काठमाडौं – नेपाली कांग्रेससँगको साझेदारीमा बनेको नयाँ सरकारले व्यापकरुपमा कर्मचारी सरुवा गरेको छ । केपीशर्मा ओली नेतृत्वको सरकारले सुरुमा सचिवको सरुवा गरेको थियो । यसपछि ४८ जना सहसचिवको समेत सरुवा गर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गर्यो ।
मन्त्रीपरिषद्को बैठकले एकैसाथ ४८ जना सहसचिव फेरेपछि अर्थमन्त्रालयले समेत व्यापकरुपमा कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूअनुकुलका कर्मचारीलाई मन्त्रालय मातहतका निकायमा फेरबदल गरेका हुन् ।
असार ३१ गते मन्त्रालयको बागडोरको जिम्मेवारी सम्हालेका पौडेलले त्यसयता पहिलोपटक एकैसाथ ठूलो मात्रामा कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो । यससँगै भन्सार विभागको महानिर्देशकमा हरिशरण पुडासैनी आएका छन् ।
यस्तै आन्तरिक राजश्व विभागको महानिर्देशकमा रामप्रसाद आचार्य आउँदा डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ । गोपीकृष्ण कोइरालाले आन्तरिक राजस्व विभाग उपमहानिर्देशकको जिम्मेवारी पाउँदा रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनेका छन् ।
यस्तै दीपक लामिछाने विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक बनेका छन् । कविता रेग्मीले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएकी छिन् ।
यस्तै मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी पार्वती शर्मालाई तोकिएको छ । यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मा भन्सार विभागको उपमहानिर्देशकको भूमिकामा पुगेका छन् ।
त्यसैगरी उत्तरकुमार खत्री अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाल अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनी अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखामा पुगेका छन् । महेश भट्टराई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साल अर्थ मन्त्रालय अन्तर्गतको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।
यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।
प्रतिक्रिया