दोब्बर ब्याजमा निक्षेप संकलन गर्दै कम ब्याजमा राष्ट्र बैंकमा पैसा राख्दै बैंक

दोब्बर ब्याजमा निक्षेप संकलन गर्दै कम ब्याजमा राष्ट्र बैंकमा पैसा राख्दै बैंक


काठमाडौं – लामो समययता बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह बढ्न नसक्दा बैंकहरु चिन्तित देखिन्छन्। बैंक तथा वित्तीय संस्था आफूले संकलन गरेको निक्षेप केन्द्रीय बैंकमा लगेर थुपार्नु पर्दा चिन्तित देखिएका हुन्। त्यति मात्रै नभई महँगो ब्याजमा संकलन गरेको निक्षेप सस्तो ब्याजदरमा नेपाल राष्ट्र बैंकमा थुपारेर राख्नुपर्दा पनि बैंक तनावमा देखिएको अनुमान लगाउन सकिन्छ । पछिल्लो समय बजारबाट कर्जाको माग बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन दिनानुदिन बढ्दै गइरहेको छ । यस्तो क्रम बढेसँगै बैंकहरु पनि दोब्बर ब्याजदरमा सर्वसाधरणको बचत संकलन गरेर तीन प्रतिशतमा राष्ट्र बैंकमा थुपार्न बाध्य छन् ।

राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समेत रहेका बैंकिङ्ग विज्ञ अनलराज भट्टराई बैशाख, जेठ र असार महिनामा विभिन्न किसिमका भुक्तानीहरु हुने भएकाले बैंक तथा वित्तीय संस्थाको निक्षेप स्वभाविक रुपमा बढ्ने बताउँछन् । उनले नेपाल राष्ट्र बैंकले ब्याजदर सन्तुलन कायम राख्न डिपोजिट लिइरहेको भन्दै त्यसले ब्याजदरलाई घटाउन सहयोग गरेकै कारण बचतकर्ताले लाभ पाइरहेको बताए । उनले निक्षेपको ब्याजदर स्थायित्व भएको बैंकिङ्ग क्षेत्रको लागि राम्रो हुने बताए । 

बैंकको वितरणयोग्य नाफामा गिरावट

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह नहुने र निक्षेपकर्ताहरुले धमाधम पैसा बचत गर्ने हो भने बैंकहरुको कमाई घट्न सक्ने विज्ञहरूको बुझाई छ । हालको डेटालाई हेर्ने हो भने पनि बैंकको वितरणयोग्य नाफामा लगातार रुपमा गिरावट आइरहेको छ । बैंकहरुले सस्तोमा नेपाल राष्ट्र बैंकमा पैसा थुपारेर राख्नाले बैंकहरुको वितरणयोग्य नाफा प्रभावित हुने भएको विज्ञहरूको बुझाई छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणलाई हेर्ने हो भनेपनि कुल २० वाणिज्य बैंकहरुमध्ये चैतसम्म १० वटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । समयमै साँवा तथा ब्याज नउठ्दा बैंकहरुको औषत वितरणयोग्य नाफा नै १० अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक रहन पुगेको हो । 

ब्याजदर घट्दा पनि बढ्न सकेन कर्जा प्रवाह 

केही समय अघिको बैंकिङ्ग क्षेत्र र हालको बैंकिङ्ग क्षेत्रलाई नियाल्दा के फरक पाउनुहुन्छ भन्ने प्रश्नमा जो कोहिको उत्तर आउने गर्दछ कि बैंकको ब्याजदर । हो केही समयअघि बैंकसँग तरलता निकै कम थियो बजारबाट कर्जाको माग पनि उति नै । बैंक तथा वित्तीय संस्थासँग तरलता कम हुने बितिकै तरलता बढाउन बैंकको ब्याजदर बढाए । त्यो सँगै बजारबाट कर्जाको मागमा गिरावट आयो । बैंकमा तरलता निकै बढ्दै गयो तर कर्जाको माग भएन त्यो सँगै नेपाल बैंकर्स संघले नै कर्जाका माग बढाउन ब्याजदर घटाउन बैंकहरुलाई आग्रह गर्यो बैंकहरुले सोहिअनुरुप ब्याजदर घटाए । ब्याजदर घटेर तरलता ट्रयापसम्म पुग्ने समय हुनलाग्दा पनि हाल बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेको संख्या बढ्न सकेको छैन । कुनै समय ब्याजदर बढि भएको भन्दै बैंकबाट ऋण नलिएका व्यवसायिहरु हाल ब्याजदर यति कम हुँदा पनि ऋण लिन चाहँदैनन् । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह नबढ्दा अझ बैंकहरुले कति घाटा व्यहोर्नुपर्ने हो त्यसको कुनै टुङ्गो छैन । 

ब्याजदर ऋणात्मक हुनसक्ने 

बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै जाँदा ब्याजदर ऋणात्मक हुन सक्ने सम्भावना व्यापक रहन्छ । बैंक वित्तीय संस्थाले लगानी गर्न नसक्ने र निक्षेप थुपारेर मात्रै राख्दा लिक्विडिटि ट्रयापको अवस्था सिर्जना हुन सक्छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा. गुणाकर भट्ट बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिनुमा एक कारण मात्रै नभएको भन्दै नेपालमा ब्याजदर धेरै तल गएर लिक्विडिटि ट्रयाप नै हुने परिकल्पना पनि गर्न नसकिने बताउँछन् । तरलता ट्रयापको अवस्थामा पर्ने बित्तिकै बैंकहरुले राम्रो लगानीकर्ता पनि गुमाउने विज्ञहरूको बुझाइ छ । 

वित्तीय सूचकमा प्रभाव

दोब्बर ब्याजमा निक्षेप संकलन गरेर कम ब्याजदरमा राष्ट्र बैंकमा जम्मा गर्दा बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय सूचकमा प्रभाव पर्न सक्छ । बैंक तथा वित्तीय संस्था धेरै ब्याजमा ऋण लिएर सस्तोमा लगानी गर्दा बैंक तथा वित्तीय संस्थाले सूचक राम्रो देखाउन विभिन्न किसिमका कामहरू गर्न सक्ने विज्ञहरूको बुझाई छ । बैंकिङ्ग विज्ञ भट्टराईले वित्तीय स्थायित्वमा आएका केही समस्यालाई भने तत्काल समाधान गर्नुपर्ने बताए ।