सुनको भन्सारदर घटाउन अर्थमन्त्री सहमत, छिट्टै निष्कर्षमा पुग्ने प्रतिबद्धता

सुनको भन्सारदर घटाउन अर्थमन्त्री सहमत, छिट्टै निष्कर्षमा पुग्ने प्रतिबद्धता


काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका छन् । आज सुनचाँदी व्यवसायीसँगको भेटघाटका क्रममा अर्थमन्त्री पौडेलले बजेटबाट बढेको सुनचाँदीको भन्सारदर घटाउन सकरात्मक रहेको बताएका हुन् ।

अर्थमन्त्री पौडेललाई भेटका लागि नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारी अर्थमन्त्रालय पुगेका थिउ । भेटका क्रममा व्यवसायीहरुले नेपालमा सुनको भन्सारदर बढ्दा भारतबाट तस्करीको जोखिम बढेको अर्थमन्त्रीलाई बताएका थिए ।

व्यवसायीको कुरा सुनेपछि अर्थमन्त्री पौडेलले भारतमा भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्वाधोन गर्न जरुरी रहेको स्वीकार गरे । यो विषयलाई सम्बन्धीत निकायसँगको छलफलपछि छिट्टै निष्कर्षमा पुग्ने अर्थमन्त्री पौडेलले व्यवसायीलाई प्रतिबद्धता दिए ।

नेपालले चालू आर्थिक वर्षका लागि भन्सारदर वृद्धि गरेपछि सुनको भन्सार महशूल २० प्रतिशत पुगेको छ । उता भारतले सुनको भन्सार महशूल ५ प्रतिशत आसपासमा झारेको छ । यसकारण नेपालको बजारको तुलनामा भारतीय बजारमा सुनको मूल्य सस्तो हुन्छ ।

सोहीकारण सिमा नाका आसपास बस्ने सर्वसाधारणले भारतीय बजारबाट सुन किन्न थालिसकेका छन् । जसबाट नेपालको राजश्व घट्न जान्छ । भारतीय बजारमा नेपाली आकर्षित बन्दै गएपछि व्यवसायी समेत अत्तालिएका छन् । सोहीकारण अर्थमन्त्री पौडेललाई भेटेर भन्सार दर घटाउँदै कम्तिमा भारतमा जति गर्नुपर्ने माग राखेका हुन् ।