काठमाडौं – उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् । आन्तरिक राजश्व विभागले एउटा सूचना जारी गर्दै उपभोक्तालाई मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।
अब विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताले मदिरा पिउने ठाउँ (बार)मा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याटको १० प्रतिशत फिर्ता पाउने छन् । यस्तै चमेनागृह र सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउसमा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत फिर्ता पाउनेछन् ।
ऐनमा कुनै वस्तु खरिद गरेर विद्युतीय माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहनस्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता पाउने व्यवस्था छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (१ख)मा यस्तो व्यवस्था छ । तर यसका लागि विभागले तोकेको मापदण्ड पुरा गर्नुपर्ने छ ।
यो व्यवस्था कार्यान्वयनका लागि विभागले यही भदौ २१ गते निर्णय गरेको थियो । सोही निर्णयबमोजिम छुट दिने भएको हो । मूल्य अभिवृद्धि करमा दर्ता भएर विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता यो प्रणालीमा आबद्ध हुन सक्नेछन् । यस्तै डेबिट/क्रेडिट कार्ड, क्यूआर, मोबाईल एपमार्फत भुक्तानी गर्ने सेवाग्राहीले करको १० प्रतिशत फिर्ता पाउने भएका हुन् ।
प्रतिक्रिया