काठमाडौं – नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गरेका छन् । शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको पत्र पेश गरेका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले आजै परराष्ट्रमन्त्री राणासँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा नेपाल र जाम्बिया बीचको कुटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने र दुइ देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको बताइएको छ । जाम्बियाले खनिजजन्य उत्पादनमा फड्को मारेको बताउँदै जाम्बियाका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले त्यसलाई नेपालले आफ्नो अर्थतन्त्रका लागि सिकाइको रुपमा प्रयोग गर्न सक्ने बताएका छन् ।
यसैगरी, दुइ देशबीचको आर्थिक तथा कुटनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै लगानी विस्तार, द्विपक्षीय व्यापार प्रवद्र्धन तथा प्रविधि हस्तान्तरणका सम्बन्धमा पनि कुराकानी भएको छ । भेटमा परराष्ट्रमन्त्री राणाले जाम्बिया र नेपालको भौगोलिक अवस्था उस्तै उस्तै रहेको र जाम्बियाले खनिजजन्य उत्पादनबाट राम्रो उन्नति गरिरहेको बताउँदै नेपालले पनि त्यसका लागि आवश्यक प्राविधिक सहयोग चाहेको बताइन् ।
यसक्रममा नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत चन्दले जाम्बिया सरकार नेपाललाई आवश्यक सहयोग र सहकार्यको लागि प्रतिवद्धता जनाएको नेपालका लागि जाम्बियाका अवैतनिक महावाणिज्यदूत देशबन्धु बस्नेतले जानकारी दिएका छन् । नेपाल र जाम्बियाबीच १० सेप्टेम्बर १९८६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो ।
प्रतिक्रिया