कस्तो गतिविधी गरे लाग्छ साइबर क्राईमको मुद्दा ?

कस्तो गतिविधी गरे लाग्छ साइबर क्राईमको मुद्दा ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
कम्प्युटर वा कुनै पनि डिजिटल उपकरणको प्रयोग गरी हुने अपराधिक गतिविधीलाई साइबर क्राईम भनिन्छ । हामीले दैनिक प्रयोग गर्ने एपहरु जस्तै, फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालमा हरेक दिन कैयौं साइबर अपराधका गतिविधीहरु भईराखेका हुन्छन् ।

हामी मध्ये धेरै लाई बैंकको सर्भर ह्याक गर्ने, कम्प्युटरको माध्यमबाट पैसा चोरी गर्ने, सामाजिक सञ्जालमा कसैलाई पनि ठगी गर्ने जस्ता ठुला–ठुला अपराधिक गतिविधीहरु मात्रै साईबर क्राईम हुन जस्तो लाग्छ । तर त्यस्तो होईन, सामाजिक सञ्जालमा झुटो समाचार राख्ने देखि लिएर कसैको सहमती बिना उसको फोटो वा भिडियो बनाएर अनलाईनमा पोस्ट गर्ने, अरुको फोटोमा मिम् बनाउने, कसैको अपमान गर्न खोज्ने, धम्र्याउने, जिस्क्याउनुको साथै, कसैको शरिरलाई लिएर होच्याउने वा होच्याउन खोज्ने जस्ता गतिविधी पनि साईभर क्राईम भित्र पर्छन ।

“साईवर क्राईम भनेको के–हो ?” भन्ने बारेमा जानकारी नहुदा हामी पनि यसको हिस्सा बन्न पुग्छौं । कतिपय साईबर क्राइमका गतिविधीलाई हामी सामान्य सोचेर छोडिदिन्छौं । त्यसलाई रिपोर्ट गर्न जरुरी ठान्दैनौ । तर यिनै साना–साना कुराहरुलाई वास्ता नगर्दा हामीले प्रयोग गर्ने इन्टरनेट झन्–झन् असुरक्षित हुँदै गएको छ ।
 
हाम्रो लापरवाहीको कारणले वा जनचेतनाको कमीले हो, अथवा प्रभावकारी अनुगमनको कमीले पछिल्लो समय नेपालमा साईवर क्राईमको गतिविधी बढ्दै गएको देखिन्छ । अझ कोभिडले निम्त्याएको लकडाउन पछि त जति हाम्रो दैनिकी ईन्टरनेट सँग जोडिएको छ, त्यति नै मात्रामा साईवर क्राइमको घटनाको मात्रा उकालो लाग्दै गईरहेको छ ।