काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए अन्तर्राष्ट्रिय बजारमा पनि निर्यातमार्फत ब्रान्डिङ गर्न सकिने बताएका छन् ।
पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रर्बद्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राखे ।
अध्यक्ष ढकालले भने, ‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनको ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरु योजना बनाएर आउनुस्, हामी के गर्न सक्छौँ गर्छौँ ।’
अध्यक्ष ढकालले अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने पनि बताए ।
उनले पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधारको निर्माण गरी स्वदेश र विदेशका बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्नुपर्ने पनि बताए ।
प्रतिक्रिया