितता हो । यसमा ठुला लगानीकर्तासँग शेयर बजारबारे सबै जानकारी हुन्छ भन्न सकिएला । तर, उनीहरूसँग शेयर बजारबारे पूर्ण जानकारी हुँदैन ।

नेपालका ठुला लगानीकर्ताको आकार नै कत्रो छ भन्ने विषय हो । यतिबेला ३७ लाखदेखि ३८ लाख लगानीकर्ता सक्रिय छन् । उनीहरू सबैमा शेयर बजारको ज्ञान र लगानी बाँडिएको छ । लगानीकर्ताको सङ्ख्या बढ्दो गतिमा छ । डिम्याट खाता ५६ लाख पुग्न लागिसक्यो । तर, लगानीकर्तामा चेतनाको स्तर बढ्न सकेको देखिँदैन । चेतना फैलाउन नसकिएको हो ?

यसलाई चेतनाको अभाव नै भन्न सकिन्छ । नेपालको बजारमा प्रत्यक्ष रुपमा लगानी गर्नेहरूको सङ्ख्या बढी छ । विदेशी बजारमा संस्थागत लगानीकर्तामार्फत लगानीकर्ताले लगानी गर्छन् । म्यूचुअल फण्ड, पोर्टफोलियो म्यानेजमेन्ट लगायतका कम्पनीमार्फत लगानी गरेका हुन्छन् । तर, नेपालमा त्यसको उल्टो छ । यही कारण, नेपालका लगानीकर्ता ‘रियाक्टिभ’ छन् ।

लगानीकर्तासँगै नेप्से र धितोपत्र बोर्डसँग पनि शेयर चेतना छैन जस्तो देखिन्छ कहिलेकाहीँ । संस्थागतरुपमाचाँही कत्तिको चेतना हुन सक्छ ?

लगानीकर्तासँगको तुलनामा नियामकीय संस्थासँग ज्ञान बढी नै हुन्छ । विदेशी बजारसँग तुलना गर्दा नेप्से र धितोपत्र बोर्डसँग पनि उनीहरु जत्तिको चेतना नभएको हुन सक्छ । विदेशी बजार सयौँ वर्षदेखि चल्दै आएका छन् । जबकि, नेपालको नेप्से २०५० देखि सञ्चालनमा छ ।

यतिबेला सरकारमा शेयर बजार मैत्री सरकार छ भनिएको छ । सूचक घट्न थाल्दा अर्थ मन्त्रालय वा प्रधानमन्त्री कार्यालयबाट कत्तिको दबाब आउँछ ?

अर्थ मन्त्रालयले ‘माइक्रो म्यानेजमेन्ट’ गर्दैन । बजार घट्दा चासो व्यक्त हुनु स्वाभाविक हो । घट्दो बजारलाई माथि उठाउने लक्ष्यसहित चासो व्यक्त हुन्छ । तर, ‘माइक्रो म्यानेजमेन्ट’मा सरकार वा भनौँ अर्थ मन्त्रालय छैन ।

अन्त्यमा, यतिबेला देशमा नयाँ नेपाल स्टक एक्सचेन्जको चर्चा छ । कतिसम्म भने एउटा मात्र नभएर दुई वटासम्म नयाँ स्टक एक्सचेन्जको चर्चा व्यापक छ । नेप्सेले नयाँ स्टक एक्सचेन्जलाई कसरी लिन्छ ?

एनसेल आएपछि नेपाल टेलिकम सुधार आएको भनिन्छ । अर्को स्टक एक्सचेन्ज प्रतिस्पर्धाका लागि भनिएको छ । तर, बजारलाई खुला छाड्दा मात्रै प्रतिस्पर्धाले काम गर्छ । नियम कानूनबाटै कम्पनीहरूको अधिकार, क्षेत्राधिकार र सेवा दिएबापत लिने मूल्य तोकियो भने प्रतिस्पर्धा लागू हुँदैन । नेप्से व्यवसायीक संस्था सँगसँगै नियामकीय संस्था पनि हो । हाम्रो अर्थतन्त्रको आकार, शेयर बजारको आकार र जनसङ्ख्या केलाउँदा अर्को स्टक एक्सचेन्ज आवश्यक हो वा होइन भन्ने पनि प्रश्न उठ्न सक्छ ।

मैले यसो भन्दै गर्दा नेप्सेमा बसेर अर्को एक्सचेन्ज चाहिँदैन भनेजस्तो देखिन सक्छ । तर, माथिका तथ्यांक केलाउँदा नेपालमा अर्को स्टक एक्सचेन्ज चाहिन्छ भन्ने बिन्दुमा कोही पुग्दैन जस्तो लाग्छ ।

यो पनि