दृष्टिविहीन बीमा अभिकर्ता बन्न पाउँछन् ?

दृष्टिविहीन बीमा अभिकर्ता बन्न पाउँछन् ?


काठमाडौं – आकर्षक रोजगारीको एउटा पाटोका रूपमा रहेको बीमा क्षेत्रमा धेरै युवाहरू अभिकर्ता र सर्भेयर बन्न रुचाउँछन् । बीमा व्यवसाय रोजगारी सृजना गर्ने प्रमुख व्यवसायहरूको सूचीमा पर्छ । तर, यो क्षेत्रमा दृष्टिविहीनहरूको संलग्नता भने देखिँदैन। दृष्टिविहीनहरू बीमा अभिकर्ता बन्न चाहेमा नियामयकी निकाय बीमा प्राधिकरणले यसको व्यवस्था गरेको छ । प्राधिकरणले सबै कम्पनीहरूलाई सो व्यवस्था कार्यान्वयन गर्न स्वीकृति दिएको छ ।

दृष्टिविहीनहरूले पनि बीमा क्षेत्रमा काम गर्न रुचि राखेमा योग्यता र कम्पनीको व्यवस्थाअनुसार काम गर्न पाउने व्यवस्था रहेको नेपाल बीमा प्राधिकरणका निर्देशक शुशील देव सुवेदीले बताउँछन् । नेपालको नागरिकता लिएका हरेक नागरिकले बीमा क्षेत्रमा अभिकर्ताको काम गर्न पाउने व्यवस्था रहेको उनले बैंकिङ्ग समाचारसँग बताए ।

दृष्टिविहीनहरूले पनि काम गर्न सक्ने र अर्को नागरिकका लागी ठूलो सहयोग गर्न सक्ने भएकाले पनि सो व्यवस्था निकै फलदायी हुने उनको भनाइ छ । साथै, दृष्टिविहीनले बीमा अभिकर्ता पेशालाई आफ्नो रोजिरोटी बनाउँछु भन्नुले अन्तर्राष्ट्रिय स्तरमा समेत ठुलो सन्देश जाने उनको भनाइ छ ।

उनी भन्छन्, ‘जो कोहीले पनि बीमा क्षेत्रमा काम गर्न सक्छन् र बीमा कम्पनीले आफ्नो खुसी दृष्टिविहीनहरूलाई रिजेक्सन गर्न पाउँदैनन् । दृष्टिविहीनहरूले बीमा क्षेत्रमा काम गर्न खोजेको अवस्थामा यो बीमा क्षेत्रको लागि सकारात्मक परिवर्तन र राम्रो कुरा हो ।’ ‘दृष्टिविहीनहरू अभिकर्ता बन्नका लागि कुनै पनि रोकताेक छैन । प्राधिकरणको नियमनमा कुनै दृष्टिविहीनहरू लगायत सबैलाई बराबरको योग्यता तोकिएको छ । जो कोही पनि बन्न सकिन्छ नियमन र योग्यता अनुसार,’ उनले थपे ।

यस्तो छ प्राधिकरणले गरेको अभिकर्ता सम्बन्धी व्यवस्था:

बीमा क्षेत्रमा घट्दो रोजगारी
आर्थिक वर्ष २०७८/७९ मा १२ हजार ३१ जनाले बीमा क्षेत्रबाट प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए । आर्थिक वर्ष २०७९/८० मा यो संख्या घटेर ११ हजार ४९६ मा आइपुग्यो । एक आर्थिक वर्षको अवधिमा बीमा क्षेत्रको रोजगारीमा आएको यो ४.४५ प्रतिशतको गिरावट हो ।

बीमा कम्पनीहरु आपसमा गाभ्ने र गाभिने नीतिमा लागेका यो क्षेत्रको रोजगारी कटौती भएको हुन सक्ने सरोकारवालाहरुको आँकलन् छ । बीमा व्यवसायमा बीमा मध्यस्थकर्ताको पनि महत्वपूर्ण भुमिका रहन्छ । बीमा अभिकर्ता र बीमा सर्भेयर बीमा व्यवसायमा प्रमुख मध्यस्कर्ता हुन् । २०७८/७९ मा २ लाख ९६ हजार ४०३ जना बीमा अभिकर्ताहरु बीमा व्यवसायमा संलग्न थिए । यो संख्या २०७९/८० मा ६.३३ प्रतिशतले घट्यो ।

