कहाँ पुग्यो सीबीडीसीको निर्माण प्रक्रिया ?

कहाँ पुग्यो सीबीडीसीको निर्माण प्रक्रिया ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रामा बढिरहेको विश्वव्यापी ध्यानलाई केन्द्रमा राखेर ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ (सीबीडीसी) को तयारी तीव्र पारेको छ । सन् २०२६ देखि सीबीडीसी प्रयोगमा ल्याउने लक्ष्यसहित केन्द्रीय बैंकले यसको तयारी तीव्र पारेको हो ।

यतिबेला विश्वभरका केन्द्रीय बैंकले सीबीडीसीमा काम गरिरहेका छन् । त्यहीक्रमलाई पछ्याउँदै नेपालको केन्द्रीय बैंकले समेत सीबीडीसीको काम अघि बढाएको हो । केन्द्रीय बैंकले २०७९ सालमा आफ्नै सीबीडीसी बनाउने घोषणा गरेको थियो । त्यसअघि केन्द्रीय बैंकले ६ सदस्यीय समिति नै गठन गरेर एउटा अध्ययन नै गरेको थियो ।

सो अध्ययन कमिटिको निष्कर्ष बमोजम सीबीडीसी बनाउने गरी केन्द्रीय बैंक अघि बढेको छ । २०२६ सम्म सीबीडीसीको निर्माण प्रक्रिया सकेर २०२७ देखि प्रचलनमा नै ल्याउने तयारीमा नेपाल राष्ट्र बैंक छ । यसका लागि छुट्टै महाशाखा नै स्थापना गरिएको छ । सीबीडीसी निर्माण प्रक्रियामा हालसालै केन्द्रीय बैंक एक कदम अघि पुगेको छ ।

सीबीडीसीको प्रोटोटाइम (नमुना प्रणाली) तयार पारेसँगै केन्द्रीय बैंक एक कदम अघि बढेको हो । सीबीडीसी महाशाखाका प्रमुख कृष्णराम धुँजुले हालसालै तयार पारिएको नमूनालाई परिमार्जन गरेर सिमित विशेषतासहितको प्रारम्भिक संस्करणका रुपमा विद्युतीय मुद्रा तयार पारिने बताए । उनका अनुसार अध्ययनका क्रममा हाल भुक्तानी प्रणालीमा, बैंकिङ्ग सिस्टममा भएका समस्याहरु समाधान गर्न सीबीडीसीको आवश्यकता भएको देखिएपछि प्रक्रिया अघि बढाइएको हो ।

‘केन्द्रीय बैंक, आईएमएफ, एसियाली विकास बैंक, विश्व बैंकले अनुसन्धान गर्दा वित्तीय साक्षरता, भुक्तानी प्रणली, प्रभावकारिता लगायतका विषय छन्,’ धुँजुले भने, ‘सबै कुरा विद्युतीय भएपछि कुनै प्रकारको भुक्तानी प्रणालीमा जोडिनै पर्छ ।’ सीबीडीसी प्रणाली राष्ट्र बैंकले सिधै प्रयोगकर्तालाई डिजिटल मुद्रा उपलब्ध गराउने नभई बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध गराउने मोडलमा अनुसन्धान गर्दैछ ।

सुरुवाती चरणमा सीबीडीसीलाई सामान्य कारोबारमा प्रयोग गर्ने तयारीसहित केन्द्रीय बैंकले काम गरिरहेको छ । ‘हामीले बेस प्रोटोटाइप भर्सन ०.१ विकास गरिसकेका छौं । यो होलसेल र रिटेल दुवै प्रकारको सीबीडीसीका लागि प्रयोग गर्न सकिन्छ,’ धुँजू भन्छन्, ‘ब्लकचेन हाइपरलेजर फ्याब्रिक प्लेटफर्म पूर्वाधारमा बनेको छ ।’ यद्यपी यसमा सुरुमा कति रकम राख्न पाइने-नपाइने भन्ने ‘क्याप’ निर्धारण भइसकेको छैन ।

के हो सीबीडीसी ?
सीबीडीसी केन्द्रीय बैंकद्वारा जारी र विनियमित देशको आधिकारिक मुद्राको एक डिजिटल रूप हो । सीबीडीसी केन्द्रीय बैंकले निष्काशन गरेको कागजी मुद्राको डिजिटल स्वरुप मात्रै हो । सीबीडीसी आइसकेपछि ‘पेमेन्ट इकोसिस्टम’मा नयाँ फाइनल सेटलमेन्ट एसेस्ट थपिने विज्ञको बुझाई छ । सीबीडीसी जारी गर्दा विद्यमान नीतिका संरचनाहरुलाई केही हानी गर्न नहुने र अहिलेको संरचना जसरी चलिरहेको छ त्यसरी नै सीबीडीसी आउनुपर्छ भन्ने मान्यता रहेको छ ।

यसको सुरुवात बैंक अफ इङ्ल्याण्डका डेपुटी गभर्नर बेन ब्रोडबेन्टले सन् २०१६ मा प्रयोग गरेसँगै यस शब्दको चर्चा सुरु भएको थियो । तर यसको सुरुवात भने सन् १९९० को दशकमा फिनल्याण्डको केन्द्रीय बैंकले ई–मनी कार्ड जारी गरेपछि भएको देखिन्छ । भारतीय रिजर्भ बैंकले आफ्नो सीबीडीसीको नाम ‘ई–रुपी’ राखेको छ तर हालसम्म नेपाल राष्ट्र बैंकले जारी गर्ने सीबीडीसीको नाम भने तय भएको छैन ।

सीबीडीसी मुद्रा निष्कासन गर्न अधिकारप्राप्त निकायले जारी गरेको हुन्छ । सीबीडीसीमा मुद्रा निष्कासन गर्ने अधिकारीले नियमानुसार सुरक्षण राखेको हुन्छ । सीबीडीसी आएपछि बैंकहरुले नयाँ–नयाँ भुक्तानीका उपकरणहरु थप गर्न सक्ने केन्द्रीय बैंकको अपेक्षा छ । तर यो क्रिप्टो करेन्सी जस्तो भने होइन । क्रिप्टोमा विश्वका कुनै पनि बैंकको नियन्त्रण नभई निर्माणकर्ता कम्पनी वा व्यक्तीको नियन्त्रण रहन्छ । सीबीडीसीमा भने राष्ट्र बैंकको नियन्त्रण रहनेछ ।