शेयर बजारमा बढ्दो आकर्षण, के के छन् नियामकका चुनौती ?

शेयर बजारमा बढ्दो आकर्षण, के के छन् नियामकका चुनौती ?

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो समय शेयर बजारमा आम मानिसको चासो निकै बढेको छ । शेयर बजार समाजको आधारभूत वर्गसम्म फैलिदै छ ।

शेयर बजारमा लगानी गर्नका लागि अहिले ५० लाख २० हजार भन्दा बढीले डिम्याट खाता खोलिसकेका छन् । गत आर्थिक बर्षको असारसम्म यस्तो खाता खोल्नेको संख्या करिब ३७ लाख मात्र थियो ।
त्यस्तै, नेप्सेका अनुसार मेरो शेयरको संख्या ४१ लाख ३४ हजार भन्दा बढी छ । केही बर्ष अघि सम्म उद्यमी, व्यवसायी र बजारबारे जानकार सिमित व्यक्तिहरुको मात्र उपस्थिति रहेको शेयर बजारमा अहिले किसान, मजदुर, बिद्यार्थी, ग्रीहणी लगायतको प्रवेश छ । यसले वित्तिय साक्षरता समेत बढाउदै लगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सिइओ कृष्ण बहादुर कार्की भन्नुहुन्छ, “अहिले शेयर बजारतिर हेर्दा ५० लाख भन्दा बढी डिम्याट एकाउन्ट खुलीसकेको छ । १२ लाख भन्दा बढीले अनलाईन मार्फत शेयर कारोबार गर्ने गरेको अवस्था छ । हामीले विगत २ बर्ष यता मानिसको रुचि हेर्दा शेयर बजारमा चासो निकै बढीरहेको छ । नेप्सेले अग्रपंतिमा रहेर सेवा प्रदान गर्ने र नियमन पनि गर्ने काम गर्ने भएकोले अब हामी त्यस तर्फ केन्द्रित छौ । पछिल्लो समयमा मानिसको बुझाइको कारणले शेयर बजार पनि थप व्यवसाय वा आम्दानीको स्रोत हुन सक्छ भन्ने प्रवृत्ती बस्दै गएको छ ।”
डिम्याट खाता खोल्नका लागि बैंक खाता अनिर्वाय हुन्छ । यस्तो हुँदा बजारमा जति लगानीकर्ता थपिन्छन्, सोहि अनुरुप वित्तिय प्रणालीमा जोडिनेको संख्यापनि बढ्दै जान्छ । यसले वित्तिय पहुँच बढाउनुको साथै बजारमा छरिएर रहेको पूँजीलाई वित्तिय प्रणालीमा ल्याउन सघाउ पुर्याउछ ।

सिईओ कार्की भन्नुहुन्छ, “वित्तिय साक्षरता अलीक बढाउन पर्ने अवस्था रहेको छ । यसलाई बढाउने प्रभावकारी माध्यम के हो भन्ने कुरामा हामीले छलफल गरिराखेका छौं । सामाजिक सञ्चालहरु मर्फत लगानीकर्ताहरु जोडिनु भएको छ, यस माध्यमको प्रयोग गर्ने एउटा पक्ष हुन्छ । अर्काे हामीले देशको विभिन्न स्थानमा विवित प्रकारका साक्षरता कार्यक्रमहरु संन्चालन गर्न आवश्यक रहेको छ । केहि कार्यक्रमहरु त संन्चालित छन् तर त्यति प्रभावकारी भएको छैन । अर्काे पक्ष देश संघियतामा गएको पनि ५ बर्ष हुन लाग्यो यसले पनि केही हदसम्म प्रदेश स्तरमा ब्रोकरका शाखाहरु विस्तार भई सेवा दिएका छन् तर त्यती मात्र प्रयाप्त छैन । त्यसैले शाखा बढाउने वा ब्रोकर संख्या बढाउने भन्नेमा पनि हामी अध्ययन गरिरहेका छौं ।”

शेयर बजारलाई आगामी दिनमा सबैको पहुँचमा पुर्याउने सरकारको योजना छ । यसले पनि स्वभाविक रुपमा वित्तिय पहुँच विस्तारमा सघाउ पुर्याउने छ । तर त्यसका लागि सरकारका निति नियमहरु लगानीमैत्री हुनु पर्नेमा लगानीकर्ताले जोड दिएका छन् ।

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन्, “शेयर बजारमा एक हजार देखि लगानी गर्न सकिन्छ । दार्चुलाको मान्छेले पनि लगानी गर्न सक्छ, ताप्लेजुङ्गको मान्छेले पनि लगानी गर्न सक्छ । सरकारले के कुरा बुझ्नु पर्छ भने हामीले बजार घटाइदिनु, बढाइदिनु भनेको छैन । निती निर्माताको काम भनेको जुन निति नियमहरु छन्, त्यो बलियो बनाउन जरुरी छ । अहिको अवस्था यस्तो सम्म छ जस्तै, मैले लङ टर्म (लामो समय)को लागि कुनै लगानी गरे भने नियम रातारात परिवर्तन हुन्छ र हामीले लामो समयको लागि लगानी गरेको तत्कालमै बेच्नु पर्ने अवस्था पनि हुन्छ ।”

पूँजी बजारलाई सामान्यतया अर्थतन्त्रको अवस्था नाप्ने ब्यारोमिटर (मापक) मानिन्छ । यसलाई देशको अर्थतन्त्रको ऐनाको रुपमा समेत हेरिन्छ । शेयर बजारमा बढ्दो आकर्षणले पूँजी बजारलाई नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने चुनौती नियमक सामु आएको छ ।