कृष्ण के.सी, मानव संसाधन विभाग प्रमुख, मुक्तिनाथ विकास बैंक
सुनौलो भविष्य निर्माणका हिसावले हेर्दा बैंकिङ्ग क्षेत्र आकर्षक मानिन्छ । यसलाई एक स्मार्ट पेशाको रुपमा समेत लिईन्छ । नेपालमा हजारौंलाई रोजगारी दिने क्षेत्र मध्ये बैंक वित्तीय संस्थाहरु पनि अग्र स्थानमा आउने गर्दछन् । बैंक वित्तीय संस्थाहरुकै माझ पृथक छवी बनाउन सफल देशकै सबैभन्दा सहज, सवल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने लक्ष्यसहित स्थापना भएको मुक्तिनाथ विकास बैंकले अहिले १६ सय भन्दा धेरै कर्मचारीलाई प्रत्यक्ष रुपमा रोजगारीमा आवद्ध गराउन सफल भएको छ । अधिकांश बैंक वित्तीय संस्थाहरु शहरबाट गाउँ केन्द्रीत छन । मुक्तिनाथ विकास बैंक भने ग्रामीण क्षेत्रमामा स्थापना भई गाउँका कुनाकन्दरालाई पुर्ण रुपमा कब्जा जमाउँदै देशैभर शाखा सञ्जाल विस्तार गर्दै नेपालकै उत्कृष्ट र अब्बल विकास बैंक बन्न सफल भएको छ । आम नेपाली जनतामाझ वित्तीय सेवा विस्तार गर्ने हेतुले पछिल्लो पटक एकैसाथ ३२ वटा शाखा संचालनमा ल्याएको छ । विस्तारित शाखासहित नेपालभर करिव १७० वटा शाखा कार्यालयबाट विभिन्न बैंकिङ्ग सुविधाहरु सहज र सरल रुपमा प्रदान गर्दै आइरहेको छ । कुनै संस्थाको विकास र दिगोपनाको लागि कर्मचारी अत्यन्तै अपरिहार्य हुन्छ । अर्थात कर्मचारी भनेको संस्थाको सबैभन्दा ठुलो र महत्वपुर्ण सम्पत्ती पनि हो । कर्मचारीमा ज्ञान, सीप, क्षमता र दक्षतामा अभिवृद्धि जति हुन्छ त्यती नै संस्था सबल बन्दै जान्छ । मुक्तिनाथ विकास बैंकले पनि कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि समय समयमा कर्मचारीहरुलाई तालिम, गोष्ठि, अवलोकन भ्रमण जस्ता कार्यक्रमरु गर्दै आएको छ । मुक्तिनाथ विकास बैंकलाई नेपालकै उत्कृष्ट र अब्बल वित्तीय संस्था बनाउनका लागि योगदान दिने कर्मचारीहरुको कुशल व्यवस्थापन, परिचालन, कर्मचारीहरुको छनौट प्रक्रिया के कसरी हुन्छ भन्ने विषयहरुमा यसै संस्थाका मानव संसाधन विभाग प्रमुख कृष्ण केसीसँग बैंकिङ्ग समाचारका मनोज रेग्मीले गरेको कुराकानीः
हाल मुक्तिनाथ विकास बैंकमा कर्मचारीको संख्या कति छ ?
अहिले मुक्तिनाथ विकास बैंकमा करिव १६ सय भन्दा माथि कर्मचारीहरु कार्यरत छन । संस्थामा कर्मचारी नियुक्तिको प्रक्रियाहरु चलिरहने हुँदा संख्यामा थपघट भने हुन सक्दछ ।
एकैपटक ३२ शाखा उद्घाटन गर्दा कर्मचारीको संख्या पनि बढ्यो होला नि त ?
