पूर्वाधार सम्मेलनले नेपालको आधुनिक विकासको मार्गचित्र बनाउन सघाउँछ: अर्थमन्त्री

पूर्वाधार सम्मेलनले नेपालको आधुनिक विकासको मार्गचित्र बनाउन सघाउँछ: अर्थमन्त्री


काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल पूर्वाधार सम्मेलनले एक्काईसौं शताब्दीको आवश्यकता अनुरूपको आधुनिक, सुरक्षित र हरित पूर्वाधार विकासको मार्ग चित्र कोर्न ठोस योगदान दिने बताएका छन् । आजदेखि सुरु भएको दुई दिने पूर्वाधार सम्मेलनमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले नेपालको आधुनिक विकासको खाका तयार पार्न मार्गचित्र तयार गर्ने बताएका हुन् ।

‘समस्त नेपाली आकाङ्क्षा ‘समृद्ध नेपाल र सुखी नेपाली’ । सरकार यही नेपाली आकाङ्क्षा साकार पार्न अनवरत लागिरहेको छ,’ उनले भने, ‘समृद्ध नेपाल निर्माणको मूल आधार नै पर्याप्त, गुणस्तरीय, दिगो र उत्थानशील भौतिक पूर्वाधार विकास हो ।’

पूर्वाधार विकासका हिसाबले नेपाल कमजोर स्थितिमा रहेको बताउँदै अर्थमन्त्री पौडेलले भूपरिवेष्टित अवस्थिति र जटिल भू–बनौटलाई पूर्वाधार विकासको मुख्य चुनौतीको रूपमा लिने गरिएको बताए । ‘पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न हामीले नीतिगत तथा प्रक्रियागत सुधार गर्नु आवश्यक छ,’ उनले भने ।

सरकारी क्षेत्रको साथसाथै नवीन उपकरणहरूको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सरकार सवै प्रकारको सहजीकरण गर्न तयार रहेको अर्थमन्त्री पौडेलले बताए । ‘वर्तमानका चुनौतीहरूको सामना गर्दै भावी सम्भावनाहरूलाई उजागर गर्न आफ्ना नीति, योजना एवम् कार्यक्रमहरू तय गर्दै पूर्वाधार विकासको अभियानमा समाहित हुन चाहन्छौँ,’ उनले भने ।