डि म्याट खाता खोल्नेको संख्या ५० लाख नजिक

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
हाल डिम्याट खाता खोल्नेहरु ह्वात्तै बढेका छन्। सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या करिब ५० लाख पुगेको छ। पुसको अन्तिम सातासम्म हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या ४६ हाराहारी थियो।  तर पछिल्लो तीन सातामै २ लाख भन्दा बढीले डिम्याट खाता खोलेका छन्।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)का अनुसार शुक्रबारसम्म डिम्याट खाता खोल्नेको सङ्ख्या ४८ लाख ३० हजार चार सय ७५ पुगेको छ। चैत मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ३२ लाख थियो। पछिल्लो १० महिनामा डिम्याट खाता खोल्नेको संख्या थप १६ लाखले वृद्धि भएको छ। यो सँगै सेयर बजारमा नयाँ लगानीकर्ताको संख्यासमेत तिब्र रूपमा बढेको छ।

डिम्याट खाता खोल्नेको सङ्ख्या बढेसँगै शेयर बजारमा आवद्ध हुने जनसङ्ख्यामा समेत वृद्धि भएको छ। नेपालको कुल जनसङ्ख्याको आधारमा बुधबार सम्म १६.५० प्रतिशत जनता शेयर बजारमा आबद्ध भएका छन्। पछिल्लो जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० छ।

यद्यपि कतिपयले दुई खाता खोलेका हुन्छन्।  यस्तो खाता दुईभन्दा बढी खोल्न भने अब पाइने छैन। दुईभन्दा बढी खाता खोलेमा रद्द हुने प्रावधान छ। सिडिएससीका अनुसार मेरो शेयर प्रयोगकर्ताको संख्या पनि ४० लाख हाराहारीमा छ। मेरो शेयरबाट साधारण शेयर (आईपीओ) भर्न तथा दोस्रो बजारमा बिक्री गरिएको शेयर ट्रान्सफर गर्न सकिन्छ । मेरो शेयर खाता नहुनेहरुले आईपीओ भर्न समेत बैंकमा पुग्नु पर्ने हुन्छ।

डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न पनि पाउँदैनन्। दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन्। कतिपयले अहिले पनि सेयर प्रमाणपत्र नै घरमा राखिरहेका छन्। सेयर बजारबारे जति बढी प्रचार, प्रसार हुन्छ त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या बढ्दैछ।

सिडिएससीका अनुसार बजार बढेपछि नयाँ लगानीकर्ता पनि थपिन्छन्। हाल नयाँ बीमा कम्पनीसहित धेरैको आइपिओ पनि आइरहेको छ। यसले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो। हालसम्म ७ अर्ब ९८ करोड ५८ लाख ६५ हजार ५३३ कित्ता सेयर विभिन्न व्यक्तिका डिम्याट खातामा संकलन छ। 

चार वर्ष पहिले कागजी रुपमा रहने शेयर प्रमाणपत्र युगको अन्त्य गर्दै डिम्याट खाता अनिवार्य गरिएको थियो। तर अझै पूर्ण रुपमा शेयर डिम्याटमा आइनसकेको सिडिएससीको भनाइ छ।