देशव्यपी शाखा संजाल विस्तार तथा सेवाग्राहीको हितको लागि यस बैंक सदैव प्रतिबद्ध रहेको हुदाँ हामी शाखा संजाल विस्तार गर्नेमा समेत अग्र स्थानमानै छौं । शाखा स्थापना पूर्व त्यस क्षेत्रको सम्भवाब्यता अध्ययन गरी नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृत प्राप्त भैसकेपछि शाखा स्थापनाको प्रकृया अघि बढ्छ र सोही समयमा नै आवश्यक दक्ष कर्मचारीहरुको ब्यवस्थापन गर्ने गर्दछौ । शाखा स्थापना गर्ने भन्ने तय भएदेखि नै कर्मचारी ब्यवस्थापनलाई पहिलो प्राथमिकता राखेका छौँ । कोभिड पश्चात भने हामीले नयाँ शाखाहरुको लागि पनि पुरानै शाखाहरुमा कार्यरत कर्मचारीहरुबाट नै ब्यवस्थापन गरेका थियौ भने केही आवश्यक कर्मचारीहरु भने नयाँ भर्ना प्रकृयाबाट समेत नियुक्ती गरेको हुदाँ केहि संख्यामा कर्मचारीहरु अवस्य पनि बढेको छ ।
कर्मचारीमा नभई नहुने ३ गुण
निष्ठा र सकारात्मक दृष्टिकोण (Integrity and Positive Attitude)
सिक्न खोज्ने प्रवृति (Learning Attitude)
अनुशासन र कार्यमा प्रतिबद्धता (Discipline and Commitment to work)
बैंकमा जागिर खान ईच्छुक हजारौं युवाहरुलाई अझ प्रोत्साहित गर्नका लागि के गर्नु पर्ला ?
पछिल्लो केही बर्ष यता हाम्रो देशमा बैंक वित्तीय संस्थाहरुको विस्तार तिव्र गतिमा भएको छ । यसले गर्दा धेरै रोजगारीका अवसरहरु सिर्जना पनि भएका छन् । अहिलेका धेरै युवाहरुले बैंकिङ्ग पेशालाई स्मार्ट पेशाको रुपमा लिने भएकोले पनि बैंकको जागिरमा अत्याधिक आकर्षण देखिन्छ । युवा पिडीलाई म के भन्न चाहन्छु भन्दा बैंकको जगिर मात्र नभएर जुनसुकै जागिरको लागि पनि आफुले पुर्व तयारी गर्नु पर्दछ । यो जागिरमा म रमाउन सक्छु कि सक्दिन ? यो जागिरमा मेरो भविष्य सुनिश्चित छ कि छैन ? यो जागिरबाट मेरो जिवनका आधारभुत आवश्यकताहरु पुरा हुन्छन कि हुँदैनन ? साथै मेरो भविश्य यो पेशा अंगाल्दा सहज र सफल रुपमा अघि बढाउन सकिन्छ या सकिन्न । यी प्रश्न आफुले आफुलाई गर्नुपर्छ । आफ्नो मनबाट यी प्रश्नको सकारात्मक उत्तर आयो भने त्यसपछि यसको बारेमा पूर्व तयार सुरु गर्नु पर्दछ । बैंकमा जागिर गर्नको लागि किताबी ज्ञानले मात्रै पुग्दैन । ब्यवहारिक ज्ञानको पनि त्यती नै खाँचो पर्ने हुन्छ । त्यसका साथ साथै आजको युगमा कम्प्युटर तथा सो सँग सम्बन्धीत ज्ञान, समुहमा साथिसंग काम गर्नसक्ने क्षमता, आफ्ना कुरा स्पष्टसँग राख्ने तथा सकारात्मक सोचाईको विकास भएको हुनुपर्छ । यी सम्पुर्ण कुराको पूर्व तयारी गरेर मात्र अघि बढ्नको लागि म सम्पुर्ण युवाहरुलाई सुझाव दिन चाहन्छु । क्षमतावान युवाहरुलाई मुक्तिनाथ विकास बैंकले सदैब हार्दिक स्वागत गर्दछ । सकारात्मक भावना सहित सच्चा मनले यो क्षेत्रामा म केही गरेरै देखाउँछु भन्ने दृढ संकल्पसहित प्रवेश गर्ने हो भने पछि फर्केर हेर्नु पर्दैन भन्ने लाग्दछ ।
आजको दिनमा बैंकले कस्तो ‘क्वालीटी’ भएको जनशक्ती खोजीरहेको छ त ?
