एक वर्षमा सेवा आम्दानी ५५ अर्ब ८६ करोडले घाटामा

एक वर्षमा सेवा आम्दानी ५५ अर्ब ८६ करोडले घाटामा


काठमाडौं – नेपालको सेवा व्यापार ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकअनुसार झण्डै ५६ अर्ब रुपैयाँले सेवा क्षेत्रको व्यापार घाटामा देखिएको हो ।

अघिल्लो वर्ष खुद सेवा आम्दानी ७९ अर्ब ८९ करोड रुपैयाँले घाटामा थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा भने सेवा आय घाटा घटेको देखिन्छ । यद्यपी एकै वर्षमा सेवा आम्दानी ५५ अर्ब ८६ करोड रुपैयाँको घाटा ठूलो हो ।

समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय ३२.१ प्रतिशतले बढेर ८२ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ३० करोडले बढेको थियो । तथ्यांकमा सेवा भ्रमण आयको तुलनामा भ्रमण व्यय बढी छ ।

समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतको वृद्धि छ । सो वृद्धिसँगै १ खर्ब ८९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ३० करोड रुपैयाँ थियो ।

यसमध्ये शिक्षातर्फको व्यय १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ छ । अघिल्लो वर्षको भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ थियो ।