साउनमा सरकारले गर्यो ९६ अर्ब ९५ करोड आम्दानी, ४० अर्ब २० करोड खर्च

साउनमा सरकारले गर्यो ९६ अर्ब ९५ करोड आम्दानी, ४० अर्ब २० करोड खर्च


काठमाडौं – चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मा सरकारले गरेको खर्चभन्दा बढी आम्दानी गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा साढे ३ खर्ब रुपैयाँभन्दा बढी बजेट घाटामा थियो । तर चालू वर्षको पहिलो महिनामा नै सरकारले खर्चभन्दा धेरै आम्दानी गरेको हो ।

साउन महिनाको मसान्तसम्ममा सरकारले ९६ अर्ब ९५ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । जबकी, सोही अवधिमा राज्यकोषबाट ४० अर्ब २० करोड ७६ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

यो ५६ अर्ब ७५ करोड नाफा हो । नेपाली कांग्रेस र नेकपा एमाबीच गत असार १७ गत सत्ता साझेदारीको समझौता भएको थियो। सोअनुसार असार अन्तिम दिन केपीशर्मा ओली नेतृत्वको सरकार गठन भएको थियो ।

सोही दिन अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको मूख्य ध्यान नै स्रोत जुटाउने र अर्थतन्त्र चलायमान बनाउने बताएका थिए । पहिलो महिनाको सरकारको आम्दानी र खर्चको विवरण हेर्दा यहीअनुरुप सरकार अघि बढेको देखिन्छ ।

चालू आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको छ । यस्तै, १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ आकारको बजेट ल्याएको छ । यसका लागि ५ खर्ब रुपैयाँ आन्तरिक तथा बाह्य ऋण संकलनको लक्ष्य सरकारले बनाएको थियो ।

१४ खर्ब ७१ अर्ब राजश्व संकलनका लागि प्रति महिना १ खर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गर्नुपर्छ । तर, यो महिना ९६ अर्ब ९५ करोड रुपैयाँ बराबरको मात्रै राजश्व संकलन भएको महालेखाले जानकारी दिएको छ । यो लक्ष्यको ६.५९ प्रतिशत हो । यस्तै, सरकारले गरेको खर्च लक्ष्यको २.१६ प्रतिशत भएको बताइएको छ ।