काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन)मा ३४ अर्ब ६९ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । राजश्व संकलनको तीव्र दबाबमा रहेको सरकारलाई सहयोग हुनेगरी साउन महिनामा राजश्व संकलन भएको हो ।
यस अवधिमा १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँको आयात भएको छ । यो गत वर्षको तुलनामा न्यून आयात हो । गत वर्षको तुलनामा चालू वर्षको पहिलो महिनामा ०.६७ प्रतिशतले आयात खुम्चिएको भन्सार विभागले जानकारी दिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा १ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँको वस्तु आयात भएको थियो । गत आर्थिक वर्षको साउन महिनामा सो मूल्य बराबरको आयात हुँदा ३२ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ भन्सार राजश्व उठेको थियो ।
यो वर्ष आयात घट्दा पनि भन्सार राजश्व बढेको तथ्यांकले देखाएको छ । गत वर्षको तुलनामा २ अर्ब ३६ करोड रुपैयाँले भन्सार राजश्व उठेको हो । राज्य संयन्त्रले भन्सार नाकामा कडाई गर्दा र चोरी पैठारी नियन्त्रणमा जोडबल गर्दा आयात घट्दा पनि राजश्व बढेको सरोकारवाला बताउँछन् ।
प्रतिक्रिया