महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ: अध्यक्ष ढकाल

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ: अध्यक्ष ढकाल


ललितपुर – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उनले भने, ‘कोभिड महामारी र रुस युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो ।’

‘त्यतिनै बेला फेरि यहाँ पनि श्रीलंकाको हावा छिराइयो । हामी नेतृत्वमा आएपछिको करिब डेढ बर्ष हामीले यसरी काम गर्यौँ कि अहिले भने आशा जागेको अवस्था छ । अर्थतन्त्र सुधारका संकेत देखिएका छन्,’ उनले भने ।

महासंघले नै आम मानिसमा देखिएको निराशाको अवस्था चिर्नका लागि सरकारसँगको सहकार्यमा कामको थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुनर्स्थापना गर्न सुधारका कामहरुको सुरुआत गरेर सरकारलाई दबाब दिएको ढकालको भनाई छ ।

महासंघकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेकाभन्दा फरक रहेको पनि उनको भनाई थियो । उनले भने, ‘पहिले दाताले प्रतिबद्धता गरे बमोजिमको लगानी आएन । किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ । कतिपय कानुनहरु नै बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्यौं ।’