‘नाडा अटो शो २०२४’ : ग्राहक तान्न बैंकहरुबीच चर्को प्रतिस्पर्धा, कस्ता छन् ‘स्किम’ ?

‘नाडा अटो शो २०२४’ : ग्राहक तान्न बैंकहरुबीच चर्को प्रतिस्पर्धा, कस्ता छन् ‘स्किम’ ?


काठमाडौं – भृकुटीमण्डपमा जारी १६औं ‘नाडा अटो शो २०२४’मा अटो कम्पनीसँग बैंकहरुले बाक्लो उपस्थिति जनाएका छन्। आफ्नो व्यवसायको मुख्य हिस्सा ओगटेको सवारी क्षेत्रमा कर्जा प्रवाह बढाउने लक्ष्यसहित बैंकहरुले शोमा आफ्नो स्टल नै राखेर उपस्थिति जनाएका हुन् ।

कोरोना महामारीयता समग्र अर्थतन्त्र शिथिलतामा आएका कारणले बैंकहरुको व्यवसाय नै खस्केको छ । यतिबेला बैंकहरुमा साढे ५ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएर बसेको छ । यही समयमा नाडा अटोमोबाइल्स एसोसिएसनको आयोजनामा सुरु भएको शोमा आउने ग्राहकलाई आफूतिर तान्नका लागि बैंकहरुले स्टल नै राखेका हुन् । 

नाडा अटो शोमा ८ वाणिज्य बैंक र एउटा विकास बैंक गरी शोमा ९ वटा बैंकको सहभागिता छ । यस्तै, शिखर इन्स्योरेन्स समेतको सहभागिता छ । यी कम्पनीले शोमा राखेको स्टलले सवारी किन्न चाहने ग्राहकलाई बैंकको ‘अटो लोन स्किम’ जानकारी गराउँदै आएका छन् ।

नाडाले नेपालीहरुको महान् चाडका रुपमा रहेको दसैं र तिहारको पूर्व सन्ध्यामा अटो शो आयोजना गरेको हाे । दसैं र तिहारमा धेरैजसो नेपालीले आफ्नै सवारी किन्ने योजना बनाएका हुन्छन् । यस्तै, यतिबेला अर्थतन्त्र चलायमान बन्ने तरखरमा छ । यही समयमा सवारी किन्न चाहने क्रेतालाई आफ्नो बैंकको योजना र सुविधा जानकारी गराउने लक्ष्य बैंकहरुको छ ।

११ गतेदेखि चलेको अटो शोमा ग्लोबल आइएमई, नबिल, सानिमा, माछापुच्छ्रे, लक्ष्मी सनराइज, कृषि विकास, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंकको उपस्थिति छ । यस्तै, शाेमा महालक्ष्मी विकास बैंकको समेत सहभागिता छ । यी बैंकहरुले नाडामा उपस्थिति जनाउने सम्भावित क्रेतालाई विशेष छुटसहितको स्किमबारे जानकारी दिइरहेका छन् ।

कस्तो छ बैंकहरुको ‘स्किम’ ?

नाडा अटोमा सहभागी बैंकहरुले ७.९९ प्रतिशतदेखि नै अटो लोन दिइरहेका छन् । हिमालयन बैंकले विद्युतीय गाडी र इन्धन गाडीको लागि छुट्टा–छुट्टै ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विद्युतीय गाडीको लागि ९.९६ र इन्धन गाडीको लागि ९.५१ प्रतिशत ८ वर्षको लागि सो ब्याजदर तोकेको हो । बैंकको कर्मचारी आँचल ढकाल बस्नेतका अनुसार बैंकले ईभीमा ८० प्रतिशत र नन् ईभीमा ५० प्रतिशत फाइनान्सिङ्ग गर्ने छ।

बस्नेतकाअनुसार कोरोना महामारी यता अर्थतन्त्र चलायमान नहुँदा नाडा अटो शो पनि नहुँदा बैंकहरुको लगानीमा संकुचन आएको थियो । तर, पछिल्लो वर्षबाट पुन शो सुरु हुँदा व्यवसाय बढ्ने अपेक्षा बैंकहरुको छ । त्यस्तै, नाडा अटो शो मा नबिल बैंकले ५ वर्षसम्मका लागि ८.२५ प्रतिशत र ७ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने भएको छ ।