यससँगै सो आर्थिक वर्षमा बीमा अभिकर्ताको संख्या २ लाख ७७ हजार ६२६ जनामा आइपुगेको थियो । त्यस्तै २०७८/७९ मा १ हजार २४० जना बीमा सर्भेयर बीमा व्यवसायमा संलग्न थिए । यसमा समेत गिरावट आएको बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ । यो संख्या १.८५ प्रतिशतले घटेर २०७९÷८० मा १ हजार २१७ जनामा आइपुगेको तथ्यांकले देखाउँछ ।

यस्तो छ २ आवको तथ्यांक:


बीमा कम्पनीले चाहेमा राख्न सक्छन् दृष्टिविहीन
कस्तो व्यक्तिलाई अभिकर्ता राख्ने भन्ने कुरा बीमा कम्पनीहरूको हातमा हुन्छ । अभिकर्ताहरूले बीमा कम्पनीको लागि काम गर्ने भएकाले बीमा कम्पनीले कसलाई सिफारिस दिने भन्ने अधिकार बीमा कम्पनीको नै हुन्छ । तर दृष्टिविहीनहरूको सहभागिता न्यून भएको कारण बीमा क्षेत्रमा पनि त्यस्ता व्यक्तिहरूले रुचि राख्दा बीमा बजारको लागि नै फलदायी रहेको एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले सुनिल वल्लभ पन्तले बताए ।

बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनले दृष्टिविहीनहरूलाई कसरी रोजगारी दिन सकिन्छ र ग्राहकहरूलाई कसरी विश्वसनीय तरिकाले बीमामा आवद्ध गराउन सकिन्छ भन्ने कुरामा कम्पनीले सोचिरहेको बताए । ‘यसमा बीमा प्राधिकरणले स्वीकृति दिन नपर्ने कुनै कारण नै छैन । बीमा कम्पनीबाट पनि उहाँहरूलाई अवसर दिनुपर्छ,’ उनी आफ्नो जीवनको सानो उदाहरण दिँदै भन्छन्, ‘मेरो एउटा दृष्टिविहीन साथी हामीभन्दा बढी प्रविधिको जानकार छ ।’

हामी आफ्नै बीमा गर्न पाउँदैनौं, अरुको कसरी गर्नु ?
बीमा क्षेत्रमा दृष्टिविहीनहरूले काम गर्न चासो राख्नु बीमा क्षेत्रकै लागि राम्रो हुने सरोकारवालाहरूको कुरा भएपनि दृष्टिविहीनहरूले आफ्नो जीवन बीमा नै गर्न नपाउने प्रावधान रहेको अपाङ्गता संरक्षण नेपालको अध्यक्ष विरोध खतिवडाले बताएका छन् । उनी भन्छन्, ‘बीमा अभिकर्ता भएर काम गर्न बीमा प्राधिकरण र बीमा कम्पनीले अनुमति दिए पनि हामीले हाम्रो बीमा गर्न पाउने व्यवस्था छैन ।’ यस्तो अवस्थामा अरुका बीमा कसरी गर्नु भन्दै उल्टै प्रश्न थप्छन् उनी ।

‘सबैभन्दा बढी बीमाको आवश्यकता हामीहरूलाई नै छ तर हामीहरूलाई नै अधिकारबाट बञ्चित गरिएको छ । यसमा हाम्रो अपाङ्गता समूहको आपति छ,’ उनले थपे, ‘यदि हाम्रो पनि बीमा गर्न पाउने व्यवस्था गरियो भने वा हामीले बीमा क्षेत्रमा काम गर्न रुची राखेको अवस्थामा सम्बन्धित निकायहरूले हामीलाई गर्ने व्यवहारमा फरक गरिएन भने हामी पनि काम गर्न उत्साहित हुने छाैँ ।’