सुरक्षित जीवनको सारथी बन्दै बीमा

सुरक्षित जीवनको सारथी बन्दै बीमा


काठमाडौं – भविष्य राम्रो बनाउने सपना बुन्दै सिन्धुपाल्चोकबाट काठमाडौं झरेकी शान्ति आफ्ना दुई सन्तानलाई स्याहार गर्दै जिविको चलाउँदै थिइन् । शान्ति एक मध्यम वर्गीय परिवारकी गृहिणी हुन् । उनको जीवन परिवारको हेरचाह, छोराछोरीको पढाई, र घरायसी काममै बित्छ । शान्ति समूहहरूमा सामाजिक कामहरूमा पनि अग्रसर छिन् ।

आफू नपढेको भएतापनि शान्ति भविष्यप्रति एकदमै सोच्ने व्यक्ति हुन् । उनका श्रीमान रामेन्द्रले एउटा सानो व्यापार चलाउँदै आएका छन् । पारिवारिक बाध्यताको कारण उनका श्रीमान् १० वर्ष खाडी मुलुक काम गरेर नेपाल फर्केका हुन् । उनको श्रीमान रोगी भएको कारण उपचारमा पनि निकै खर्च हुने गर्छ ।

शान्ति र रामेन्द्र दुवै जना भविष्यको लागि हुने गरी बचत गर्न चाहन्छन् तर, कहिलेकाहीँ अप्रत्याशित घटनाहरूको डरले थोरै थोरै बचत मात्र गरेका छन् । एकदिन, शान्ति आफ्नो साथी सुमित्रासँग भेट्न गइन् । शान्ति र सुमित्रा सानै बेला देखिको मिल्ने साथी हुन् । सुमित्राले हालसालै आफ्नो श्रीमानकाे स्वास्थ्य समस्याको कारण अस्पतालमा धेरै पैसा खर्च भएको शान्तिलाई सुनाइन् ।

तर, सुमित्राले बीमा गरेकी थिइन् र बीमाको कारण आर्थिक बोझ धेरै हल्का भएको कुरा पनि बताइन् । सुमित्राको कुरा सुनेर शान्ति अचम्ममा परिन्। उनले कहिल्यै बीमाको बारेमा गम्भीरतापूर्वक सोचेकी थिइनन् । र, उनले सुमित्रालाई सोधिन ‘यो बीमाले बिरामी हुँदा पनि सहयोग पुग्छ र ?’ सुमित्राले शान्तिलाई बीमाको विषयमा सबै बुझाइन् । बीमा गर्दाको सबै फाइदाहरू शान्तिले बुझिन् र घर फर्किन् ।

घर फर्किएपछि शान्तिले आफ्नो श्रीमानसँग यस विषयमा कुरा गरिन रामेन्द्रले पनि बीमाको विषयमा पसलमा आउने ग्राहकहरूबाट सुनेका रहेछन् । उनले बीमाको महत्त्व बुझिसकेका थिए । तर, कहिल्यै बीमा गर्न पहल भने गरेका थिएनन् । बीमा गर्नुपर्छ भन्ने बुझे पनि गम्भीरताले भने लिएका थिएनन् । भविष्यको लागि बीमा महत्त्वपूर्ण छ भन्ने सोचेर उनीहरूले बीमा गर्ने निर्णय गरे ।

दुवै जना सल्लाह गरी उनीहरूले जीवन बीमा र स्वास्थ्य बीमा लिने निर्णय गरे । त्यसपछि, एकदिन रामेन्द्र अचानक बिरामी भए र अस्पताल भर्ना गर्नुपर्ने अवस्था भयो । अस्पतालको खर्च धेरै महँगो थियो । तर, शान्ति र रामेन्द्र चिन्तित भएनन् । किनभने उनीहरूको बीमा थियो । बीमाले धेरैजसो खर्च कभर गरिदियो, जसले गर्दा उनीहरू वित्तीय रूपमा सुरक्षित भए ।

यस्तो घटनापछि उनीहरू अझै बढी सचेत बनिन् उनले आफ्नो छोराछोरीका लागि पनि बीमा गर्ने योजना बनाइन् । आफ्ना परिवारलाई सुरक्षित राख्ने प्रण गरिन् । बीमा नहुँदा के कस्तो कठिनाइ आउन सक्छ भन्ने कुरा उनले आफ्नै आँखाले देखिसकेकी थिइन् । बीमा उनको परिवारको लागि सुरक्षा मात्र नभएर आत्मविश्वास र सुरक्षाको आधार बनेको थियो ।

जीवनमा के हुने हो, थाहा छैन, तर शान्ति अब आफू र आफ्नो परिवारलाई सुरक्षित महसुस गर्छिन् । बीमा अब उनको जीवनको अभिन्न अंग बनिसकेको छ । उनी बीमालाई सुरक्षित जीवनको सारथी मान्छिन् ।