यो अफर विद्युतीय र इन्धन दुवैका लागि हुने बैंकले जनाएको छ । बैंकले नबिल अटो लोन नामक फेस्टिभ अटो लोनको अफर ल्याएको छ । सस्टेनेबल बैंकिङ्गमा राम्रो योगदान दिँदै आएको नबिलले विद्युतीय गाडीहरुको लागि त्यहीअनुसारको फाइनान्सिङ्ग गरेको नबिल बैंकका एक कर्मचारीले जानकारी दिए । त्यसैगरी, माछापुच्छ्रे बैंकले नाडा अटो शो लक्षित विद्युतीय गाडीमा ७० प्रतिशत फाइनान्सिङ्ग गरिरहेको छ । बैंकले बेसरेटमा एक प्रतिशत प्रिमियम थप गरेर ब्याजदर तोकेको छ ।

बैंकले आफ्नो ८ प्रतिशतको बेसरेटमा १ प्रतिशत प्रिमियम थप गरेर ९ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । विद्युतीय गाडीको लागि ६ वर्षको लागि र इन्धनको लागि ८ वर्षको लागि फाइनान्सिङ्ग गरेको बैंकका कर्मचारी महेश चन्दले जानकारी दिए । उनकाअनुसार देशको आर्थिक क्षेत्र विस्तारै चलायमान हुँदै गएको अवस्थामा अटो लोनमा बैंकहरु केन्द्रित रहेका छन् ।

त्यस्तै, सानिमा बैंकले अटो ऋणमा ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजमा कर्जा दिने जनाएको छ । बैंकले बेसरेटमा २ प्रतिशत प्रिमियम जोडेर १०.५५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने भएको हो । साथै, लक्ष्मी सन्राइज बैंकले पनि नाडा अटो शो लक्षित विद्युतीय सवारी कर्जामा विशेष स्किम सार्वजनिक गरेको छ । बैंकले ७ वर्षको लागि ८.९९ प्रतिशत ब्याजदर तोकेको छ। बैंककी आरएम इना श्रीले लक्ष्मी सनराइज बैंकले विद्युतीय गाडीमा केन्द्रित भएर विभिन्न किसिमका स्किम सार्वजनिक गरेको बताइन् ।

ग्लोबल आइएमई बैंकले नाडा अटो शो लक्षित ग्रिन अटो लोन स्किम ल्याएको छ । बैंकले जसमा न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम ९.४९ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्ने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंककी कर्मचारी सजता श्रेष्ठले सस्टेनेबल फाइनान्सिङ्गको लागि नै ग्रिन अटो लोन स्किम ल्याएको जानकारी दिइन् । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि नाडा अटो विशेष स्किल ल्याएको छ ।

बैंकका कर्मचारी सुतेज रावलकाअनुसार बैंकले ८.६४ मा सवारी कर्जा दिएको छ । उनले पछिल्लो समय बेसरेट घट्दै जाँदा ब्याजदर पनि घटेको उल्लेख गरे । उनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा अरु बैंकमा जसरी एकै पटक धेरै ब्याजदर बढ्ने र घट्ने नभएको कारण सो बैंकबाट ऋण लिँदा ग्राहकलाई सहज हुने उल्लेख गरे । उनले पछिल्लो समय गाडीमा क्रेज बढेको समयमा गो ग्रिन अवधारणामा केन्द्रित बिजनेस गरेको बताए ।

नाडा अटो शोमा कृषि विकास बैंकले दुईवटा नयाँ स्किम सार्वजनिक गरेको छ । बैंकले ७.९९ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको हो । बैंकका कर्मचारी उपेन्द्र महतका अनुसार कृषि विकास बैंकले हाल निकै कम ब्याजदरमा अटो लोन प्रदान गर्दै आइरहेको छ । उनले व्यवसाय बढ्ने अपेक्षा रहेको बताए ।

नाडा अटो शो मा एक मात्रै विकास बैंकले उपस्थिति जनाएको छ । नाडामा उपस्थित हुने विकास बैंकमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकले नाडा अटो शो मा ९ दशमलव ९९ प्रतिशतको ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकका कर्मचारी निरज विष्टले विद्युतीय गाडीको लागि ५ वर्षका लागि ८० प्रतिशतसम्म र इन्धन सवारीको लागि ८ वर्षको लागि ५० प्रतिशत फाइनान्सिङ्ग गर्ने बताए ।