काठमाडौं – वाणिज्य बैंकहरुको ब्याजदर ३२ महिनायताकै न्यून स्थितिमा आइपुगेको छ । कोरोना महामारीताका ब्याजदरमा चर्को वृद्धि हुँदा सबैजसो व्यवसायी मारमा परेका थिए । अझै नेपाल राष्ट्र बैंकले ल्याएको ‘वर्किङ क्यापिटल गाइडलाइन्स’ धेरै व्यवसायीमाथि तनाब थुपारिदिएको थियो ।
कोरोना महामारीमा बैंक बचाउनका लागि राष्ट्र बैंकले लिएको नीतिका कारण दुःख पाएकामध्ये धेरै व्यवसायी सडक आन्दोलनमा नै उत्रिएका थिए र, ब्याजदर घट्नुपर्ने उनीहरूको एकसुत्रिय माग थियो । तर, यतिबेला ब्याजदर ३२ महिना अर्थात् झन्डै ३ वर्ष यताकै न्यून बिन्दुमा आइपुगेको छ । जबकि, व्यवसायीले ऋण लिन सकेका छैनन् ।
कोरोना कालमा ऋणको ब्याजदर एकल अंकमा हुनुपर्ने माग गर्ने तीनै व्यवसायीले पनि यतिबेला ऋण नलिएका हुन् । बैंकहरुमा झन्डै ६ खर्ब रुपैयाँ हाराहारीमा थुप्रिएको लगानीयोग्य रकमको कर्जा नबढ्नुमा धेरै कारण देखिन्छन् । देशको समग्र अर्थतन्त्र चलायमान बनेको बताइन थाले पनि आन्तरिक माग बढ्न सकेको छैन । जसकारण, उद्योगहरुको उत्पादन बढ्न सकेको छैन । उत्पादन नबढेपछि नयाँ लगानी विस्तारको योजना नै आउँदैन ।
फलस्वरुपः ब्याजदर ३२ महिनाकै न्यून बिन्दुमा आइपुगेपनि कर्जा बढ्ने छाँटकाँट देखिँदैन । ब्याजदर न्यून बिन्दुमा आउँदा समग्र अर्थतन्त्र नै प्रभावित बन्ने जानकारहरू बताउन थालेका छन् । ब्याजदर न्यून बिन्दुमा आउँदा लगानीका लागि रकम खोसाखोस हुनुपर्ने हो । तर, सोचेअनुरूप ब्याजदर न्यून बिन्दुमा आउँदापनि लगानी नबढ्दा अर्थतन्त्रमा दोहोरो मार पर्ने जोखिम देखिन्छ ।
घट्दो ब्याजदरको अर्थतन्त्रमा कस्तो पर्छ प्रभाव ?
सामान्यता बैंक तथा वित्तीय संस्थाको कर्जा र निक्षेपको ब्याजदर घट्दा लगानीको मात्रा बढ्नुपर्ने हो । सस्तो ब्याजदरमा फालाफाल पैसा पाउँदा लगानीकर्ता वा व्यवसायी तथा उद्योगीले ठुलो प्रतिस्पर्धा गरेर कर्जा लिनुपर्ने हो । ऋणीले सस्तो ब्याजदरमा कर्जा लिन चाहने हुँदा ब्याजदर घट्दा ऋण कर्जा प्रवाह बढ्नुपर्ने हो । ब्याजदर घट्दा व्यवसायीहरूले नयाँ व्यवसायमा लगानी गर्न, परियोजनाहरू विस्तार गर्न अग्रसर हुन्छन् । यसले व्यवसायहरू फस्टाउनुका साथै कर्जा विस्तार पनि बढ्ने आँकलन गरिन्छ । तर, यसो भएको छैन ।
