नेपाल भित्रियो ‘रोयल ट्युलिप’, बुढानिलकण्ठमा लक्जरी रिसोर्ट स्थापना गर्दै

नेपाल भित्रियो ‘रोयल ट्युलिप’, बुढानिलकण्ठमा लक्जरी रिसोर्ट स्थापना गर्दै


काठमाडौं – नेपालको आतिथ्य क्षेत्रमा लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल ट्युलिपले काठमाडौंमा आफ्नो पहिलो रिसोर्ट स्थापना गर्ने भएको छ । यससँगै भारतीय रोयल ट्युलिपले नेपाल औपचारिकरुपमा प्रवेश गरेको छ । यो परियोजना क्लासिक भ्यू रिसोर्ट लिमिटेडले विकास गरेको हो ।

दक्षिण एसियामा सारोवर होटल्सले व्यवस्थापन गर्नेछ । यसले नेपाललाई विश्व लक्जरी यात्रा बजारमा थप महत्वपूर्ण बनाउने दिशामा ठूलो योगदान दिने कम्पनीको दाबी छ । यो परियोजनाको नेतृत्व मुकुन्दराज कुँवर र आशिष ढकाल तथा ग्लोबल इक्विटी फण्ड लिमिटेडका सह–संस्थापकले गरेका हुन् ।

दुवै जनाले रोयल ट्युलिपलाई नेपालमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । जसले यस क्षेत्रमा नयाँ लक्जरी मापदण्ड स्थापना गर्ने बताइएको छ । बुढानिलकण्ठमा अवस्थित यो लक्जरी रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल ३० मिनेटको ड्राइभमा पुग्न सकिन्छ ।

२६ रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्टले ७५ विस्तारित कोठाहरू, आधुनिक सुविधाहरू र नेपालको प्राकृतिक सौन्दर्यलाई एकीकृत गर्ने गरी डिजाइन गरिएको छ । पाहुनाहरूलाई ५०० जनालाई सेवा दिने बैंक्वेट हल, विश्व–स्तरीय स्पा, स्टीम रूम, निजी जकुजी, र अन्य वेलनेस सुविधाहरू उपलब्ध हुनेछ ।

सारोवर होटल्सका प्रबन्ध निर्देशक अजय बाकायाले नेपालको लक्जरी बजारमा ब्रान्डको प्रवेशमा उत्साह व्यक्त गरे । भारत, अफ्रिका, अष्ट्रेलिया, फ्रान्स, र बेलायतमा ४५ वर्षभन्दा बढीको अनुभव संगालेका बाकायाले सारोवर होटल्सको उल्लेखनीय वृद्धिमा महत्वपूर्ण योगदान समेत पुर्याएका छन् ।