चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५.५ प्रतिशतले घट्यो रेमिट्यान्स

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५.५ प्रतिशतले घट्यो रेमिट्यान्स


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपाल भित्रने रेमिट्यान्स ५.५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स घटेको हो । 

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेकाे पछिल्लो ६ महिनाको विवरणअनुसार २०७८ साउनदेखि पुससम्म नेपालमा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ११.१ प्रतिशतले बढेको थियो । 

नेपाल भित्रने रेमिट्यान्स अमेरिकी डलरमा ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स ६.७ प्रतिशतले बढेको थियो । 

पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्यामा उल्लेख्य रुपमा वृद्धि भई १ लाख ६७ हजार ५१३ पुगेको छ । यसले अब आ.व. २०७८/७९ को बाँकि ६ महिनाको अबधिमा रेमिट्यान्स बढ्ने आशा राष्ट्र बैंकले राखेको छ । अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति लिने नेपालीको संख्या ८९.० प्रतिशतले घटेको थियो ।