यसको उल्टो कर्जा प्रवाह सुस्त छ । यसबाहेक, ब्याजदर घट्दै जाँदा कर्जा बढ्नाले अर्थतन्त्रमा मुद्रा आपूर्ति बढ्छ । जसले, मुद्रास्फीति बढ्छ । यता ब्याजदर घट्दा कर्जा चलाइरहेका व्यवसायीहरूको खर्च घट्छ भने शेयर बजारमा पनि सुधार आउने आँकलन गरिन्छ । यस्तै, ब्याजदर घट्दाको प्रभाव निक्षेपकर्ताहरुलाई भने नकारात्मक पर्छ । उनीहरूले जम्मा गर्ने निक्षेपमा न्यून ब्याज पाउँछन् र निक्षेपकर्ताको आम्दानी प्रभावित बन्छ ।
पूर्व बैंकर भुवन दाहाल बैंकहरुको ब्याजदर मुद्रास्फिती दर भन्दा तल आएमा समस्या आउने सम्भावना औंल्याउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा भन्छन्, ‘मुद्रास्फितीभन्दा पनि तल ब्याजदर झरेमा सोच्न बाध्य हुनुपर्छ ।’
ब्याजदर घटेको घट्यै, छैन प्रभाव
अर्थतन्त्रको आकार बढ्दै जाँदा हुने ब्याजदर वृद्धिले नकारात्मक प्रभाव नपर्ने विज्ञहरूको भनाइ छ । २०७२ पछि कर्जाको ब्याजदर १३ प्रतिशत पुगेको थियो । बैंकहरूले भद्र सहमति गरेर फिक्स डिपोजिटमा १२ प्रतिशत कायम गरेका थिए । सो समयमा आर्थिक वृद्धि ७ प्रतिशत थियो । जसको कारण भूकम्पका कारण क्षतीग्रस्ता भएका भौतिक संरचनाको तीव्र गतिमा भइरहेको निर्माण थियो । बैंकिङ्ग विज्ञ अनलराज भट्टराई ब्याजदर घट्दैमा बजारमा देखिने सबै प्रभाव नदेखिने बताउँछन् ।
‘ब्याजदर बढी हुँदा पनि अर्थतन्त्र चलायमान हुन सक्छ । ब्याजदर कम हुँदैमा ग्रोथ बढी हुन्छ भन्ने हुँदैन’ बैंकिङ्ग समाचारसँग भट्टराईले भने, ‘कतिपय मुलुककै कुरा गर्ने हो भने ब्याजदर नेगेटिभ छ तर ग्रोथ छैन ।’ हाल छिमेकी मुलुक भारतको कुरा गर्ने हो भने ८ प्रतिशत ब्याजदर फिक्स डिपोजिटको छ । कर्जाभन्दा निक्षेप वृद्धि कम छ । नेपालको तुलनामा भारतको कर्जा महँगो रहेको छ । तर, भारतको ग्रोथ भने ७.५ प्रतिशतको हाराहारीमा छ । भट्टराईले अर्थतन्त्र वृद्धि हुन ब्याजदर मात्र नभई ‘डिमान्ड’ पनि बढ्नुपर्ने बताए ।
बचतको औषत ब्याजदर ५.६६ प्रतिशत
बैंकको आधारदरलाई हेरेर पनि बैंकको ब्याजदर के कति छ भन्ने बुझ्न सकिन्छ। कुनैपनि बैंकको आधारदर कम छ भने त्यस बैंकको ब्याजदर पनि कम नै हुन्छ । बैंकहरुको आधारदर बढी छ भने बैंकको ब्याजदर पनि बढी नै हुने गर्छ । बैंकहरूले आफ्नो ‘कस्ट अफ फण्ड’ जोडेर आधारदर कायम गरेका हुन्छन् । सोही आधारदरमा बैंकहरूले प्रिमियम चार्ज जोडेर ब्याजदर कायम गर्दै आएका छन् ।
हाल बैंकहरुको आधारदर औसतमा ७.६२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यो अवधिमा १०.१४ प्रतिशत आधारदर रहेको केन्द्रीय बैंकको तथ्यांक छ । हाल बचत खातामा बैंकको ब्याजदर औसतमा ५.६६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया