लगानीकर्तामा राजनीतिक अस्थिरताको डर, शेयर बजारमा देखियो रवि पक्राउको प्रभाव

लगानीकर्तामा राजनीतिक अस्थिरताको डर, शेयर बजारमा देखियो रवि पक्राउको प्रभाव


काठमाडौं – रवि लामिछाने पक्राउ परेपछि शेयर बजारमा आबद्ध लगानीकर्तामा राजनीतिक अस्थिरताको डर देखिएको छ । यससँगै यो साताको पहिलो कारोबार दिन आज सुरुदेखि नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लागेको छ । लगानीकर्तामा राजनीतिक अस्थिरताको भूमरीमा पर्ने डर देखिएसँगै परिसूचकमा प्रभाव देखिएको हो ।

दसैंको विदापछि खुलेको बजार ३ दिन नै बढेको थियो । सुरुका दुई दिन उच्च अंकले बढेपनि तेस्रो दिन सामान्य अंकले बढेको थियो । तर, आज कारोबार खुलेदेखि नै बजार नागबेली चालमा ओरोलो यात्रामा छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १०.७४ अंकले घटेको छ ।

यससँगै नेप्से परिसूचक २७ सय ३४ अंकमा आइपुगेको छ । आज नेप्से परिसूचक घटेर २६ सय अंकको बिन्दुसम्म आइपुगेको थियो । दुई तिहाई बहुमतसहितको बलियो सरकार गठनसँगै आर्थिक गतिविधिमा केन्द्रीत हुने अपेक्षा सर्वसाधारणको थियो । तर, सरकार रवि लामिछानेको राजनीतिक भविष्य सक्काउने ध्यानमा केन्द्रीत बनेपछि लगानीकर्ताको मनोबल समेत घट्न थालेको हो ।