काडमाडौं – प्राकृतिक विपत्ती रुचाउने नेपालको शेयर बजार यसपटक पनि बढ्ने सम्भावना देखिएको छ । विगतको इतिहास हेर्दा प्राकृतीक विपत्तिपछि नेपालको शेयर बजारले ‘अल टाइम हाई’को किर्तिमान कायम गरेका उदाहरण छन् । यसपटक पनि विगतकै इतिहास दोहोरिने छनक देखिएको हो ।
२०७२ सालमा आएको विनाशकारी भूकम्पपछि ११ सय अंकको बिन्दुमा रहेको नेपालको शेयर बजार १८८१ अंकको बिन्दुमा पुगेको थियो । यस्तै, त्यसपछि २०७६ देखि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीपछि पनि शेयर बजारमा पुरानै स्वरुप देखियो ।
७६ सालको अन्तिमदेखि नेपालमा कोरोना महामारीको प्रभाव सुरु भएको थियो । त्यसपछि बन्द भएको शेयर बजार २०७७ को असारमा खुलेको थियो । त्यसपछि निरन्तर बढ्दै शेयर बजारले १६ सय अंकको बिन्दुबाट ३२ सय अंकसम्मको बिन्दु छोयो ।
२०७८ सम्म आइपुग्दा दैनिक १ देखि २ अर्ब रुपैयाँ बराबरको कारोबार रकम बढेर २० अर्ब रुपैयाँभन्दा माथि पुगेको थियो । यो लगातार दोस्रो पटक प्राकृत्तिक विपत्तिपछि नेपालको शेयर बजार बढेको उदाहरण हो । जसलाई नेपालको शेयर बजारले प्राकृत्तिक विपत्ति रुचाउँछ भन्दा फरक पर्दैन ।
यसपटक असोज ११ र १२ गतेको भिषण वर्षाका कारण आएको बाढी र पहिरोपछि पनि शेयर बजारले बढ्ने संकेत देखाएको छ । त्यसयता शेयर बजारले उकालो यात्रा तय गर्न थालेको छ । यद्यपी, यसलाई बाढी र पहिरोपछि शेयर बजारले उकालो यात्रा तय गर्न थालेको भनेर ठोकुवा गरिहाल्न मिल्दैन ।
बाढी र पहिरो आउनुअघिको अन्तिम कारोबार दिन अर्थात असोज १० गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ अंक घटेर २४ सय ८६ अंकमा पुगेको थियो । त्यसपछि आइतबार खुलेको बजारमा समेत परिसूचक २२ अंकले घटेर २४ सय ६४ अंक कायम भयो ।
तर, त्यसयता भने निरन्तर परिसूचक बढ्न थालेको छ । सोही सोमबार अर्थात् असोज १४ गते ४४ अंक र असोज १५ गते (मंगलबार) परिसूचक ११४ अंकले बढेको थियो । असोज १३ गते अन्तिमपटक परिसूचक घटेपछि त्यसयताका १० कारोबार दिनमा जम्मा २ दिन मात्रै परिसूचक घटेको छ ।
यस्तै, असोज १३ गते २४ सय ६४ अंकमा रहेको शेयर बजार परिसूचक यो साताको अन्तिम कारोबार दिन बिहीबारसम्ममा २७ सय ४५ अंकमा पुगिसकेको छ । यो २८१ अंकको वृद्धि हो । यद्यपि यसपटकको वृद्धिलाई शेयर लगानीकर्ता र नेप्सेले स्वभाविक भएको बताउँदै प्राकृति विपत्तिका कारण आएको वृद्धि नभएको बताउँछन् ।
जबकी, अघिल्ला दुई विपत्ती भने बजारलाई फापेको उनीहरुको भनाई छ । शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल भूकम्प र कोरोना महामारी नेपालको शेयर बजारलाई फापेको भन्न मिल्ने बताउँछन् । ‘भूकम्प लामो समयसम्म रह्यो । पराकम्पन दिइरह्यो,’ उनले भने, ‘जसकारण लगानीका अन्य क्षेत्र खुम्चियो र सबै क्षेत्रका लगानीकर्ता शेयर बजारमा नै पसे ।’
विश्वभर फैलिएको कोरोनाको समयमा समेत लगानीकर्ता समक्ष लगानीका धेरै क्षेत्र खुम्चिएका कारण शेयर बजारमा सबैतिरबाट पैसा आउँदा उच्च अंकले बढेर किर्तिमान बनाएको फुल्लेलको भनाई छ । यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरी पराजुली समेत यसअघिका दुई प्राकृतिक विपत्तिमा शेयर बजार बढेको बताउँछन् ।
‘भूकम्पका कारण बागमती क्षेत्रका बैंक ध्वस्त भएको हल्ला चलेको थियो । यस्तै, भौतिक संरचनामा समेत ठूलो क्षति पुगेकाले बीमा कम्पनीमाथि अर्बौको दाबी पर्ने अपेक्षा गरिएको थियो,’ पराजुली भन्छन्, ‘तर, बैंकहरुको भौतिक संरचनामा ठूलो क्षति नपुगेको पाइयो । यस्तै, सबै संरचनाको बीमा नगरिएकाले बीमा कम्पनीहरुमाथि क्षतिको ठूलो दबाब आएन ।’ यहीकारण, भूकम्पपछि शेयर बजार बढेको हुन सक्ने पराजुलीको भनाई छ ।
कोरोना महामारीको समयमा समेत बन्दाबन्दीका कारण सबै क्षेत्र बन्द थियो । उद्योगधन्दा र सबै प्रकारका व्यापार व्यवसाय बन्द थियो । सोही समयमा शेयर बजार मात्रै खुला थियो । ‘जसकारण सबै पैसा शेयरमा थुप्रियो र बजार बढ्यो,’ पराजुलीले बैंकिङ्ग समाचारसँग भने ।
बजारलाई बाढी र पहिरो फाप्ला ?
यसअघिका दुई विपत्ति फापेको बजारलाई बाढी र पहिरो फाप्ने वा नफाप्ने देख्नै बाँकी छ । एमाले र कांग्रेसको साझेदारीपछि बनेको शक्तिशाली सरकारपछि बजारले निरन्तर उकालो यात्रा तय गरेको थियो । परिसूचक २ हजार अंकको बिन्दुबाट बढेर ३ हजार अंकको बिन्दुसम्म पुगेको थियो ।
५० प्रतिशत बढेपछि सुरु भएको ‘करेक्सन’ नरोकिएपछि नेप्सेले झण्डै ६०० अंकसम्म गुमायो र परिसूचक २४ सय अंकको बिन्दुसम्म आइपुग्यो । यसबीचमा आएको ‘बिग करेक्सन’को कुनै कारण थिएन । बैंकको ब्याजदर घट्दोक्रममा, पर्याप्त तरलता, राष्ट्र बैंकको लचिलो नीति लगायत शेयर बजारमैत्री वातावरणमा समेत परिसूचक घटेको घट्यै थियो ।
यहीकारण, यतिबेला बजार बढ्ने बेलामा पुगेको लगानीकर्ताको भनाई छ। यहीबीचमा बाढी र पहिरोले अर्बौ रुपैयाँको क्षति पुर्यायो । साथै, सूचीकृत कम्पनीहरुले गर्ने लाभांशको घोषणा लगायतले समेत शेयर बजार बढेको बताइन्छ । यद्यपि, विगतका दुई उदाहरण र बाढी र पहिरोपछि बढ्न थालेको बजारले प्राकृतिक विपत्तिलाई रुचाउने गरेको देखिन्छ ।
प्रतिक्रिया