साउन महिनामा निर्यात ९ प्रतिशतले घट्दा बढ्यो व्यापार घाटा

साउन महिनामा निर्यात ९ प्रतिशतले घट्दा बढ्यो व्यापार घाटा


काठमाडौं – साउन महिनामा १ खर्ब २८ अर्ब ३७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार चालू वर्षको पहिलो महिना गत वर्षको तुलनामा ०.६७ प्रतिशतले आयात घटेको हो ।

गत आर्थिक वर्ष १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको आयात भएको थियो । यस्तै साउन महिनामा नेपालबाट हुने निर्यातमा ९.६३ प्रतिशतको गिरावट आएको छ । यससँगै साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको निर्यात भएको छ ।

गत आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट १३ अर्ब ५२ करोड रुपैयाँको निर्यात भएको थियो । नेपालको आयात र निर्यात नै घटेपनि व्यापार घाटा भने बढेको छ । गत वर्षको यही अवधिको तुलनामा ०.३८ प्रतिशतले व्यापार घाटा बढेको हो ।

गत वर्ष १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ व्यापार घाटा थियो । जुन यो वर्षको पहिलो महिनामा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । नेपालको आयातको तुलनामा निर्यात धेरै घट्दा घाटा चुलिएको हो ।