तेस्रो त्रैमाससम्ममा ४ वाणिज्य बैंकले मात्रै घोषणा गरे लाभांश

तेस्रो त्रैमाससम्ममा ४ वाणिज्य बैंकले मात्रै घोषणा गरे लाभांश


काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अवधिमा ४ वटा बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट सूचीकृत बैंकमध्ये शेयरधनीलाई ४ वटा बैंकले मात्रै तेस्रो त्रैमाससम्म लाभांश घोषणा गरेका हुन् ।

हालसम्म एभरेष्ट, ग्लोबल आईएमई, सानिमा र सिटिजन्स बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । यीमध्ये सबैभन्दा धेरै लाभांश एभरेष्टको छ । यो बैंकले १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद गरी कूल १५.५३ प्रतिशत लाभांश घोषणा गरेर वार्षिक साधारणसभाबाट पारित समेत गरिसकेको छ ।

यस्तै, ग्लोबलले ५.५ प्रतिशत बोनस शेयर घोषणा गरेको छ भने सानिमाले ५.२६ प्रतिशत नगद लाभांश र सिटिजन्स इन्टरनेशल बैंकले ४ प्रतिशत बोनस शेयर ०.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

पछिल्लो समय वाणिज्य बैंकहरुमा सर्वसाधारणले गर्ने लगानीको प्रतिफल खुम्चिँदै गएको छ । १९ बैंकमध्ये करिब आधा दर्जन बैंक लाभांश नै दिन नसक्ने स्थितीमा छन् । लगानीकर्तालाई लाभांश वितरण गर्ने अवस्थामा रहेका बैंकले समेत औसतमा ५ देखि ६ प्रतिशत लाभांश दिन सक्छन् ।