रिभर फल्स पावर लिमिटेडको आईपीओः स्थानीयलाई अधिकतम १४० कित्तासम्म

रिभर फल्स पावर लिमिटेडको आईपीओः स्थानीयलाई अधिकतम १४० कित्तासम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

रिभर फल्स पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा स्थानीयले अधिकतम १४० कित्तासम्म हात पारेका छन् । 

कम्पनीले आयोजना प्रभावित संखुवासभा जिल्लाका स्थानीयहरुमा जारी गरेको प्राथमिक सेयर सोमबार बाँडफाँड गरिएको हो ।

सोमबार सम्पन्न भएको सेयर बाँडफाँडमा १३० कित्तासम्म माग्नेलाई मागबमोजिम र २ हजार २९२ जनाले १४० कित्ता सेयर पाएका छन् । कम्पनीको साधारण सेयरमा आह्वान गरिएको भन्दा १.९७ गुणा सम्म आवेदन परेको थियो । बिक्री खुला गरिएकोभन्दा बढी माग परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसार आईपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार १३० कित्तासम्म माग गर्ने ५ हजार २५५ जना आवेदकलाई माग बमोजिम नै र सो भन्दा बढी माग गर्ने २ हजार ३३० जनालाई १३० कित्ताका दरले समानुपातिक रुपमा बाँडफाँड गरिएको हो ।

यसरी बाँडफाँड गरेर बाँकी रहेको २२ हजार ९१० कित्ता सेयर १३० कित्ताभन्दा धेरै सेयर माग गर्ने २ हजार ३३० जना आवेदकमध्ये गोलाप्रथा प्रणालीबाट बाँडफाँड गरिएको हो । जसअनुसार २ हजार २९२ जनाले थप १० कित्तासहित अधिकतम १४० कित्ता सेयर हात पारेका हुन् ।

रिभर फल्स पावर लिमिटेडले आफ्नो आयोजनाका प्रभावित संखुवासभाका स्थानीय जिल्लावासीले आवेदन दिन पाउनेगरी २०७८ चैत्र २७ गते देखि २०७९ बैशाख ११ गतेसम्म स्थानीयलाई ७ लाख कित्ता सेयरको सार्वजनिक निष्काशन खुला गरेको थियो ।

संखुवासभा जिल्लाका स्थानीयलाई सार्वजनिक निष्काशन खुला गरिएको ७ लाख कित्ता सेयर खरीदका लागि कुल ७ हजार ६०३ वटा आवेदनहरुबाट १३ लाख ८१ हजार ९०० कित्ताको लागि जम्मा आवेदन परेको थियो । जसमध्ये १८ वटा आवेदनका ४४० कित्ता सेयरको माग रद्ध भएको थियो । ७ हजार ५८५ जना आवेदकहरुबाट प्राप्त १३ लाख ८१ हजार ४६० कित्ता सेयरको आवेदनलाई बाँडफाँड प्रकृयामा सामेल गराइएको थियो ।

उक्त प्राथमिक सेयर खरीदका लागि २२७ जनाले १० कित्ता, २७८ जनाले २०, १५७ जनाले ३०, १२७ जनाले ४०, १ हजार ६९४ जनाले ५० कित्ता, ७८ जनाले ६०, ६९ जनाले ७० कित्ता, ४५ जनाले ८० कित्ता, ३१ जनाले ९०, २ हजार ४९२ जनाले १००, २० जनाले ११०, २५ जनाले १२०, १२ जनाले १३० कित्ताको माग गर्दै आवेदन दिएका थिए । उल्लेखित आवेदकले माग अनुसार नै सेयर पाएका छन् ।

यस्तै १३० कित्ता भन्दा बढी माग गर्ने २ हजार ३३० जनालाई समेत १३० कित्ता न्यूनतम बाँडफाँड गरिएको छ । यसैगरी बाँडफाँड गरेर बाँकी रहेको २२ हजार २० कित्ता सेयर १३० कित्ता भन्दा बढि कित्ता आवेदन दिने २ हजार ३३० जना आवेदकमध्ये गोलाप्रथा प्रणालीबाट २ हजार २९२ जनालाई १० कित्ता बाँडफाँड गरिएको हो ।

यसअनुसार १३० कित्ता भन्दा बढी माग गर्ने २ हजार २९२ जनाले अधिकतम १४० कित्ता सेयर प्राप्त गरेका छन् । १३० कित्ता भन्दा बढी माग गरेपनि बिक्री खुला गरिएका सेयरसंख्या कम हुँदा १३० कित्ताभन्दा बढी आवेदन दिएका ३८ जनाले भने १३० कित्ता मात्र सेयर पाएका छन् ।