ग्रिनलाइनका संचालक भागेपछि बैंकहरूको ८० करोड जोखिममा, बैंकहरुलाई छैन चिन्ता

ग्रिनलाइनका संचालक भागेपछि बैंकहरूको ८० करोड जोखिममा, बैंकहरुलाई छैन चिन्ता

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
विदेशबाट आयातित महँगा रक्सी विक्रेताका रूपमा परिचित ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालकहरू ऋण नतिरी भागेपछि बैंक तथा वित्तीय संस्थाको करिब ८० करोड रुपैयाँ जोखिममा परेको छ । अधिकांश चालु पुँजी कर्जा (स्टक हाइपोथिकेटेड) रहेकाले सबैमा स्थिर सम्पत्ति धितो छैन भने भएको पनि पर्याप्त छैन । यस्तो अवस्थामा गोदाममा स्टकमा रहेको सरसामान बिक्री गरेर कर्जा असुली गर्नुपर्छ । स्टकमा पर्याप्त सामान नभएको अवस्थामा बैंकहरूको ऋण असुली हुने सम्भावना रहन्न । यहीकारण तत्कालै चार वाणिज्य बैंकको गरी कुल करिब ८० करोड रुपैयाँ कर्जा जोखिममा परेको हो । ग्रनलाइनका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल एक महिनादेखि फरार छन् ।

राष्ट्र बैंकका अनुसार ग्रिनलाइन सेन्टरले मेगा बैंकबाट करिब २५ करोड, ग्लोबल आईएमई बैंकबाट १८ करोड, एभरेस्ट बैंकबाट करिब २२ करोड र इन्भेस्टमेन्ट बैंकबाट करिब ३२ करोड रुपैयाँ कर्जा लिएको देखिन्छ । यी सबै बैंकले चालु पुँजी कर्जा प्रदान गरेका हुन् । कर्जा प्रवाह गर्दा सबै बैंकले स्टक, स्थिर सम्पत्ति केही धितो त राखेका छन् । तर एभरेस्टबाहेक बैंकले राखेको धितोको मूल्यांकन कर्जा खाम्ने खालको नभएको राष्ट्र बैंक स्रोतले बताएको छ । ‘एभरेस्ट बैंकले कर्जा प्रवाह गर्दा सम्बद्ध कम्पनीको घर नै धितो राखेको रहेछ,’ स्रोतले भन्यो, ‘जसको मूल्यले बैंकले प्रवाह गरेको कर्जा असुली हुने देखिन्छ । अरूको खासै बलियो धितो छैन । धेरैमा स्टक धितोमा कर्जा प्रवाह भएको रहेछ ।

\"\"कुन बैंकमा कति ऋण ?

नेपाल इन्भेस्टमेन्ट बैंक:  ३२ करोड

मेगा बैंक: २५ करोड

एभरेस्ट बैंक: २२ करोड

ग्लोबल आईएमई बैंक: १८ करोड

बैंकिङ स्रोतका अनुसार एनआईसी एशिया बैंक र केही विकास बैंकले पनि ग्रीनलाइनलाई ऋण दिएका छन् । वाणिज्य र विकास बैंकको मात्रै डेढ अर्ब रुपैयाँसम्मको ऋण भएको अनुमान गरिएको छ । हिमालयन बैंकले भने तारन्तार अत्याएपछि गत वर्ष नै आफ्नो ऋण उठाइसकेको छ । त्यस्तै, केही फाइनान्स कम्पनी र सहकारीले समेत ऋण दिएका र ठूलो मात्रामा व्याक्तिगत ऋण दिएको गुनासो प्रहरीसमक्ष पुगेको छ । विभिन्न समयमा विभिन्न संस्थाबाट लिएको ऋणमध्ये केही ऋण हाइपोथेटिकल कर्जा अन्तर्गत पर्छ । यस्तो कर्जा कुनै कम्पनी वा व्यवसायीसँग भएको स्टक सामानलाई आधार मानेर दिने गरिन्छ । यसमा अन्य सम्पत्ति नभएर उसले कारोबार गर्ने सामानको मूल्यलाई आधार मानेर ऋण दिने गरिन्छ । कतिपय बैंकहरूले ८० प्रतिशतसम्म ऋण दिने गरेका छन् । यही कर्जाअन्तर्गतको कर्जा दिएका कारण अहिले नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैंकले ग्रीनलाइनका स्टाेरमा सूचना टाँस गरेर आफ्नो स्वामित्व भएको दाबी गरेका छन् । उनीहरूले हाइपोथेटिकल कर्जासहित जग्गा तथा अपार्टमेन्ट कर्जा पनि दिएका छन् ।

