बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा कुल २६ लाखभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबारसाँझ साढे ५ बजेसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयरको लागि आवेदन परेको हो । उक्त आवेदन ३८.३० गुणाले बढी हो ।
राष्ट्र उत्थान लघुवित्तले फागुन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो (फागुन ८ गते) अन्तिम दिन थियो । लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।
जसमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको, ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री गरेको हो ।
इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने 'डबल बी' रेटिङ प्रदान गरेको छ । कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
उक्त कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी २६ करोड रुपैयाँ छ । तत्काल चुक्तापूँजी १७ करोड ५० लाख रुपैयाँ रहेकोमा यस आईपीओमार्फत सर्वसाधारणलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्कासन पश्चात् कम्पनीको चुक्तापूँजी २६ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया