प्रयोगकर्ताको प्राथमिकतामा ‘मोबाइल बैंकिङ्ग’, डिजिटल वालेटलाई चुनौती

प्रयोगकर्ताको प्राथमिकतामा ‘मोबाइल बैंकिङ्ग’, डिजिटल वालेटलाई चुनौती

निकेश खत्री
126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वाणिज्य बैंकले आफ्नो सेवाको दायरा बढाउँदै लैजाँदा नेपालमा सञ्चालित मोबाइल वालेट कम्पनीहरुको भविष्य नै संकटमा पर्ने जोखिम बढेको छ । आफ्ना ग्राहकलाई बैंकहरुले मोबाइल बैंकिङ्गमार्फत डिजिटल बैंकिङ्गको सेवा दिँदै आएका छन् । यहीकारण सञ्चालनमा रहेका दुई दर्जनभन्दा बढी वालेटको भविष्य जोखिममा पर्न थालेको हो ।

नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त २६ वटा वालेट कम्पनी सञ्चालनमा छन् । यीमध्ये अवैध सुन तस्करीमा संलग्न भएको पाइएपछि दुई वटा कम्पनीको अनुमति रोक्का छ । सुन तस्करीमा संलग्न रहेको पाइएपछि अनुसन्धानका लागि केन्द्रीय बैंकले पेवेल नेपाल र सजिलो पेको सञ्चालन खाता रोक्का गरेर राखेको हो ।

यीबाहेक यतिबेला अन्य २४ वटा वालेट कम्पनीले आफ्ना सेवाग्राहीलाई सेवा दिइरहेका छन् । तर प्रयोगकर्ताको रुची र कारोबारको तथ्यांक केलाउँदा वालेटको भविष्य नै संकटमा पर्न थालेको हो । नेपालमा सन् २००९ बाट ईसेवाले वालेटकारुपमा प्रयोगकर्तालाई ‘डिजिटल पेमेन्ट’ सेवा सुरु गरेको थियो । त्यसयताका वर्षमा वालेटको संख्या २६ (खाता रोक्का भएका २ वटासहित) पुगिसकेको छ ।

वालेटले विशेषगरी प्रयोगकर्तालाई डिजिटलरुपमा भुक्तानीको सुविधा दिँदै आइरहेका छन् । रिचार्जकार्डदेखि बिजुली, पानी, बस तथा हवाईजहाजको टिकट, विद्यालय फी लगायत सम्पूर्ण भुक्तानी वालेटबाट गर्न सकिन्छ । वालेटले सेवा दिन थालेपछि पानी र बिजुलीको बिल तिर्ने लाईन आधाभन्दा बढीले घटेको थियो । यस्तै यतिबेला ट्राफिक प्रहरीको जरिवानासमेत वालेटबाटै तिर्न सकिन्छ ।

वाणिज्य बैंक र विकास बैंक र वित्त कम्पनीहरुले समेत आफ्नै मोबाइल बैंकिङ्ग एप सञ्चालनमा ल्याइसकेका छन् । आफ्ना सेवाग्राहीको सहजताका लागि भन्दै यी वित्तीय संस्थाहरुले आफ्नै एप्स सञ्चालनमा ल्याएर कारोबार गर्न मिल्ने बनाएका छन् । वालेटले दिने सामान्य कारोबारको सुविधा सबैजसो बैंक तथा वित्तीय संस्थाको मोबाइल एपबाट ‘डिजिटल बैंकिङ्ग’कारुपमा सञ्चालनमा छन् ।

यहीकारण वालेटमा रकम ‘लोड’ गरेर बस्नुको साटो मोबाइल बैंकिङ्गबाटै प्रयोगकर्ताले भुक्तानी गर्न थालेका छन् । खासगरी मोबाइल वालेटसँग आफ्नै रकमको स्रोत हुँदैन । प्रयोगकर्ताले आफ्नो बैंक खाताबाट डिजिटलरुपमा वालेटमा रकम लोड गर्नुपर्छ । र, लोडपछि विभिन्न माध्यममा खर्च गर्छन् । तर त्यही भुक्तानीको माध्यम बैंकहरुले नै दिन थालेपछि प्रयोगकर्ताले वालेटमा रकम लोड गर्नै घटाएका छन् । फलस्वरुपः अर्बौ रुपैयाँको लगानीमा तयार भएका वालेटको सञ्चालन नै जोखिममा पर्ने सम्भावना बढेको हो ।

प्रयोगकर्ताको रोजाईमा मोबाइल बैंकिङ्ग

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा प्रयोगकर्ताको रोजाईमा मोबाइल बैंकिङ पर्न थालेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षभरीमा विद्युतीय माध्यमबाट भएको कूल कारोबारको तथ्यांकबाट यस्तो देखिएको हो । सो तथ्यांकबमोजिम गत आर्थिक वर्षभरीमा मोबाइल बैंकिङ्गबाट कूल ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको छ ।

यस्तै वालेटबाट ३१ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ । यो मोबाइल बैंकिङ्गमार्फत भएको कारोबारको तुलनामा ३ खर्ब ४२ अर्ब ६७ करोड रुपैयाँ कम हो । कारोबार (ट्रान्जेक्सन)का आधारमा समेत मोबाइल बैंकिङ्गको तुलनामा वालेट धेरै नै पछि परेको देखिन्छ । एक वर्षको अवधिमा मोबाइल बैंकिङ्गमार्फत भएको कूल ४ करोड ५६ लाख पटक ट्रान्जेक्सन भएको छ। जबकी वालेटमार्फत ३ करोड १२ लाख पटकमात्रै ट्रान्जेक्सन भएको छ । यो १ करोड ४४ लाख पटकले कम ट्रान्जेक्सन हो ।

कुन माध्यमबाट कति कारोबार ?

विभिन्न १५ वटा माध्यमबाट विद्युतीय भुक्तानी हुँदै आइरहेको छ । आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) मार्फत ६४ खर्ब ५१ अर्ब रुपैयाँको कारोबार भएको थियो । यस्तै एटीएममार्फत ९१ अर्ब २६ करोड रुपैयाँ, इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी)मार्फत ६ खर्ब ७२ अर्ब रुपैयाँको कारोबार भएको छ ।

यस्तै, इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस)मार्फत ३ खर्ब ५९ अर्ब रुपैयाँ, कनेक्ट आईपीएसमार्फत ६ खर्ब ६६ अर्ब रुपैयाँको कारोबार भएको छ । डेबिट कार्डमार्फत ९५ अर्ब २६ करोड, क्रेडिट कार्डमार्फत २ अर्ब ७ करोड, प्रिपेड कार्डमार्फत ७६ करोड कारोबार भएको छ । यसबाहेक इन्टरनेट बैंकिङ्गमार्फत १७ अर्ब ७३ करोड, ब्रान्चलेस बैंकिङ्गमार्फत १ अर्ब ६४ अर्ब रुपैयाँको कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ ।

यता, क्यूआरमा आधारित पेमेन्ट सिस्टममार्फत ६१ अर्ब ७३ करोड रुपैयाँको कारोबार हुँदा प्वाइन्ट अफ सेल्स (पीओएस)मार्फत ५ अर्ब ९२ करोड र ईकमर्समाध्यमबाट ९१ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, मोबाइल बैंकिङ्गबाट ३ खर्ब ७३ अर्ब रुपैयाँ र वालेटमार्फत ३१ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको तथ्यांकले देखाउँछ । यसबाट मोबाइल बैंकिङ्गमार्फत हुने कारोबार रकम बढ्दै गइरहेको देखिन्छ ।

के भन्छन् वालेट कम्पनी ?

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का मोबाइल वालेटले आफ्नो व्यवसायीक रणनीति बदल्नुपर्ने बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा खड्का भन्छन्, ‘मोबाइल बैंकिङ्ग र वालेटबीच तुलना गर्न मिल्दैन ।’ वालेटले सर्वसाधारणको सानोसानो कारोबारमा सघाउने उनको भनाइ छ । यद्यपी पछिल्लो समय वालेटको चुनौती बढ्दै गएको भने उनी स्वीकार्छन् ।

खासगरी, मोबाइल वालेटमा पैसा लोड गर्न पनि मोबाइल बैंकिङ्ग नै चाहिन्छ । यस्तै, वालेटले गर्ने काम सबै मोबाइल बैंकिङ्गले नै गर्न थाले । जसकारण मोबाइल बैंकिङ्गकाे कारोबार रकम बढी भएपनि ट्रान्जेक्सनमा धेरै फरक नरहेको खड्काको भनाई छ । कारोबार रकमको अन्तर खर्बमा रहेपनि ट्रान्जेक्सनको अन्तर करोडमा छ । यसबाट पनि वालेट सानोसानो कारोबारका लागि उपयोगी बनिरहेको देखाउँछ ।

यसबाहेक मोबाइल बैंकिङ्गमार्फत कारोबारका लागि धेरै बैंक तथा वित्तीय संस्था रहेको र वालेटको संख्या न्यून छ । दर्ता २६ वटा भएपनि सक्रिय कारोबार गर्ने वालेटका संख्या सिमित छन् । यसकारण पनि कारोबार रकममा ठूलो अन्तर देखिएको खड्का बताउँछन् । ‘तरपनि वालेटले आफ्नो व्यवसायीक रणनीति फेर्नै पर्ने देखिएको छ,’ उनले थपे ।

यस्तै, माई पेका बिजनेस एण्ड मार्केटिङ प्रमुख रोसन सिग्देल समेत वालेटले आफ्नो व्यवसायको रणनीति फेर्न पर्ने बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनी भन्छन्, ‘वालेटले आफ्नो रणनीति फेर्नै पर्छ ।’ तर केन्द्रीय बैंकले समेत व्यवसाय विस्तार र नयाँ इनोभेसनमा सहयोग गर्नुपर्ने सिग्देलको भनाइ छ । ‘कुनै नयाँ काम गरौं भनेर सोचेपनि राष्ट्र बैंकले अनुमति दिँदैन,’ उनी थप्छन्, ‘नयाँ योजना अघि सार्न नदिएपछि व्यवसायमा पछाडि पर्ने नै भयो ।’

कति वटा छन् वालेट ?

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म कूल २६ वटा कम्पनीले वालेटको लाइसेन्स लिएका छन् । यी कम्पनीहरुले पेमेन्ट सर्भिस प्रोभाइड (पीएसपी)कारुपमा सञ्चालन अनुमति लिएकाहुन् । यसबाहेक ९ वटा कम्पनीले पेमेन्ट सिस्टम अपरेटर (पीएसओ)को अनुमति लिएका छन् । यीमध्ये वालेटमा केन्द्रीत हुँदा २०७४ सालदेखि लाइसेन्स लिन थालेका थिए ।

आईएमई डिजिटल सोलुसन र ईसेवाले एकै वर्ष लाइसेन्स लिएका थिए । सन् २००९ मा स्थापना भएपनि ईसेवाले वालेटको लाइसेन्स भने आईएमईपछि लिएको थियो । त्यसपछि सेलकम, सीजी पे, खल्ती, पे नेप, क्यू पे, नेपाल पे टाइम, स्मार्ट कार्ड नेपाल, प्रभु टेक्नोलोजी, फोकस वान पेमेन्ट, कुराकानी पे, पेवेल नेपाल, गोल्डमाइन बिजनेस ग्रुप, वी पे लगायतले लाइसेन्स लिएका छन् ।

यस्तै, फिनटेक इन्टरनेश्नल, लेन्देन पे, डिजि पे, नेपाल ई बिज, आई पे, आईक्यास, नेपाल डिजिटल पेमेन्ट कम्पनी, सुलभ पे, छिटो पैसा, सजिलो पे र सिटि वालेटले समेत वालेटको अनुमति लिएका छन् । यीमध्ये सिटिले सबैभन्दा पछि लाइसेन्स लिएको थियो । सञ्चालनको अनुमति २६ वटाले लिएपछि व्यवसायीकरुपमा सेवा दिँदै आएका कम्पनीहरुको सूची सीमित छ ।

विद्युतीय भुक्तानीमा बानि पर्दै प्रयोगकर्ता

मोबाइल बैंकिङ्गको प्रयोगकर्ता बढ्दै गएपनि समग्रमा विद्युतीय भुक्तानीको माध्यमबाट कारोबार गर्नेको संख्या बढ्दो अवस्थामा छ । तथ्यांकअनुसार पछिल्लो १ वर्षमा वालेटको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा वालेट प्रयोगकर्ताको संख्या २३.८६ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा वालेट प्रयोगकर्ता १ करोड ८९ लाख ४१ हजार ७९३ रहेकोमा गत आवमा बढेर २ करोड ३४ लाख ६१ हजार १०७ पुगेको छ ।

यस्तै, समिक्षा वर्षमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या ५८.०३ प्रतिशतले बढेर २ करोड ४६ लाख नाघेको छ । अघिल्लो वर्ष मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड १३ लाख ६३ हजार ९८९ रहेको थियो । मोबाइल बैंकिङ्गबाट कारोबार भएको रकम भने ६०.१६ प्रतिशतले बढेर ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

क्यूआरमा आधारित भुक्तानीमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । क्यूआरको माध्यमबाट भएको कारोबारको संख्या ११३.२० प्रतिशतले बढेर २ करोड ८ लाख २५ हजार नाघेको छ । यो तथ्यांकले समग्रमा सेवाग्राहीहरूकाे विद्युतीय भुक्तानीमा बानी पर्न थालेको दर्शाउँछ ।