‘फाइनान्स आर्मि’ले उचालेको एनएफएसको मूल्य घट्न थाल्यो, लगानीकर्ता फसेका हुन् ?

‘फाइनान्स आर्मि’ले उचालेको एनएफएसको मूल्य घट्न थाल्यो, लगानीकर्ता फसेका हुन् ?


काठमाडौं – ‘फाइनान्स आर्मि’ले घोषितरुपमा नै उचालेको नेपाल फाइनान्सको शेयर मूल्य घट्न थालेको छ । वित्तीय सूचक उत्कृष्ट नभएपनि अनौपचारिकरुपमा सञ्चालित ‘फाइनान्स आर्मि’ले अस्वभाविकरुपमा उचालेको फाइनान्सको शेयर मूल्य घट्न थालेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मै गिरावट आउन थालेसँगै नेपाल फाइनान्सको शेयर मूल्य समेत निरन्तर घट्न थालेको छ । यो कम्पनीले विगत एक दशकदेखि लगानीकर्तालाई लाभांस वितरण गरेको छैन । तर एक महिनाको अन्तरालमा मूल्य ८ सय ३६ रुपैयाँबाट प्रतिकित्ता २४ सय १८ रुपैयाँसम्म पुगेको थियो ।

यही साउन २८ गते कम्पनीको शेयर मूल्य प्रतिकित्ता २४ सय १८ रुपैयाँसम्म पुगेको थियो । यो नेपाल फाइनान्सको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि यो कम्पनीको शेयर मूल्य यो उचाईमा पुगेको थिएन । यो कम्पनीको मूल्य कारोबार अवधिमा २६ सय १४ रुपैयाँसम्म पुगेको थियो । साउन २९ गते कारोबार अवधिमा सो मूल्यसम्म पुगेपनि २१ सय ७८ रुपैयाँमा बन्द भएको थियो ।

कम्पनीको शेयर मूल्य असार २७ गते प्रतिकित्ता ८३६ रुपैयाँ थियो । त्यसको एक महिनाको अन्तरालमा अर्थात साउन २८ गतेसम्म आइपुग्दा १५ सय ८२ रुपैयाँ प्रतिकित्ताले मूल्य बढेको थियो । यो कम्पनीको शेयर मूल्य बढाउनका लागि लगानीकर्ताहरुको एउटा समूह घोषितरुपमा नै ‘फाइनान्स आर्मि’ बनाएर लागेको थियो ।

तर साउन २८ गते उच्च मूल्य कायम भएको कम्पनीको शेयर मूल्य त्यसयता निरन्तर घट्न थालेको छ । आज आइतबारको कारोबार बन्द हुँदासम्म कम्पनीको शेयर मूल्य १७ सय १९ रुपैयाँ प्रतिकित्तामा आइपुगेको छ ।

यो कम्पनीको शेयर पछिल्ला १० कारोबार दिनमध्ये ५ दिन घटेको छ । यससँगै २४ सय १८ रुपैयाँ प्रतिकित्ताको उच्च मूल्यबिन्दुबाट १७ सय १९ रुपैयाँमा आइपुगेको छ । कारोबार अवधिमा लगानीकर्ता यो कम्पनीको शेयर किन्न झुम्मेपनि मूल्य बढाउन भने सकेका छैनन ।

आजै कम्पनीको शेयर प्रतिकित्ता १८१ रुपैयाँ अर्थात ९.५३ प्रतिशतले घट्यो । यससँगै लगानीकर्ताहरुले बनाएको ‘फाइनान्स आर्मि’को चाहनाविपरित कम्पनीको शेयर ओरालो लाग्न थालेको छ । नेपाल फाइनान्सको शेयर मूल्यमा अस्वभाविक वृद्धि भएको भन्दै गत महिना प्रतिनिधि सभाका सांसद अमरेश कुमार सिंहले बैठकमा नै चिन्ता व्यक्त गरेका थिए ।

त्यसपछि लगानीकर्ताको समूहले सामाजिक सञ्जालमार्फत उनीमाथि निरन्तर आक्रमण गर्यो । सिंहले सोझासाझा लगानीकर्ता फस्ने जोखिम बढेको भन्दै सचेत गराएका थिए । तर लगानीकर्ताहरु भने लगानी गर्न चाहने व्यक्ती नफस्ने बताउँछन् ।

शेयर लगानीकर्ता छोटेलाल रौनियार कम्पनीको नाम ताकेपनि सांसद सिंहले व्यक्ती तोक्न नहुने बताउँछन् । उनी पनि सांसदले बढ्दो शेयर बजारमाथि सांसदले गर्ने यसप्रकारको टिकाटिप्पणी अनावश्यक रहेको बताउँछन् । उनी भन्छन्, ‘सांसदले कम्पनीको नाम समेत तोक्न पाउँदैनन् । तर कम्पनीको नाम तोकेपनि व्यक्तीको नाम तोक्न हुँदैन ।’

यस्तै नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरी भने बढ्दो बजारमा नवप्रवेशी लगानीकर्ता फस्ने जोखिम बढेको बताउँछन् । बजारमा चलखेल गर्ने समूहले शेयर मूल्य माथि पुर्याउने र नयाँ लगानीकर्ताले किनेपछि निस्कने चलन पुरानै भएको उनको भनाई छ । तर यस्तो अवस्थामा धितोपत्र बोर्डको अध्यक्ष खाली हुनु समेत गम्भिर भएको र बोर्डले कुनै कदम नचाल्नु झनै गम्भिर भएको उनको भनाई छ ।

पछिल्लो समय नेप्से परिसूचक निरन्तर घट्दो अवस्थामा छ । ३ हजार अंकको बिन्दुमा पुगेको परिसूचक यतिबेला घटेर २६ सय ९५ अंकको बिन्दुमा आइपुगिसकेको छ । यसअनुसार यही भदौ महिनाको कारोबार दिनमा नै नेप्सेले ४०० अंकभन्दा बढी गुमाइसकेको छ । यससँगै ४७ खर्ब रुपैयाँभन्दा माथि पुगेको नेप्सेको बजार पूँजीकरण समेत घटेर ४२ खर्ब ८१ अर्ब रुपैयाँमा आइपुगेको छ ।

बढ्दो बजारमा लाभांस दिन नसक्ने र नदिएका कम्पनीको शेयर किनेपछि लगानीकर्ता भने फसेका छन् । यसैको एउटा उदाहरणकारुपमा नेपाल फाइनान्सलाई लिन सकिन्छ । किनकी यो कम्पनीले अहिलेसम्म लाभांस वितरण गरेको छैन् । लाभांस वितरण गर्ने कम्पनीको शेयर उच्च मूल्यमा किनेर घटेपनि लाभांस आउने सम्भावना बढी हुन्छ । तर लाभांस नै नदिने कम्पनीको शेयर उच्च मूल्यमा किन्दा फस्ने जोखिम झनै बढी हुन्छ ।