३० वैशाखमा स्थानीय निर्वाचनः कर्मचारीले साढे ३ अर्ब भत्ता पाउने, सरकारी खर्च बढ्दा तरलता सहज हुने

३० वैशाखमा स्थानीय निर्वाचनः कर्मचारीले साढे ३ अर्ब भत्ता पाउने, सरकारी खर्च बढ्दा तरलता सहज हुने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।

स्थानीय तहको निर्वाचनमा १२ अर्ब खर्च आवश्यक पर्ने अनुमान गरेको छ । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा १२ अर्ब खर्च लाग्ने आँकडा प्रस्तुत गरेको हो ।आयोगले कुल निर्वाचन खर्चको ३० प्रतिशत रकम निर्वाचनमा खटिने जनशक्तिमा खर्च हुने दावी गरेको छ । १२ अर्ब रुपैयाँको ३० प्रतिशत भनेको ३ अर्ब ६० करोड रुपैयाँ हो । निर्वाचन खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च लगायत अन्य सुविधामा खर्च हुने आयोगको भनाई छ ।

यस वाहेको ८ अर्ब ४० करोड रुपैयाँ मतदान स्थल तथा मतदानकेन्द्र, मतपत्र, मतदान सामग्री आदिमा बजेट खर्च हुने अनुमान छ । स्थानीयस्तरदेखि केन्द्रसम्म ठूलो संख्यामा जनशक्तिलाई तालिम, मतदाता शिक्षा आवश्यक सामग्री वितरण गर्नुपर्ने हुँदा सो बजेट खर्च हुने आयोगको दावी छ । यस्तै, यसअघिको निर्वाचनमा निर्वाचन आयोग, ७ प्रदेश निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय र ७५३ निर्वाचन अधिकृतको कार्यालयबाट वस्तुगत समेत गरी रु. ८ अर्ब भन्दाबढी खर्च भएकोमा यस निर्वाचनमा खर्चमा विभिन्न कारण वृद्धि हुने आयोगले जनाएको छ ।

आगामी निर्वाचनमा कोभिड–१९ को कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न स्वास्थ्यकर्मी परिचालन तथा स्वास्थ्य सामग्री व्यवस्थापन, मतदानको स्वच्छता र निष्पक्षता तथा मतदानकेन्द्रमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न, मतदानकेन्द्र तथा मतगणना स्थलहरुमा सूचना प्रविधिको प्रयोग गरी थप सुरक्षा प्रवन्धगर्दै सीसी क्यामेरा वा भिडियो छायाङ्कन गर्न आवश्यक देखिएकोले यसमा थप बजेट लाग्ने भएको हो ।

त्यस्तै, २०७४ को निर्वाचनपछि करिब २० लाख मतदाता थपिएको आयोगको अनुमान छ । सोही अनुपातमा मतदान स्थल तथा मतदानकेन्द्र, मतपत्र, मतदान सामग्री आदिमा बजेट वृद्धि हुने आयोगले जनाएको छ ।

तरलता सहज हुने विश्वास

जेठ महिनामै स्थानीय तहको निर्वाचन हुने भएपछि बैंकिङ प्रणालीमा तरलता सहज हुने विश्वास धेरैको छ । नेपाल राष्ट्र बैंकले पनि निर्वाचन हुने भएपछि बैंक तथा वित्तीय संस्थामा भएको तरलताको समस्या समाधान हुने विश्वास लिएको छ ।

नेपाल राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टले आगामी चुनावले बैंक तथा वित्तीय संस्थाहरूमा तरलता भित्रिने बताए । उनका अनुसार निर्वाचनको कारणले सरकारी खर्च पनि बढ्ने र अनौपचारिक क्षेत्रमा रहेको रकम पनि बैंकिङ च्यानलमा आउन सक्छ । यसले पनि निर्वाचनको समयमा हाल कायम रहेको तरलताको समस्या समाधान हुनेछ ।