काठमाडौं – सुन व्यवसायको कथालाई आधार बनाएर नेपाली चलचित्र ‘नम्बरी सुन’ तयार गरिएको छ । चलचित्रका निर्माता तथा कलाकार नारायण खातीले सुनको व्यवसायसँग सम्बन्धीत कथामा आधारित रहेर चलचित्र नम्बरी सुन बनाएका हुन् ।
‘सुनको काम कसरी अगाडि बढ्यो ? कालीगढी काम कसरी बढ्यो ? लगायतका विविध प्रश्नको जवाफ चलचित्रमा पाइन्छ,’ उनले भने, ‘सुन नागरिकको जन्मदेखि मृत्युसम्म जोडिएको वस्तु हो । यसको आफ्नै इतिहास छ । यस्तै एउटा कथालाई चलचित्रमा ल्याउँदैछौँ । यसले मनोरञ्जनसँगै सुनसँग जोडिएको तथ्यलाई दर्शकसम्म पुर्याउनेछ ।’
सुनको इतिहाससँगै विभिन्न वर्गका युवा युवती बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने र सरोज खनाल छन् । यस्तै, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कङ्गना गिरीलगायतका कलाकारको समेत अभिनय रहेको छ ।
अभिनेता पहारीले आर्थिक रुपमा कमजोर भएका युवाको भूमिका निर्वाह गरेको जानकारी दिए । ‘मैले निम्न वर्गको प्रतिनिधित्व गरेको छु । जसको प्रेम मुखियाकी छोरीसँग हुन्छ । यसमा मेरो बुवा पात्रले सुन बनाउने काम गर्नुहुन्छ,’ उनले भने, ‘यसले प्रेमसँगै चलचित्रमा एउटा पुस्ताको कालिगढ़ीलाई जोडेको छ ।’
चलचित्रमा यसमा अभिनेत्री सापकोटाले ग्रामीण युवतीसँगै अभिनेता पहारीको प्रेमिकाको भूमिका निर्वाह गरेका छन् ।
प्रतिक्रिया