उही परिमाणको सामान राखेर छुट्टाछुट्टै ऋण दिँदा बैंक आफै अफ्ठयारोमा 

जसमध्ये एभरेस्ट बैंकले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ । बैंकले दिएको सबै ऋण हाइपोथेटिकल भने होइन । विभिन्न ठाउँमा रहेका चारवटा फ्ल्याट, घरजग्गालगायतका सम्पत्ति धिताे राखेर ऋण दिइएको छ । मेगा बैंकले स्टक र धितो दुवै राखेर ऋण दिएको छ । ग्लोबल आईएमईले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको छ । इन्भेस्टमेन्ट बैंकको पनि धितो र स्टकमा ऋण छ । मेगा बैंकले स्टक मदिरासहित फ्ल्याट धितोमा राखेर ऋण दिएको छ । 

भारतमा गएर बसेको हुनसक्ने प्रहरीको आशंका, फाइल पल्टाउँदै राष्ट्र बैंक 

अग्रवाल दाजुभाइ सम्पर्कविहीन भएपछि काठमाडौं प्रहरी परिसरमा खोजीकार्यमा लागेको छ । करिब एक महिनादेखि ग्रिनलाइनका सञ्चालकहरूको पारिवार नै सम्पर्कमा नरहेकाले अहिलेलाई उक्त कर्जा जोखिममा परेको राष्ट्र बैंकले स्विकारेको छ । ऋण असुली नभएपछि बैंकले त्यसबापत प्रोभिजनिङ गर्नुपर्ने भएकाले सम्बद्ध बैंकको नाफा घट्ने जानकारहरू बताउँछन् । उक्त कम्पनीमा प्रवाह भएको कर्जा विवरण प्राप्त भएपछि राष्ट्र बैंकले कर्जा प्रक्रिया कानुनसम्मत र प्रक्रियागत रूपमा भएको छ/छैन भनेर अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले ऋणका फाइलहरू मगाएर अध्‍ययन गरिरहेको पनि स्रोत बताउँछ ।  ‘ त्यती धेरै कर्जा नै डुब्ने आशंका भएपछि बैंकहरु पनि प्रहरी समक्ष आउनुपर्ने हो । तर, अहिलेसम्म आर्थिक कारोबारको विषयमा उजुरी भने आएको छैन । यद्यपि पारिवारिक स्रोतले सम्पर्कमा नरहेको भनेर निवेदन दिएपछि हाम्रो वाच लिस्टमा अग्रवाल दाजुभाइ छन्’, काठमाडौं प्रहरी परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुदिप गिरीले बैंकिङ समाचारसँग भने । एसएसपी गिरीका अनुसार उनीहरू विगतमा पनि भारतमा गएर लामो समय बसेका कारण अहिले अन्‍य विषयमा अनुसन्धान गर्ने अवस्था नरहेको बताउँछन् । यद्यपी उनीहरु भारतमा गएर बसेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।  पारिवारिक स्रोतले पनि उनीहरु भारत नै गएर बसेको हुनसक्ने बताइएको छ । 

दुई बैंकले टाँसे बन्द सटरमा सूचना 

मदिरा बिक्रीवितरण गर्दै आएको लिक्वेयर कम्पनी ग्रीन लाइन सेन्टरले दुई बैंकबाट लिएको कर्जा नतिरेपछि दुई बैंकले सम्पत्ति आफ्नो भएको दाबी गर्दै सूचना टाँसेका छन् । इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैंकले कर्जा नतिरेको भन्दै सेन्टरको बन्द सटरमा यस्तो नोटिस टाँसेका हुन् । केही दिनयता बन्द रहेको कार्यालयमा बुधबारबाट बैंकहरूले कम्पनीका सम्पत्ति आफ्नो अधीनमा रहेको सूचना टाँस गरेका थिए ।  दुवै बैंकले कान्तिपथमा रहेको ग्रीन लाइनसहित ज्ञानेश्वरमा रहेको १७ आना जग्गा, घर र अपार्टमेन्टमा पनि उक्त सूचना टाँसेका हुन् ।

एकभन्दा बढी कम्पनी सञ्चालन गर्दै आएका ग्रीन लाइनका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल कर्जा तिर्न पटक–पटक आउन आग्रह गर्दा पनि नआएपछि सूचना टाँस गरिएको बैंकले जनाएको छ । टाँसिएका सूचनामध्ये एउटामा उक्त कार्यालयको सम्पत्ति इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैंकको दुवैको अधिकार भएको उल्लेख गरिएको छ भने अर्कोमा इन्भेस्टमेन्ट बैंकको मात्रै भएको उल्लेख गरिएको छ ।