बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारी र बिदेशी स्वामित्वका बाहेकका बीमा कम्पनीले पुँजी वृद्धि योजना पेश गरेका छन् । तोकिएको समयसम्म सरकारी र बिदेशी स्वामित्वका बाहेक नेपालका ३४ वटा बीमा कम्पनिले पुँजी वृद्धि योजना पेश गरेको बीमा समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अन्तिम दिन (बैशाख ११ गते) सम्ममा १७ वटा जीवन र १७ वटा निर्जीवन बीमा कम्पनीले पुँजी वृद्धिको योजना बुझाएका हुन् ।
पुँजी वृद्धिको योजना बुझाउनेमा जीवन बीमा कम्पनीहरुमध्ये लाइफ इन्स्योरेन्स, नेशनल, एशियन, सूर्या, मेटलाइफ, सानिमा, गुराँस, सिटिजन, महालक्ष्मी, रिलायन्स, सन नेपाल लाइफ, प्राइम, यूनियन लाइफ, ज्योति लाइफ, रिलायबल नेपाल, प्रभु र आईएमई लाइफ रहेका छन् । उनीहरुले हालको चुक्ता पुँजी बढाएर न्यूनतम ५ अर्ब रुपैयाँ पुर्याउने गरी प्लान पेश गरेका हुन् ।
यस्तै, निर्जीवन बीमातर्फ शिखर, नेपाल, सगरमाथा, एभरेष्ट, सानिमा जनरल, आईएमई जनरल, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, अजोड, जनरल, हिमालयन जनरल, प्रिमियर, प्रभु, एनएलजी, सिद्धार्थ र यूनाईटेड इन्स्योरेन्स रहेका छन् ।
हालसम्म पुँजी वृद्धिको योजना नबुझाउनेमा जीवनतर्फ राष्ट्रिय बीमा संस्थान र निर्जीवनतर्फ दि ओरियन्टल, नेशनल, राष्ट्रिय बीमा कम्पनी रहेका छन् । जीवन बीमा कम्पनीले चुक्ता पुँजी साढे ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउने योजना बनाएर बीमा समितिमा पेश गरेका हुन् ।
भारतमा कर्पोरेट कार्यलय रहेका दि ओरियन्टल, नेशनलले पुँजी वृद्धि योजनाको लागि पहल गरिरहेको र नेपाल सरकारको स्वामित्वको राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीबाट कुनै जानकारी नआएको समितिका कार्यकारी निर्देशकले बताए ।
बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा तोकिएको चुक्ता पुँजी पुर्याउनलाई २०७८ चैत १० गते एक सूचना मार्फत एक महिनाभित्रमा पुँजी वृद्धिको योजना पेश गर्न निर्देशन दिएको थियो । सोहि अनुसार बीमा कम्पनीहरुले पुँजी वृद्धि योजना बुझाएका हुन् ।
हकप्रद अन्तिम विकल्प
कुन बीमा कम्पनीले कसरी तोकिएको चुक्तापुँजी पुर्याउँछन् भन्ने स्पष्ट नभएपनि हकप्रद अन्तिम विकल्प भएको बीमा समितिले जनाएको छ । बीमा कम्पनीहरु बलियो हुनुपर्छ भन्ने बीमा समितिको मुख्य उदेश्य भएकाले हकप्रद तोकिएको चुक्तापूंजी पुर्याउने अन्तिम विकल्प भएको बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बताए ।
उनकाअनुसार अन्य विकल्प सकिएर तोकिएको चुक्तापुँजी पुर्याउन केहि प्रतिशतले कमी भए मात्र हकप्रदको विकल्प रहनेछ तर तोकिएको चुक्तापुँजी पुर्याउनलाई हकप्रद नै पहिलो विकल्प भने हुनेछैन । यसअनुसार पनि धेरै बीमा कम्पनीले तोकिएको चुक्तापुँजी पुर्याउनलाई हकप्रदलाई पहिलो विकल्पको रुपमा प्रयोग गर्न पाउनेछैनन् ।
प्रतिक्रिया