बैंकले संस्था प्रति अपनत्व भाव भएको लगनशिल र ‘हार्ड वर्क’ लाई भन्दा पनि ‘स्मार्ट वर्क’ लाई प्राथमिकता दिने कर्मचारी खोज्दछ । संस्था र ग्राहकप्रति सकारात्मक धारणा राख्न सक्ने, जस्तो सुकै वातावरणमा पनि घुलमिल भई कार्य गर्न सक्ने कर्मचारीको खोजिमा हामी छौं । नयाँ–नयाँ कुरालाई सिक्न खोज्ने, नयाँ–नयाँ प्रविधिलाई आत्मसाथ गर्न सक्ने अर्थात सिक्ने र सिकाउन खोज्ने दुवै गुण भएका कर्मचारीहरु संस्थाका लागि आवश्यक हुन्छ । समस्या भन्दा पनि सम्भावनाको खोजि गर्ने सकारात्मक भावना भएका ब्यक्तिलाई नै बैंकले खोजिरहेको हुन्छ । बैंकमा दिगो रुपमा लामो समय सम्म कार्य गर्न सक्ने ब्यत्तिहरुको खोजिमा बैंकहरु हुने गर्दछन् । बैंकका जागिर खान इच्छुक कुनैपनि व्यक्तीसँग सामान्य बैंकिङ्ग दक्षता तथा ज्ञान भने हुनुपर्ने हुन्छ । कतिपय कुराहरु शैक्षिक रुपमा नै प्रयोग भएर आएका शब्दहरु हुन्छन । ग्राहकहरुसँग सुमधुर सम्बन्ध कायम गर्न सक्ने नम्र बोली, अनुशासन र लगनशिलता भएका ब्यक्तलाई बैंकले प्राथमिकतामा राख्ने गर्दछन् । यसको सार भनेको संस्थालाई मन्दिर र ग्राहकलाई भगवान सम्झेर कार्य गर्ने दक्ष जनशक्ति नै बैंक वित्तीय संस्थाका लागि आवश्य हुने गर्दछन् ।
‘कमर्सियल’ बैंकको भन्दा विकास बैंकहरुको तलब थोरै हुन्छ भन्छन् नि, यसमा तपाई के भन्नुहुन्छ ?
तपाँईले भन्नु भए जस्तै कर्मसियल बैंक र विकास बैंकमा सेवा सुविधामा भिन्नता अवश्य नै छ । तर, भिन्नता छ, भन्दैमा सबैमा त्यस्तो भिन्नता पनि छैन । हाम्रो बैंकको सेवा सुबिधा कतिपय वाणिज्य बैंक बराबर र अझै राम्रो पनि छ । तुलनात्मक रुपमा विकास बैंक भन्दा कर्मसियल बैंकको नै सेवा सुविधा धेरै भएको पाईन्छ । त्यो किन पनि हो भन्दा भनिन्छ नी,जति आम्दानी त्यती खर्च । त्यस्तै सेवा सुविधा भनेको बैंकको आम्दानी र नाफाले पनि धेरै फरक पार्दछन । कर्मसियल बैंकको कर्जा तथा निक्षेपको अकार विकास बैंकको तुलनामा धेरै ठुलो हुन्छ । कर्जा र बचत नै नाफाको मुख्य आधार हो, त्यसैले कर्मसियल बैंकहरुको नाफा विकास बैंकको तुलनामा माथि हुने हुँदा सेवा सुविधामा फरक पर्नु त स्वभाविक नै हो । पछिल्लो समयमा विकास बैंकहरु ले आफ्ना कर्मचारीलाई प्रदान गर्ने सेवा सुविधा पनि कमजोर भने छैन ।
मुक्तिनाथ विकास बैंकले कर्मचारीको मनोवल विकासको लागि के–के काम गरेको छ ?
