बढ्न थाल्यो पर्यटकको आवागमन, एक महिनामै ९६ हजार विदेशी नेपाल भित्रिए

बढ्न थाल्यो पर्यटकको आवागमन, एक महिनामै ९६ हजार विदेशी नेपाल भित्रिए

कोरोना महामारी अघिकै स्थितीमा पर्यटन उद्योग


काठमाडौं – गत महिना नेपालमा ९६ हजार ३०५ जना पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२४ को सेप्टेम्बरमा झण्डै १ लाख पर्यटक नेपाल भित्रिएका हुन् । यो सन् २०२३ को सेप्टेम्बर महिनाको तुलनामा ५.८२ प्रतिशतले बढी हो ।

सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यस्तै २०२२ को सेप्टेम्बरमा ५८ हजार ३१४ जना र २०२१ को सेप्टेम्बरमा ९ हजार ९०७ जना विदेशी नेपाल आएका थिए । यसैगरी, २०२० मा जम्मा ५८४ जना विदेशी नेपाल घुम्न आएका थिए ।

त्यसअघि सन् २०१९ मा सेप्टेम्बरमा ९२ हजार ६०४ जना विदेशी नेपाल आएका थिए । यो वर्षको सेप्टेम्बरमा सन् २०१९ कोभन्दा पनि बढी पर्यटक नेपाल भित्रिएका हुन् । यसले नेपालको पर्यटन क्षेत्र कोभिड महामारीकोभन्दा पनि माथिल्लो स्थितीमा पुगेको झल्काउँछ ।