कर्मचारीको मनोवललाई प्रभाव पार्ने केही तत्वहरु हुन्छन् । जसमा पहिलो तत्व भनेको काम गर्ने वातावरण हो । संस्था भनेको कर्मचारीको दोस्रो घर हो । एक दिनको लगभग ३५ प्रतिशत समय कर्मचारीले संस्थमा ब्यतित गर्नुपर्ने हुन्छ । त्यती धेरै समय ब्यतित गर्ने स्थानको वातावरण राम्रो भएन भने काम गर्न उत्साह मिल्दैन । हाम्रो संस्थामा काम गर्ने कर्मचारीहरुको लागि पारिवारिक वातावरण छ । हरेक कर्मचारीको सुख दुःखमा एकले अर्को लाई साथ सहयोग गर्ने, एउटाले आर्कोलाई आदर, सत्कार र सम्मान गर्ने परिपाटी छ । जसले गर्दा कर्मचारीमा अपनत्व र एक अर्काप्रति भाईचाराको सम्बन्ध स्थापित हुन जान्छ । दोस्रो तत्व कुनैपनि कर्मचारीले समय अनुशार आफ्नो प्रगति चाहन्छन् त्यसलाई मध्यनजर गर्दै हामीले आफ्नो काम, कर्तब्य र जिम्मेवारीलाई उत्कृष्ट तवरले निर्वाह गर्ने कर्मचारीहरुलाई सम्मान, पुुरस्कृत र पदोन्नती निश्चित समयमा नै गर्ने गरेका छौं । त्यस्तै कर्मचारीहरुको ब्यतित्व विकास विभिन्न किसिमका तालिम, गोष्ठी र अध्ययन भ्रमाणको अवसरहरु पनि प्रदान गर्दै आएका छौं । त्यस्तै अर्को महत्वपुर्ण तत्व भनेको कर्मचारीको सेवा सुविधा हो । त्यसमा पनि हामीले प्रतिश्पर्धी संस्थाको तुलनामा राम्रो गर्नुपर्छ भन्दै समय अनकुल वृद्धि गर्दै सन्तोषजनक सेवा सुविधाहरु प्रदान गर्दै आएका छौं ।
ग्राहक र बैंकरबीचको सम्बन्ध कस्तो हुनुपर्दछ ?
ग्राहक भनेको कुनैपनि संस्थाको आधार स्तम्ब हुन् । ग्राहक बिनाको संस्था कल्पना नै गर्न सकिँदैन । त्यसैले ग्राहक र बैंकरबीचको सम्बन्ध नङ्ग र मासुको जस्तै घनिष्ट सम्बन्ध हुनु पर्दछ । कर्मचारी आफ्ना ग्राहकलाई संस्थाले दिने सेवा सुविधाको बारेमा प्रष्ट पार्नु पर्दछ भने ग्राहक वर्गबाट पनि वित्तीय अनुशासनको पालन हुनुपर्दछ । ग्राहकको आवश्यकतालाई मध्येनजर गर्दै सहज र सरल किसिमले सेवा प्रदान गर्नु कर्मचारीको कर्तब्य हुन आउँछ । जुन संस्थाका ग्राहकहरु खुशी र सन्तुष्ट भई सेवा ग्रहण र संचालन गर्दछन्, त्यो संस्था र त्यस संस्थाको कर्मचारीको प्रगति दिन दुगुना, रात चौगुनाले हुने गर्दछ । हाम्रो संस्थाले पनि ग्राहकमैत्री सेवालाई नै प्राथमिकतामा राखि कार्य गर्दै आएका छौं । जहाँसम्म लाग्दछ हाम्रा अधिकांश ग्राहकहरु हाम्रो सेवाबाट सन्तुष्ट हुनु हुन्छ । जुन कुराको प्रमाणित संस्था स्थापनाको छोटो समयमा हासिल गरेको उपलब्धी ले नै गरेको छ ।
प्रतिक्रिया